उमेरअनुसार कति मासु खानु उचित हो ?
मासु प्रोटिनको राम्रो स्रोत हो । १०० ग्राम मासुमा लगभग २५ ग्राम प्रोटिन पाइनुका साथै भिटामिन र मिनिरल पनि प्रशस्त पाइन्छ । मासुले मांसपेसी विकास गर्न मद्दत गर्छ । मासु आइरनको पनि राम्रो स्रोत हो । मासुमा भिटामिन ‘ए’, ‘डी’, ‘ई’ र केही मात्रामा भिटामिन ‘बी’ र जिंकसमेत पाइन्छ । मासुलाई आवश्यकताको पहिचान गरी मिलाएर खान जान्यो भने धेरै फाइदा हुन्छ । तर, आवश्यकभन्दा बढी मासु खाएमा स्वास्थ्यमा नकारात्मक असर पार्छ । त्यसकारण उमेरअनुसार, स्वास्थ्य अवस्था र आफ्नो आवश्यकताको पहिचान गरी मात्रा मिलाएर मासु खान आवश्यक छ । जथाभावी मासु खाँदा वृद्ध र बिरामीलाई बढी स्वास्थ्य समस्या देखिने गर्छ । वृद्ध र बिरामीलाई बढी स्वास्थ्य समस्या देखिने भएकाले रातो मासु खाँदा चिल्लोरहित मासु खानु पर्दछ । रातो मासु त कम खाँदा नै राम्रो हुन्छ । यसका साथै मुटुका बिरामी, युरिक एसिडका बिरामीले यस्तो मासु खाँदा सन्तुलन मिलाएर खानुपर्छ । वयस्कहरुले आफूलाई चाहिने प्रोटिनको आवश्यकतालाई ध्यानमा राखेर चिल्लो र छालारहित मासु सेवन हप्तामा एकदिन गर्न सकिन्छ । एउटा स्वस्थ वयस्क व्यक्तिलाई प्रत्येक दिन ६० देखि ७० ग्राम प्रोटिन चाहिन्छ । त्यही अनुसार उनीहरुले आफूले शरीरिक क्रियाकलाप कति गरेको छ, त्यो कुरा ध्यानमा राखेर मासु खाने गर्नु पर्दछ । एउटा वयस्क व्यक्तिलाई हप्तामा एक दिन मासु खानु स्वास्थ्यका हिसाबले राम्रो मान्न सकिन्छ ।
सहरमा बस्ने मानिसको शारीरिक कसरत नहुने हुदाँ मासु पचाउन गाह्रो हुन्छ र मोटोपन बढ्न गई शरीरमा विभिन्न प्रकारका समस्या उत्पन्न हुन्छन । त्यसैले मासुका साथमा विभिन्न रेसादार खानेकुरा, हरियो सागपात, फलफूल मिलाएर खाने गर्नुपर्छ । बढ्ने उमेरका बच्चालाई प्रोटिन र आइरनको आवश्यक पर्दछ । बच्चालाई दैनिक २५ देखि ३० ग्राम प्रोटिन आवश्यक हुन्छ । मासुले उनीहरुलाई बृद्धि विकासमा सहयोग गर्छ । त्यसैले बच्चालाई पचाउन सक्नेगरी मासु खुवाउन सकिन्छ । एकै पटक धेरै मासु दिनेभन्दा पनि थोरैथोरै गरेर समय मिलाएर बच्चालाई मासु खुवाउन सकिन्छ । १८ वर्षसम्मका बालबालिकाले रातो मासु खान मिल्छ । त्योभन्दा बढी उमेर समूहले भने आफ्नो शरीर, दैनिक क्रियाकलाप, स्वास्थ्य अवस्था हेरेर मात्र थोरै मात्रामा रातो मासु खान सक्छन् । खसी, राँगाको मासु रातो मासुअन्तर्गत पर्छ भने कुखुरा, माछा सेतो मासुअन्तर्गत पर्छन । मासुमा आइरन हुने भएकाले सुत्केरी र गर्भवती महिलाहरुलाई शरीरमा रगतको पूर्ति गर्न मद्दत गर्छ । यस्तो अवस्थामा पनि हामीले आवश्यक मात्रामा अन्य सन्तुलन भोजनसँग मिलाएर मासु सेवन गर्न सक्छौँ। सुत्केरी, गर्भाअवस्थामा दैनिक ६० देखि १०० ग्राम प्रोटिन आवश्यक हुन्छ । मासु धेरै खाँदा तत्कालै कब्जियतलगायतका पेटका समस्या समेत देखिन्छ। त्यसकारण मासु खाँदा सचेत हुनु आवश्यक छ। उच्च कोलेस्टेरोल, उच्च रक्तचाप, युरिक एसिड र मुटुसम्बन्धी समस्या भएकाहरूले मासु खाँदा धेरै सावधानी अपनाउनुपर्ने हुन्छ । स्वस्थ व्यक्तिले पनि कस्तो प्रकारको मासु कति खाँदा उपयुक्त हुन्छ भन्ने कुरामा विचार र्पुयाउनु पर्दछ । मासुसँग अन्य भिटामिन सीयुक्त खानेकुरा जस्तै फलफूल, सागसब्जीसँग मिसाएर खाँदा मासुबाट आउने फलामतत्व र पोषणलाई सोस्न मद्दत गर्छ । बाहिराबाट प्याक भएर आउने मासु खाँदा स्वास्थ्यका लागि राम्रो मान्न सकिँदैन । स्वस्थ जीवनशैलीका निमित्त ताजा र सुरक्षित मासु खानु उपयुक्त हुन्छ । अत्यधिक मासु खानुभन्दा भोजनमा मिसाएर सागसब्जी, गेडागुडी र फलफूल खाँदा उपयुक्त हुन्छ ।