लिभरपुललाई टाइ ब्रेकरमा हराउँदै आर्सनलले जित्यो कम्युनिटी सिल्ड
एजेन्सी – लिभरपुललाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै आर्सनलले कम्युनिटी सिल्ड जितेको छ । इंग्लिस सिजनको सुरुवातको रुपमा लिइने कम्युनिटी सिल्डको उपाधि जित्दै आर्सनलले सुखद सुरुवात गरेको छ ।
वेम्बली रंगशालामा आर्सनलले खेलको पहिलो हाफमा कप्तान पिएर एमेरिक औबामेयाङको गोलमा अग्रता लिएको थियो । औबामेयाङले खेलको १२ औं मिनेटमा बुकायो साकाको पासमा गोल गरेका थिए । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई लिभरपुलका गोलरक्षक एलिसन बेकरले बचाउने कुनै अवसर पाएनन् ।
दोस्रो हाफमा लिभरपुलले खेल बराबरी गरेको थियो । वैकल्पिक खेलाडी ताकुमी मिनामिनोले गोल गर्दै लिभरपुललाई खेलमा फर्काएका थिए । उनले पेनाल्टी क्षेत्रभित्र आर्सनलका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई गोलमा परिणत गरेका थिए । मोहमद सलाहले अगाडि बढाएको बल भिडभाडमा क्लियर हुन नसक्दा मिनामिनोले पेनाल्टी क्षेत्र भित्रबाट सहजै गोल गरे । निर्धारित ९० मिनेटमा खेल १–१ को बराबरी भएपछि टाइब्रेकरमा खेलको नतिजा लिइएको थियो । दुवै टोलीका खेलाडीले सुरुवाती दुई पेनाल्टीमा गल्ति गरेनन् । लिभरपुलका मोहमद सलाह र फाबिन्होले गोल गर्दा आर्सनलका राइस नेल्सन र एन्सले मेटल्यान्ड नाइल्सले गोलरक्षकलाई बिट गरे ।
लिभरपुलको तेस्रो प्रहार गर्न आएका युवा फरवार्ड रियन ब्रेस्टरको प्रहार क्रसबारमा लाग्दै बाहिरीएपछि आर्सनलले अग्रता लिन अवसर पायो । उक्त अवसरलाई सेड्रीक सोआरेसले गोल गर्दै सदुपयोग गरे । त्यसपछि मिनामिनो र कर्टिस जोन्सले गोल गरेपनि आर्सनलका डेविड लुइज र औबामेयाङले गोल गर्दै आर्सनलको जित पक्का गरे । आर्सनलले १६ औं पटक कम्युनिटी सिल्ड उपाधि जितेको हो । केहि साताअघि मात्र गत सिजनको एफए कप उपाधि जितेको आर्सनलले मिकेल आर्टेटाको आगमनसँगै लगातार सफलता हासिल गरेको हो । प्रिमियर लिग च्याम्पियन लिभरपुल भने लगातार दोस्रो सिजन कम्युनिटी सिल्डमा अभागी सावित भयो ।