गत सिजन च्याम्पियन्स लिग विजेता रियल हारसँगै खेलबाट बाहिरियो

खेलकुद मुख्य समाचार

एजेन्सी – डच क्लब आयाक्सले रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबाउमा उत्कृष्ट प्रदर्शन गर्दै ४–१ को जित दर्ता गरेपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । समग्रमा ५–३ को जित दर्ता गरेको आयाक्सले २२ वर्षपछि नकआउट चरणमा जित दर्ता गरेको हो मंगलबार राति भएको प्रिक्वाटरफाइलनको दोस्रो लेगमा घरेलु मैदानमा चार–एकको हार ब्यहोर्दै १३ पटकको च्याम्पियन रियल पराजित भयो । 
पहिलो लेगमा २–१ ले पछाडी परेको आयक्सले खेलको सातौं मिनेटमा हाकिम जिएकको गोलमा स्कोर बराबरी गरेको थियो । १८ औं मिनेटमा डेविड नेरेसले गोल गर्दै पाहुना टोलीलाई समग्रमा अग्रता दिलाए । दुवै गोलमा मिडफिल्डर डुसान टाडीचले असिस्ट दिएका थिए । उनै टाडीचले ६२ औं मिनेटमा पेनाल्टी क्षेत्रबाहिरबाट उत्कृष्ट गोल गर्दै आयाक्सलाई बलियो स्थितिमा पुर्याए ।
लगातार चौथो च्याम्पियन्स लिग उपाधिको लक्ष्यमा रहेको रियल ७२ औं मिनेटमा मार्को एसेन्सियोको गोलसँगै खेलमा पुनरागमन गर्ने सम्भावना देखिएको थियो । तर त्यसको दुई मिनेटमा लासे स्कोनेले फ्रिकिकमा दर्शनीय गोल गर्दै आयाक्सको जित पक्का गरे । प्रतिबन्धमा रहेका डिफेन्डर सर्जियो रामोसबिना उत्रिएको रियल खेल अवधिभर समस्यामा देखिएको थियो । इन्ज्युरी समयमा नाचो फर्नान्डेज दोस्रो पहेंलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए ।
आयाक्स घरेलु मैदानमा २–१ ले पछाडी रहेर पनि खेल उल्ट्याउने पहिलो टोली बनेको छ । सन् २०१२–१३ मा चेल्सीपछि साविक विजेता क्वाटरफाइनलमा नपुगेको यो पहिलो पटक हो । रियलले युरोपेली खेलअन्तर्गत घरेलु मैदानमा भोगेको यो फराकिलो हार हो । आयाक्सले अग्रता लिएको पछिल्लो ४८ च्याम्पियन्स लिग खेलमा पराजय भोगेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *