दुबई एकदिवसीय क्रिकेटमा सोमपाल र सन्दीपको बलिङ तथा रोहितको ब्याटिङले युएईमाथी नेपालको जित

खेलकुद मुख्य समाचार

ब्याटिङमा उल्लेख्य सुधार गरेको नेपालले दुबईमा यूएईसँगको एकदिवसीय शृङ्खलाको दोस्रो खेल १ सय ४५ रनले जितेको छ । यो सँगै तीन एकदिवसीय शृङ्खला १–१ को बराबरीको अवस्थामा आएको छ । नेपालले ९ विकेटको क्षतिमा बनाएको २४२ रनलाई पछ्याउन आएको आयोजक यूएई १९.३ ओभरमा अलआउट हुँदा ९७ रनमा समेटिन पुग्यो । अघिल्लो दिनको खेलमा ब्याटिङ र बलिङ दुवैमा कमजोर देखिएको नेपाल शनिवार भने त्यसको ठिक विपरीत लयमा देखिएको थियो ।
ब्याटिङतर्फ रोहित पौडेल, उपकप्तान ज्ञानेन्द्र मल्ल र आरिफ शेखको ब्याट राम्ररी चलेको देखियो भने बलिङतर्फ सोमपाल कामी र सन्दीप लामिछाने खेलमा पूर्ण रूपमा हावी भएको देखियो । सोमपालले पाँच र सन्दीपले चार विकेट लिए ।


सुधार
टस जितेर ब्याटिङ रोज्ने कप्तान पारस खड्काको निर्णय साबित गर्ने क्रममा खेलाडीहरुले केही महत्वपूर्ण इनिङ खेले । जसमा प्रारम्भिक जोडी ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले बनाएको ६१ रनको साझेदारीले नेपालको शुरूवात बलियो बनेको थियो । प्रारम्भिक जोडी ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले नेपाललाई राम्रो शुरूवात दिलाएका थिए । उपकप्तान मल्लले ४४ रन र भण्डारीले २१ रन जोडेका थिए । पारसले पनि २१ रन बनाएर स्कोरलाई उकास्ने काम गरे । नेपालको स्कोर २ सय माथि र्पुयाउने काम युवा खेलाडी रोहित पौडेलले गरे । उनले कीर्तिमानी अर्धशतकका रूपमा ५५ रन जोडे भने उनलाई राम्ररी सघाएका आरिफ शेखले २९ रन बनाएका थिए । बलिङ अलराउन्डर करण केसीले आफ्नो परिचय सार्थक बनाउने क्रममा २ छक्काको मदतले १८ रन बनाएका थिए। नेपाली खेलाडीबाट यी दुई छक्का मात्रै बनेको हो ।
बलिङ
नेपालको बलिङ सोमपाल र सन्दीपको वरिपरि घुमेको थियो । पाँच विकेटको सफलता पाएका सोमपालले शुरूवातमा लिएको चार विकेट खेलको रूप नै बदलिदिएको थियो । विपक्षी खेलाडीहरु पूर्ण रूपमा दबाबमा आएपछि सन्दीपले बाँकी खेलाडीहरूलाई शिकार बनाएका थिए। उनले मध्यक्रममा ब्याट्सम्यानलाई धराशायी पारेका थिए । रोहित पौडेलले सबैभन्दा कान्छो उमेरमा एकदिवसीय अर्धशतक बनाउने दुर्लभ कीर्तिमान रचेका छन् ।


गर्विलो कीर्तिमान
क्रिकेट विश्वका दुई चर्चित खेलाडी भारतका सचिन तेन्डुलकर र पाकिस्तानका शाहीद अफ्रिदीको कीर्तिमान तोड्दै नेपालका रोहित पौडेल विश्व क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी बनेका छन् । युवा उमेरमा नै परिपक्व खेल प्रस्तुत गरेर राष्ट्रिय टोलीको मध्यक्रममा आफ्नो स्थान मजबुत बनाइसकेका रोहित पौडेलले हिजो ५८ बलमा ५५ रन बनाइ उक्त दूर्लभ कीर्तिमान रचेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीका अनुसार शुक्रवारको खेल खेल्न मैदानमा आउँदा पौडेलको उमेर १६ वर्ष १ सय ४६ दिन पुगेको थियो । यसअघि भारतका महान खेलाडी सचिन तेन्डुलकरले १६ वर्ष २१३ दिनमा ५९ रन बनाई सानो उमेरमा अर्धशतकको कीर्तिमान रचेका थिए । उनले पाकिस्तान विरुद्धको टेष्टमा उक्त रन जोडेका थिए । एकदिवसीय क्रिकेटमा भने यो कीर्तिमान पाकिस्तानी अफ्रिदीको नाममा थियो । श्रीलङ्का विरुद्धको खेल खेल्दा १६ वर्ष २१७ दिन पुगेका उनले १०२ रनको शतकीय पारी खेलेका थिए ।
प्रदर्शन
सातौँ नम्बारमा ब्याटिङ गर्न क्रिजमा आएका उनले धैर्यपूर्ण ब्याटिङ गर्दै टोलीलाई लामो स्कोरतर्फ दोर्होयाएका थिए । आफ्नो इनिङमा सात चौका प्रहार गरेका पौडेलले ५८ बल खेलेर ५५ रन बनाएर गरेको प्रदर्शन नेपाली टोली मजबुत अवस्थामा पुग्नमा महत्वपूर्ण बन्न पुगेको थियो । उनी ४७ औँ ओभरको खेल चलिरहेका बेला आमीर हायातको बलमा मोहम्मद शब्बीरबाट क्याच आउट हुन पुगेको थियो । रोहित पौडेल सानो उमेरमा नै एकदिवसीय क्रिकेटमा डेब्यु गर्ने खेलाडीहरूको सूचीमा चौथो नम्बरमा पनि परेका छन् । गतवर्ष नेदरल्याण्ड्सँग पहिलो पटक एकदिवसीय खेल्न जाँदा रोहितको उमेर १५ वर्ष ३३५ दिन मात्र थियो । तीन एकदिवसीय शृङ्खला अन्तर्गतको निर्णायक खेल सोमवार हुनेछ । त्यसपछि टी २० को शृङ्खला शुरू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *