पोखराको आकाश तुवाँलोले ढाकेपछि दुई दिनदेखि हवाई उडान अवरुद्ध

मुख्य समाचार स्थानिय समाचार स्वास्थ्य

पोखरा, चैत्र १५ । पोखराको आकासमा दुई दिनदेखि “वायु प्रदूषण” तुवाँलो लाग्दा हवाइ उडानहरु ठप्प भएका छन् । वायु प्रदूषणका कारण भिजिविलिटी नहुँदा शुक्रबार दिउँसोदेखि बिग्रिएको पोखरा क्षेत्रको मौसम आइतबार पनि सुधार हुन सकेन ।

वायु प्रदूषणका कारण शुक्रबार दिउँसोदेखि पोखराबाट काठमाडौं लगायत देशका विभिन्न शहरमा जाने हवाइ सेवा सुचारु हुन नसकेको हो । पोखराको आकाश तुवाँलोले ढाकेका कारण शुक्रबार ६ वटा फ्लाइट रद्ध भएका थिए । शनिबार आकाश खुल्ने आशा गरिए पनि दिनभर कुनै पनि उडाउ हुन सकेन भने आइतबार समेत उडान अवरुद्ध भएको छ ।

पोखराको मुख्य बजारबाट नजिकै रहेका सराङकोट, काहुँडाँडा, पुम्दीकोट लगायतका डाँडाहरू तुवाँलोले देखिका छैनन् । धुँवा र धुलोले भिजिविलिटी कम हुँदा शुक्रबार दिउँसोदेखि पोखराबाट उडान हुन नसकेको पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिए ।
आज पोखरादेखि बाराको सिमरासम्म सुरु गर्ने भनिएको सिधा उडान मौसमले गर्दा स्थगित भएको उनले जानकारी दिए । आजबाट औपचारिकरुपमा सञ्चालन गरिने उडानमार्फत गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पर्यटनमन्त्री विकास लम्सालसहित २५ जनाको टोली सिमरा जाने कार्यक्रम तय भएको थियो ।
विगत केही दिनयता पोखरामा वायु प्रदूषण बढेको जल तथा मौसम विज्ञान कार्यालय पोखराले जनाएको छ । देशभर ७ सय बढी जंगलमा लागेको डढेलो र किसानले बाली भित्र्याएर खेतबारी, खरबारी लगायतका ठाउँमा आगो लगाउने चलनले पनि प्रदूषण बढाएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *