१२० दिनपछि लकडाउन अन्त्य भएको घोषणा

आर्थिक नेपाल मुख्य समाचार

पोखरा, साउन ६। गएको चैत ११ गतेदेखि सुरु भएको लकडाउन नेपाल सरकारले मङ्गलवार राती १२ बजेदेखि अन्त्य गर्ने निर्णय गरेको छ। सोमवारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री युवराज खतिवडाले बताउनुभयो। तर विभिन्न क्षेत्रमा जारी कतिपय प्रतिबन्धहरू कामयमै राखिएको र त्यसलाई क्रमशः खुला गर्दै लगिने पनि उहाँले बताउनुभयो।
आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुला गर्ने निर्णय भएको मन्त्री खतिवडाले बताउनुभयो । लकडाउन खुले पनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने उहाँले बताउनुभयो ।
खतिवडाका अनुसार सरकारले साउन १५ गतेदेखि सर्तहरूसहित होटल, रेस्टुरेन्ट, ट्राभल र ट्रेकिङ एजेन्सी र पर्वतारोहणसम्बन्धी कार्यालयहरु खुला गर्ने निर्णय गरेको छ ।
तर शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थल, ट्युसन सेन्टर, सिनेमा हल, डान्स बार, सैलुन, ब्युटी पार्लर, स्विमिङ पुललगायतका क्षेत्र अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहने उहाँले बताउनुभयो । यद्यपि विद्यार्थी भर्ना परीक्षाफल प्रकाशनका काम भदौ १ गतेबाट गर्न सकिने निर्णय भएको उहाँले बताउनुभयो । तर कक्षाहरू भने दूरशिक्षाकै माध्यमबाट मात्र चलाउनुपर्ने मन्त्री खतिवडाले जानकारी दिनुभयो । त्यस्तै भदौ १ गतेदेखि लामो र छोटो दूरीका अन्तर–जिल्ला सार्वजनिक यातायात पनि सञ्चालन गर्न सकिने खतिवडाले बताए। साउन मसान्तसम्म अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने निर्णय निरन्तर रहने छ।
सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान पनि खुला गर्ने निर्णय गरेको सोमवारै पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिनुभएको थियो।
खुला गरिएका क्षेत्रमा सामाजिक दूरी कायम गर्नुपर्ने र जनस्वास्थ्य सम्बन्धी मापदण्डको पालन गरिनुपर्ने सरकारले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *