मौराको ह्याट्रिकसँगै टोटेनहम च्याम्पियन्स लिगको फाइनलमा
एजेन्सी – ब्राजिलियन फरवार्ड लुकास मौराले खेलको दोस्रो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गरेपछि टोटेनहम हट्सपर आयाक्सलाई पराजित गर्दै च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । पहिलो हाफमा २-० ले पछाडी परेको टोटेनहमका लागि लुकास मौराले दोस्रो हाफमा ह्याट्रिक प्रहार गरेका थिए । अवे खेलमा ३२ ले विजयी हुँदै टोटेनहम
समग्रमा ३-३ को बराबरी पछि अवे गोलको आधारमा फाइनल पुगेको हो ।
आयाक्सले खेलको पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलको यात्रा बलियो बनाएको थियो । खेलको पाँचौ मिनेटमा कप्तान माथिस डे लिटले आयाक्सलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफ सकिन १० मिनेट समय बाँकी छँदा हाकिम जिएकले आयाक्सको अग्रता दोब्बर पारे । पहिलो हाफ सकिँदा समग्रमा ३-० ले अगाडी रहेको आयाक्स दोस्रो हाफमा भने सम्हालिन सकेन ।
मौराले ५५ औं मिनेटमा डेले आलीको पास सदुपयोग गर्दै टोटेनहमलाई खेलमा फर्कने संकेत देखाए । त्यसको ४ मिनेटपछि नै उनले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डमा आएको बललाई गोलमा परिणत गरे । खेलको ५ मिनेट थप गरिएको इन्ज्युरी समयको अन्तिम मिनेटमा मौराले ह्याट्रिक पुरा गर्दै टोटेनहमलाई पहिलो पटक फाइनल पुर्याए ।
यस जितसँगै टोटेनहमले लिभरपुलसँग च्याम्पियन्स लिगको फाइनल पक्का गरेको छ ।