आइपीएलमा चिनियाँ प्रायोजकलाई लिएर भारतमा विवाद चक्र्यो
एजेन्सी ।यसपालीको आइपिएलका सम्पुर्ण खेलहरु युएईमा गर्ने तयारीमा बिसिसीआई लागिरहेको बेला विगतमा आइपीएलको प्रायोजक रहेका चिनियाँ कम्पनी यथावत रहने कुरामा भारतमा विवाद बढेको छ ।
केही समययता भारत र चीनबीच द्वन्द्व चर्किएको र भारतमा चिनियाँ कम्पनी बहिष्कार गर्ने माग उठिरहेका कारण अहिले त्यो विषय चर्को विवादमा परेको छ । चिनियाँ मोबाइल कम्पनी भिभो आइपीएलको मुख्य प्रायोजक रहँदै आएको छ ।
जम्मू–कश्मीरका पूर्व मुख्यमन्त्री ओमर अब्दुल्लाले एकातिर देशमा चिनियाँ सामानको बहिष्कार भइरहेको र अर्कोतर्फ चिनियाँ कम्पनीलाई नै आइपीएलको प्रायोजनमा निरन्तरता दिइएको भन्दै बीसीसीआइको आलोचना गरेका छन ।
यसबीच विपक्षी काङ्ग्रेसले पनि यहि विषयसँग जोडेर मोदी सरकारको आत्मनिर्भर भारत अभियानप्रति आलोचना गरेको छ । भारतीय जनता पार्टीसँग सम्बन्धित सङ्घ परिवारकै हिस्सा स्वदेशी जागरण मञ्चका राष्ट्रिय सहसंयोजक अश्वनी महाजनले उक्त निर्णयको आलोचना गर्दै सारा संसारले चीनको बहिष्कार गरिरहेको तर आइपीएलले उसलाई संरक्षण गरेको टिप्पणी गरेका छन ।
उनले ट्वीटमा लेखेका छन, आइपीएल एक व्यापार हो र यसलाई चलाउनेहरू राष्ट्र तथा उसको सुरक्षाप्रति असंवेदनशील छन । सारा संसारले चीनको बहिष्कार गरिरहेको छ तर आइपीएलले उसलाई संरक्षण दिइरहेको छ । तिनले बुझ्नुपर्छ कि राष्ट्रभन्दा माथि केही पनि हुन सक्दैन, क्रिकेट पनि हुन सक्दैन। मानिसहरूले आइपीएलकै बहिष्कार गर्न सक्छन ।
यही साता आइतवार बसेको आइपीएल सञ्चालक परिषद्को बैठकले भिभोलाई प्रायोजकमा निरन्तरता दियो । बीसीसीआइसँग भिभोको पाँच वर्षे करार सम्झौता भएको थियो जुन सन २०२२ सम्मको निम्ति छ । भिभो मोबाइल कम्पनीले करार अवधिमा बीसीसीआइलाई बर्सेनि लगभग ४४० करोड भारु तिर्छ । आइपीएलको १३ औँ संस्करण सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म संयुक्त अरब इमिरेट्सको दुबई, शारजाह तथा अबुधाबीमा खेलिनेछ । यसका निम्ति बीसीसीआइले मोदी सरकारबाट जरुरी स्वीकृति पनि पाएको छ।