बाँकेको आइसोलेसन सेन्टर रित्तिँदै, एउटै वडाका ४१ जना निको
पोखरा, असार ५ । बाँकेमा कोरोना संक्रमितहरु निको हुने क्रम बढेसँगै आइसोलेसन सेन्टर रित्तिदैँ छ । शुक्रबार एउटै वडाका ४१ जना कोरोना सङ्क्रमितहरू निको भएर घर फर्किँदैछन् । हालसम्म जिल्लामा सङ्क्रमण पुष्टि भएका ३२७ मध्ये दुई जनाको मृत्यु भइसकेको छ भने २५० जना निको भएर घर फर्किसकेका छन् ।
अब बाँकेका विभिन्न आइसोलेसन अस्पताल र सेन्टरहरूमा ७५ जना मात्र रहेका छन ।शुक्रबार फर्किनेहरु सबै जानकी गाउँपालिकाको वडा नंं १ का बासिन्दा हुन् ।
स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, बाँकेको जानकी गाउँपालिकाको जोगागाउँ माध्यमिक विद्यालय आइसोलेसनका रहेका जानकी –१ का ४१ जना संङ्क्रमितहरूलाई सरकारको मापदण्ड बमोजिम जाँच प्रक्रिया पूरा गरी निको भएपछि डिस्चार्ज गरिएको हो ।
सङ्क्रमण पुष्टि भएको १६ दिनपछि सरकारको नयाँ मापदण्ड अनुसार निको भएकोले उनीहरूलाई डिस्चार्ज गरिएको फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।
बाँकेका सङ्क्रमितहरू निको भएर फर्किने क्रम बढ्दैगएकोले जिल्लाका आइसोलेसन सेन्टरहरू पनि रित्तिन थालेका छन् । क्वारेन्टाइनहरूमा पनि अब दुई हजार जना मात्र रहेका छन् । त्यसैगरी भारतबाट आउनेहरुको संख्या पनि घट्दै गईरहेको छ । एक साता अघिसम्म १५ सयदेखि २ हजार भित्रिने नेपालगञ्जको नाकाबाट बिहिबार ३९८ जनामात्र भित्रिएका छन ।