स्विटजरल्यान्डलाई जित्दै ब्राजिल नकआउट चरणमा पुग्ने दोस्रो टोली
एजेन्सी । फिफा विश्वकप कतार २०२२ अन्तर्गत ब्राजिलले सोमबार स्विटजरल्यान्ड १–०ले हराउँदै नकआउट चरणमा पगेको छ । समूहको अन्तिम खेल बाँकी रहँदै नकआउट चरण पुग्ने ब्राजिल दोस्रो टोली हो ।
ब्राजिलले पहिलो खेलमा सर्बियालाई २–० ले पराजित गरेको थियो । उक्त खेलमा रिचार्लीसनले दुई गोल गर्दै ब्राजिललाई जितसम्म डोर्याएका थिए । ब्राजिलले सोमबार दोस्रो खेलमा स्विटजरल्यान्डलाई १–० ले पराजित गर्दै दोस्रो जित हात पार्यो। क्यासेमिरोले ८३ औं मिनेटमा गोल गर्दै ब्राजिललाई जित दिलाएका थिए ।
ब्राजिलभन्दा अघि समूह डी बाट फ्रान्सले विश्वकपको नकआउट चरणमा स्थान पक्का गरिसकेको थियो । फ्रान्सले पहिलो खेलमा अष्ट्रेलियालाई ४–१ ले हराएको थियो । दोस्रो खेलमा डेनमार्कलाई २–१ ले हराउँदै फ्रान्स लगातार दुई जितका साथ नकआउट चरणमा प्रवेश गरेको थियो ।
त्यसैगरी लगातार दुई खेलमा हार बेहोरेका कतार र क्यानडा समुह चरणबाट बाहिरिएका छन् । दुवै टोलीले सुरुवाती दुई खेलमा हार बेहोरेका हुन् । कतार पहिलो खेलमा इक्वेडरसँग २–० र दोस्रोमा सेनेगलसँग ३–१ ले पराजित भएको थियो । क्यानडाले बेल्जियमसँग १–० र क्रोएसियासँग ४–१ को हार बेहोरेको थियो ।