पोखरेली ख्रीष्टिय समुदाय र असल छिमेकी नेपालको आयोजनामा खुल्ला रक्तदान
पोखरा, असोज १२ गते । पोखरेली ख्रीष्टिय समुदाय र असल छिमेकी नेपालको संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ४१ औँ सामाजिक सेवा दिवसको अवसरमा गरिएको उक्त कार्यक्रममा ५७ युनिट रगत संकलन भएको छ ।
विश्व अहिले कोरोना महामारीबाट गुज्रिरहेको अवस्थामा नेपाल प्राकृतिक प्रकोपले पनि विपतमा छ र अहिले रगतको पनि अभाव रहेकोले कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा १२ जना महिला र ४५ जना पुरुषले रगत दान गरेका थिए ।
रक्तदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी हुनुहुन्थ्यो साथै पोखरा म.न.पा वडा नं ९ का अध्यक्ष रामराज लामिछाने, असल छिमेकी नेपालका अध्यक्ष भरत बहादुर गुरुङ, पोखरेली ख्रीष्टिय समुदायका अध्यक्ष हरिराम घिमिरे, रक्तसंचार केन्द्रका प्राविधिक अधिकृत महेन्द्र के.सी लगायतको उपस्थिति रहको थियो ।कार्यक्रममा बोल्दै मेयर जिसीले पोखराले रक्तदानमा उत्कृष्ठ स्थान हासिल गरेको, रक्तदान महा दान भएको र यसलाई अभियानका रुपमा अगाडी बढाउनुपर्छ भन्ने कुरामा जोड दिनुभयो । वडा नं ९ का अध्यक्ष रामराज लामिछानेले एक पोका रगतले कसैको ज्यान बाँच्ने, साथै विपतमा रगतको एकदमै आवश्यक भएकाले यस कार्यक्रम अत्यन्तै उपयोगी भएको बताउनुभयो ।
पोखरामा रहेका चर्चहरुको समुह पोखरेली ख्रीष्टिय समुदाय अन्तर्गतको असल छिमेकी नेपाल, नेपालका विभिन्न ठाउँहरुमा सामाजिक सेवाको काममा अत्यन्तै प्रभावकारी रुपमा लागिरहेको छ । भुकम्प पछिको पुननिर्माण कार्यको लागि सरकारद्वारा पुरस्कृत संस्थाले सामाजिक सेवा दिवसको अवसरमा समाजसेवाको आवश्यक्ता बारे अन्तक्रिया, विपन्न विद्यार्थीहरुलाई विद्यालय सामाग्री र पोशाक पनि वितरण गरेको असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजेन्द्र कुमार अधिकारीले बताउनुभयो ।