प्रिमियर लिगः चेल्सीले टोटेनहमलाई हरायो, आर्सनल र लिभरपुलको फराकिलो जित
एजेन्सी – प्रिमियर लिग अन्तर्गत बुधबार भएको खेलमा लन्डन क्लब चेल्सीले चिर परिचित प्रतिद्वन्द्वी टोटेनहम हट्सपरलाई २–० ले पराजित गरेको छ । त्यस्तै लिभरपुल र आर्सनलले फराकिलो जित हात पारेका छन् । चेल्सीले एकतर्फी दवाव बनाएको खेलको दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको ५७ औँ मिनेटमा कप्तान सेजार एज्पिलिक्वेटाको पासमा पेड्रो रोड्रिग्वेजले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । खेल सकिन ६ मिनेट समय बाँकी रहँदा टोटेनहमका काइरान ट्रिपिएरले ब्याकपास दिएको बलमा गोलरक्षक ह्युगो लोरिससँग समन्वय नमिल्दा आत्मघाती गोल भएको थियो ।
बुधबारै अर्को खेलमा लिभरपुलले वाटफर्डलाई ५–० ले हरायो । साडियो मानेको दुई गोलमा बलियो पकड बनाएको लिभरपुलका लागि भर्जील भान डाइकले २ तथा डिभक ओरिजिले १ गोल थपे । यता सर्जियो अगुएरोको निर्णायक पेनाल्टी गोलमा म्यानचेस्टर सिटीले वेष्ट श्याम युनाइटेडलाई १–० ले हरायो ।
आर्सनलले बर्नमाउथलाई घरेलु मैदानमा ५१ ले हरायो । आर्सनलका लागि मेसुट ओजिल, हेनरिक मिखितार्यान, लौरेन्ट कोसिएल्नी, पिएर एमेरिक औबामेयाङ र एलेक्जेन्डर लाकाजेटले १–१ गोल गरे । म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसको मैदानमा ३–१ को जित दर्ता गर्दा रोमेलु लुकाकुले २ तथा एस्ली योङले १ गोल गरे ।