उत्तराखण्डको बाढीमा हराइरहेकामध्ये १० जनाको शव निकालियो, २५ जनाको उद्धार
पोखरा । भारतको उत्तराखण्डको चमोली जिल्लामा हिमताल फुटेर आएको बाढीले बाँध भत्काएपछि हराइरहेकामध्ये अहिलेसम्म १० जनाको शव निकालिएको छ । २५ जनाको उद्धार गरिएको छ । तपोवनबाट १२ र रैणीबाट १३ जनाको उद्धार गरिएको बीबीसीले जनाएको छ ।
अझै डेढ सयभन्दा बढी हराइरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन । उद्धार तथा खोजीका लागि प्रहरी, सेना, स्थानीय नागरिकलगायत झण्डै २५० जनाको टोली खटिएको छ ।
उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले एनडीआरएफ, आईटीबीपी र एसडीआरएफको टोलीसँगै वायुसेना तयारी अवस्थामा राखिएको जानकारी गराउनु भएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै बाढीमा ज्यान गुमाएकाका परिवारलाई जनही दुई लाख भारतीय रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।
यस्तै उत्तराखण्डका मुख्यमन्त्री रावतले ज्यान गुमाएकाका परिवारलाई ४/४ लाख भारतीय रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।
आइतबार दिउँसो उत्तराखण्डको चमोली जिल्लाको हिमताल फुट्दा धौलीगङ्गा नदीमा बाढी आएको थियो । हिमताल फुट्दा ऋषिगङ्गा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ ।