अविष्मरणीय यात्रा संस्मरण

बिबिध लेख / रचना साहित्य

                                                                       लेखक तथा संकलकः भीम प्रसाद लामिछाने

केही समय अगाडिको कुुरा हो । स्कुलका बढीभन्दा बढी साथीहरु मिलेर टाढै घुम्न जाने योजना बन्यो । कहाँ, कहिले, को को आदि प्रश्न गर्दैहरु घुम्दै गर्दा स्कुलको क्यालेन्डर तिर आँखा ठोक्किन पुग्यो र सबैको सल्लाहबमोजिम चैत्र २६ गते घान्द्रुक हुँदै छोम्रोङ पुग्ने तय गरियो । आजभोलि गर्दागर्दै दिनहरु बित्दै गए । चैत्र २५ गते स्कुलको रिजल्ट पनि सकियो । भोलिपल्ट जाने पक्कापक्की त्यही दिन गरियो तर कति जना जाने भन्ने यकिन हुन सकेन । चैत्र २६– हिजोको सल्लाहअनुसार आज २६ गतेको यात्रा तय भएको हुनाले बिहान ३ बजे देखि नै आँखाका परेला खुले । धेरै कुराको जिम्मा हामीले कपिलसरलाई दिएकोले उहाँलाई पनि निद्रा चाँडै नै खुलेछ । ५ बजे नै मलाई फोन गर्नुभएको थियो । हामी बिहान ७ बजे सबैजना हरिचोकमा भेट हुने योजना अनुरुप कपिल सर र म ६ः३० बजे नै त्यहाँ पुगेका थियौँ । तोकिएको समयअगावै हामी त्यहाँ पुगेकोे घान्द्रुक पुग्ने जीपको बारेमा बेलिविस्तारमा बुझ्यौँ । जिप विहानैबाट बेलुका ५/६ बजेसम्म पनि पोखराबाटघान्द्रुक जाँदारहेछन् । विहान ७ बजे सबैजना आउने भनेपछि ७ बजेसम्म कोही नआएकोले कपिल सर र म अरु सबै साथीहरुलाई फोन गर्नतर्फ लाग्यौ । सबै साथीहरुसित फोन सम्पर्क त भयो तर केही साथीहरु जान पाएनौ भन्ने उत्तर आयो । कपिल सर, मेहता सर, ईश्वर सर, होम सर, कन्या मिस, मधु मिस, गौमाया मिस, नोविन मिस, रोजिना मिस र अमोल भाई गरी जम्मा हामीहरु १४ जना भयौं । हुन त ट्रेकिङको मुख्य योजनाकार भुसाल सर हुनुहुन्थ्यो पछि उहाँका विविध कारणले जान सक्दिनँ भन्नुभयो । उहाँ २/३ पटकसम्म छोम्रोङ्तिर पुगीसक्नुभएको थियो, त्यसैले पनि हामीले उहाँकोे साथ खोजेको थियौं तर असफल भइयो । जे भएपनि तय भइसकेको यात्रालाई हामी पनि रोक्ने पक्षमा थिएनौं अन्ततः हामी हिडँने तयारीमा लाग्यौं । ठाकुर सर र प्रदिप सरको अनुपस्थितिले यात्रा खल्लो हुन्छ कि भन्ने अनुभूति भएको थियो तै पनि सबै चाहेको मान्छेको साथ र हात सधैं कहाँ पाउन सकिन्छ र !!! बाटोमा खानाको लागि चाउचाउ, लेज जस्ता हल्का खानेकुराको जाहो गरिसकेपछि हामी जीपमा गएर बस्यौँ । एउटा जिपमा १०–१२ जनासम्म अटिँदो रहेछ, त्यसैले हामी एउटै जिपमा जान सकेनौँ । ७ः३० बजे हामी ३ वटा जिप लिएर हरिचोकबाट हिँडयौ । रमाइला कुराकानी गर्दै याम्दी, ह्याम्जा, फेदी, नौडाँडा, काँडे, लुम्ले हुँदै नयाँपुल पुग्यौं । हामीमध्ये प्रायः सबैजना नयाँपुलसम्म पहिला पनि पुगेकोले त्यो ठाउँ त्यति नौलो थिएन । वास्तवमा हाम्रो नौलो यात्रा नयाँपुलबाटै शुरु थियो । नयाँपुलको मुख्य राजमार्गभन्दा केही तल झनठूलो बजार रहेछ । पर्वतका थुप्रै ठाउँ र कास्कीका पनि धेरैभन्दा धेरै ठाउँमा त्यहीबाट सामान ढुवानी हुँदोरहेछ । जिपले आफ्नो गन्तव्यको दुरी छोट्याउँदै जाँदा हामी मोदी नदीको तीरैतीर बिरेठाँटी पुग्यौं । मैले बिरेठाटीं भन्ने नाम पहिला पनि सुनेको थिएँ । नाम सुन्दा कुनै पनि ठाउँ यस्तो होला भन्ने जुन छाप मनमा पर्छ त्यो भन्दा पृथक पाएँ मैले बिरेठाटींलाई । बाटाको छेउछाउमा स–साना घरहरु छिचोल्दै मोदीकोे पुल तरेपछि हामी स्याउली बजार पुग्यौं । सबै नौला–नौला ठाउँहरु बुझ्ने चाहना हुँदाहँदै पनि हामी सफल हुन सकेनौ । साइनबोर्डमा लेखेका ठाउँमा नाम पढ्न नपाउँदै जिपले ठाउँ पार गरेर हाम्रो आँखामा ओझेल परिसकेको हुन्थ्यो । नयाँ ठाउँ, नयाँ बाटो, मनमा खेलेका अनेक तर्कनाहरु मनमा भइरहँदा मोदी नदीको सुुसेलीसँगै बहकिँदै हामी अगाडि बढ्दै थियौं । मिसहरु अगाडिको जिपमा हुनुहुन्थ्यो भने हामी पछाडिकोमा थियौं, तर हाम्रो दुरी त्यत्ति टाढा थिएन । पहिला घान्द्रुक भएर छोम्रोङ् बास बस्ने र ABC पुग्ने योजना बनाएर अगाडि बढेको थियौ । तर मिसहरु चढेको जिपका ड्राइभर दाइले पहिला छोम्रोङ् पुगेर घान्द्रुक आउने बाटो सहज र छोटो भएकोले त्यसै गर्न मिसहरुलाई सुझाव दिनुभएछ । उहाँको त्यो सल्लाह वा सुझावलाई शिरो धार्य गर्दै अगाडिको जिपबाट कन्या मिसले मलाई फोन गरेर यथार्थ जानकारी गराउनुभयो । हिँड्न पनि सजिलो र बाटो पनि छोटो भएकोले मैले पनि उक्त प्रस्तावलाई कसैसँग सल्लाह नगरी “हुन्छ” भनिदिएँ र मिसहरुलाई बाटामै जिप रोकेर पर्खन भनेँ । केही मिनेटमै हामीहरुको भेट भयो । धेरै छलफल पछि हामी त्यही सल्लाहअनुसार नै अगाडि बढ्यौँ। मधु मिस र होम सर (श्रीमान/श्रीमती) धेरै हिँड्न नसक्ने भएकोले घान्द्रुक बाटै फर्कने योजना बनाएर जानुभएको थियो तर बाटोमै भएको हाम्रो निर्णयले उहाँहरुलाई अप्ठ्यारोमा परिदियो र हामीसँगै रहरले भनौ वा करले जान बाध्य हुनुभयो । करिब १०/१५ मिनेटको याात्रापछि हामी बसपार्कमा पुग्यौं । जुन ठाउँलाई किम्चे भनिदोरहेछ । उक्त ठाउँ, खच्चडका केही सामानहरु अनि ५/६ वटा जिप भएको ठाउँ नै जिपको बिसौनी थियो । चाहेर पनि जिपमा त्यहाँभन्दा अगाडि हामीहरु जान सक्तैन्थ्यौं । हामी सबै जना किम्चेमा झरेपछि सबैले लठ्ठी लिनुपर्छ भन्ने ठान्यौं र सबैले आ–आफ्नो जोहो गर्न थाल्यौं । यही मौकाको सदुपयोग गर्दै एकजना स्थानीयबासीसँग त्यहाँको वरिपरिको गाउँ, हामी जान लाग्ने समय आदि–आदिबारे मैले भलाकुसारी गर्दै थिए । मिसहरु चढेको जिपका ड्राईभर दाई साह्रै सहयोगी हुनुहुँदोरहेछ । उहाँ आफैले मिसहरुको लागि लठ्ठीको व्यवस्था मिलाइदिनुभयो ।

                                        बल्ल हाम्रो साँच्चैको यात्रा शुरु हुँदै थियो । अगाडि अग्ला हरिया डाँडा, गहिरो ठाउँ, पहाडको फेदीमा सानो बस्ती त्यहाँ देखिन्थ्यो । त्यहीबाट हामीले पाइला चाल्यौं । नजिकै सानो खोलामाथिको झोलुङ्गे पुलमा मिसहरु फोटो खिच्न तम्सिइहाल्नुभयो । भर्खर पँखेटा पलाएका बचेराहरुको हावामा उड्ने रहर भएझैं हाम्रो हिँडाई पनि कम थिएन । पहाडको टुप्पोबाट ठूलो अजिङ्गर लम्पसार परेझैं गरेर मोटो पाइप विच्छ्याएको देखियो । पछिमात्रै थाहा भयो त्यस्ता थुप्रै आयोजनाहरु सञ्चालनमा रहेछन्, जसलाई लघुजलविद्युत आयोजना भनिँदो रहेछ । यस्ता आयोजनाहरु लोडसेडिङ्गबाट टाढा रहँदारहेछन् । अझ अगाडि हिँड्दै जाँदा स–साना बारीका सुर्कामा मकैका भर्खर उम्रेका कलिला पातहरु हावाले हल्लाइरहेको दृश्य देखिन्थ्यो भने गराका कान्लाभरि फापरजस्तो प्रजातिको घाँसले हरियाली थपिदिएको थियो, जसलाई हामीले ‘बडमाडे’ भनेर चिन्छौ भने कतै कतै तरकारीको रुपमा पनि प्रयोग भएको पाइन्छ । यस किसिमका घाँस, बनस्पति, जडीबुटी तथा रुखहरु चिलाउन कन्या मिस खप्पिस हुनुहुन्छ, त्यसैले अन्य मिसहरुलाई उहाँले नै रुखबिरुवाका नाम चिनाउँदै हुनुहुन्थ्यो । अगाडि एउटा एक्लो घर भएको ठाउँमा हामी पुग्यौ । बाटोमाथि घर थियो भने बाटोमुनिबाट काठ ठड्याएर बस्न मिल्ने खुला कोठा बनाएको थियो । त्यहाँ मूलतः पर्यटकलाई लक्षित गरेर चिसो पानीमा कोक, फेन्टाहरु डुबाएर राखिएका थिए । बस्नको लागि धेरै बेन्चहरु राखिएका थिए । त्यही बसेर हामी सबैले फोटो खिच्यौ र पानी पिएर पाइला चाल्यौ । विदेशीहरु बाटोमा प्रशस्तै भेटिन्थे । उनीहरुलाई छिचोल्दै अगाडि बढ्दा अझै पनि कन्या मिसले ऐसेलु, चुत्रो, थकाइलो चिनाइरहनुभएको थियो । त्यहीनेर ठाडो खोलाको पानीको सदुपयोग गर्दै २ वटा घट्ट बनाइएका रहेछन् । सबै साथीहरुलाई नौलो लागेछ क्यारे नियालेर हेर्न थाल्नुभयो, अनि अमोलले फोटो खिच्न तम्सिनुुभयो । अगाडी बढ्दैजाँदा ११ः३० बजेतिर हामी क्युमी भन्ने ठाउँमा पुग्यौं । चिटिक्क पारेर सजाइएको घर, राता फुलका गमालाहरु र अगाडि टेबल कुर्चीको व्यवस्था घामपानीबाट बँच्न त्रिपाल टाँगिएको, त्यो ठाउँ राम्रो लाग्यो हामीले त्यही छोटो विश्राम लिन थाल्यौं । हुन त खाना खाने समय भै सकेको थियो तर बाटोमा तयारी खाना पाइँदोरहेनछ । अर्डर दिएपछि मात्रै बन्दोरहेछ । अर्डर दिएर खाना कुर्ने समय हामीसँग थिएन, किनकि हामीले धेरै यात्रा गर्नु थियो, छोम्रोङ्सम्म पुग्नै पर्ने लक्ष्य थियो । त्यहाँ चिया खाजा खाइयो र खाना खानको लागि “कहाँ पुगिन्छ” भनेर त्यहाँकै दाईसँग सोधियो । उहाँले “अब ‘न्यु ब्रिज’ भन्दा अगाडि खाना खाने ठाउँ छैन, तपाईहरु त्यहाँ जानुस् बरु म व्यवस्था मिलाइदिन्छु” भन्नुभयो । फोनबाट १४ जनाको लागि खाना बनाइदिन अर्डर दिनुभयो । अब हामी डेढ घण्टा हिँदेपछि ‘न्यु ब्रिज’ पुग्न सकिने जानकारी पनि उहाँले हामीलाई दिनुभयो । क्युमीबाटै परिपट्टि ठूला डरलाग्दा पहाडहरु देखिन्थे । फेदिमा मोदी सुसाइरहेको थियो । सेता पहराको बीचमा नाङ्ला झुण्डयाएका जस्ता दृश्य वारिबाटै देखिन्थे । बुझ्दै जाँदा ती मौरीका चाका रहेछन् । त्यस्ता मौरीका चाका कुश्मातिर जाँदा डिमुवातिर पहिल्यै पनि देखेको थिएँ । हाम्रो टोलीमा सरहरुभन्दा मिसहरु धेरै हुनुहुन्थ्यो । नयाँ ठाउँ, बाटोमा अप्ठ्यारो हुन पनि सक्छ भन्ने जस्ता सोचाइहरुले हामीहरु बाटोमा अघिपछि बाँडिएर हिँड्ने सल्लाहअनुसार म सबैभन्दा पछाडि हिँडेको थिए । जङ्गलको बाटो, खासै मानवीय बस्तीहरु देखिँदैन्थे, बाटो मोदीको तिरैतिर थियो । बाटोमा हिँड्ने पर्यटक आन्तरिकभन्दा बाह्य बढी देखिन्थे । धेरै पहिले म तनहुँको तुर्तुरे भन्ने ठाउँबाट लम्जुङको विकट गाउँ विचौरसम्म पैदल यात्रा गरेको थिएँ । त्यहाँ पनि यस्तै गरी चेपे नदीको किनारै किनार करिब ७/८ घण्टा हिडँदाको सम्झना ठ्याक्कै आजको हिँडाइ र परिवेशले पनि दिइरहेको थियो ।

जङ्लको वीचमा रमाइलो सानो चउर रहेछ । अगाडि जाने साथीहरु हामीलाई कुरेर बस्नुभएको छ भन्ने खबर पहिल्यै पाएकोले हामीले अलि छिटो पाइला चाल्यौं र सँगै भएपछि हामीले लगेका हलुका खाजा खायौं । ठूला–ठूला उत्तीसका रुखको जङ्गल हुँदै हामी खाना खाने ठाउँमा पुग्यौं । दिउँसो १ः३० बजेतिर हामी त्यहाँ पुगेका ठाउँबाटै फोन सम्पर्क गरी त्यहाँको दाइले खानाको व्यवस्था गरिदिनुभएको थियो, त्यसैले हामी त्यही होटलमा गएर झोलाहरु राख्दै छोटो विश्राम लिनतर्फ लाग्यौं । ४ वटा जति राम्रा र व्यवस्थित होटल न्युब्रिजमा रहेछन् । होटलको नजिकै मुन्तिर मोदी नदीले लामो सास तानेर सुसाइरहेको प्रष्ट सुनिन्थ्यो । पारिपट्टि हेर्दा ठूला–ठूला पहराहरुले हामीलाई नै निलुँला जस्तो गरी हेरिरहेको आभाष हुन्थ्यो । पहाडको दुप्पातिर टोपी नै खस्ला जस्तो गरी हेर्दा पनि नदेखिने ठूला जङ्गलहरुले फेरि हामीलाई नै स्वागत गरेझैं लाग्थ्यो । खाना तयारी अवस्थामै भएकोले हामी खाना खानतर्फ लाग्यौं । खाना खाँदै गर्दा भेटिएका एकजना विदशी पर्यटकले नेपालीहरु धेरै भात खान्छन् भनेर हामीलाई गिज्याउँदै थिए तर उनको कुराको वास्ता नगरी हामीले टन्नै भात खायौं । कन्या मिस र गौमाया मिसले गुरुङ् भाषामै घिउ माग्नुभएको थियो, पसलकी दिदीले के भनिन् मैले बुझिन् तर मैले चाहिँ साग मागेको “साग त चिसो भै सक्यो अब तीतो हुन्छ थप्न मिल्दैन” भन्ने जवाफ पाएँ । बेलुका जसरी पनि छोम्रोङ् पुग्नुपथ्र्यो, त्यसैले ढिलो नगरी हामीहरु अगाडि बढ्ने तरखर गर्दै थियौं । बेलुका बस्ने बासको समस्या पर्ला कि भनेर फेरि बासको लागि खाना खाएकै होटलको दाईसँग भलाकुसारी गर्न थाल्यौं । हुन त ठाँउठाउँमा नक्सासहित फोन नं. लेखिएका पोष्टरहरु पनि थिए , तैपनि निश्चित माध्यमबाट जाँदा बढी विश्वसनीय हुने भएकोले बासको लागि ४ वटा कोठासहितको सम्पूर्ण व्यवस्था हामीले न्यू ब्रिजबाटै मिलायौं । कन्या मिसले गुरुङ् भाषामै सबै कुरा गर्नुहुन्थ्यो । बाटोमा भएका घरहरु पनि बढी गुरुङ्का नै थिए । शायद जातिगत सामिप्यताको कारण हो कि उहाँले भनेका कुरामा सबैले स्वीकारोक्ति जनाउँथे । खाना खाने, चिया खाने ठाउँहरुमा उहाँको गुरुङ भाषाले निकै सघाएको थियो । न्युब्रिजबाट छोम्रोङ् देखिँदो रहेछ । हेर्दा त वल्लो पल्लो डाँडाजस्तो लाग्थ्यो तर ३÷४ घण्टाजति लाग्ने अनुमान त्यहाँकै दाइले हामीलाई बताइरहनुभएको थियो । न्युब्रिजबाट हाम्रा पाइला अगाडि बढीसकेका थिए । म अहिले पनि सबैभन्दा पछाडि थिएँ । केही समयसम्म त सबैजना आँखाले भेट्ने दुरीमा हुनुहुन्थ्यो तर गन्तव्यमा पुग्न लम्केका पाइलाहरु किन रोकिन्थे र, निरन्तर अगाडि बढ्दा आँखाको ओझेल पर्न थाले । बाटोमा पूरै जङ्गल नै थियो । ठूला–ठूला निउराका झाडी र निगालाका झाङहरुले वनलाई डरलाग्दो बनाइदिएका थिए । बाटोमा भेटिएका र नेपाली बोल्नेजति सबैसँग छोम्रोङ् पुग्न कति समय लाग्छ भनेर मिसहरु सोधिहाल्नुहुन्थ्यो । आफ्नी आमाको वात्सल्यबाट छुटेको बच्चाले पुनः आफ्नी आमाको काखमा पुग्न आतुर भएझैं लाग्थ्यो उहाँहरुको बोलाइमा । जङ्गल पार गरिसकेपछि १/२ वटा स–साना घर देखिए । पुराना देखिने ती घरहरुका वारि–पारि जङ्गलशिवाय खासै उल्लेखनीय केही देखिँदैन्थ्यो । माथिबाट आएको किम्रुङखोलो मोदी नदीमा मिसिएको दोभाननजिकै हामी पुग्दा भग्नावशेष केही घर देखिन्थे । बाटोमा कुनै–कुनै राम्रा घर छाउने जस्ता बनाएर राखिएका ढुङ्गाका थुप्राहरु पनि थिए । किम्रुङ खोलाकै वारिपट्टिको पूरै पाटोमा सर्पझैं गरी सुतेका बाँझा गराहरुले पहिला यता कतै बस्ती भएको वा डाँडाको टुप्पापट्टि मानिसहरु बसेको अनुमान गर्न सकिन्थ्यो । परिपट्टि पुगेपछि मेरो अनुमान सही ठहरियो किनकि त्यहाँबाट पारि झिनु भन्ने ठाउँमा पुगेपछि माथि डाँडामा बाक्लो बस्ती देखिएको थियो ।

हाम्रो समुुहमा रोजिना मिस र नोविन मिस फोटो खिच्न खुब मन पराउनुहुन्थ्यो। उहाँहरु त हामीहरुभन्दा निकै अगाडि हुनुहुन्थ्यो । म र होम सर पछाडि थियौँ । किम्रुङखोलामाथि बनाइएको अस्थायी पुलमा पुुगेर सबैजना फोटो खिच्न कस्सिएको हामीले टाडैबाट देख्यौँ । ठूलाठूला पहिरा खोलाको माथिबाट खसेका दृश्यले मनै डरलाग्दो बनाइदिन्थ्यो, शायद ती पहिराहरु एक वर्ष अगाडिमात्रै गएका थिए । मिसहरु अनेक तरिकाले फोटो खिच्न रहराउने र अमोलभाइले फोटोग्राफरकै काम गर्दिने भएकोले फोटोको लागि अनौठो संयोग मिलेको थियो । हुुन पनि अमोल भाइले अनेक अनेक दृश्य र आकृतिलाई क्यामेराभित्र कैद गर्नुभएको थियो । किम्रुङ खोला तरेपछि जङगलको बीचबाट ठाडै उकालो हिड्नुपर्दौरहेछ । बाटो चाक्लो भएपनि तल भीर पर्ने भएकोले डिलमा सिमेन्टको पिलर उठाएर मोटा पाइपले बार बनाइएको थियो । हामी जब–जब अगाडी बढ्यौँ, तबतब मिसहरुलाई पाइला चाल्न गाह्रो भएको थियो तर उषा दिदी, कल्पना मिस, नोविन र रोजिना मिस यसको अपवाद हुनुहुन्थ्यो । हिँडाइको धेरै पीडा रञ्जु मिसलाई परेको प्रष्टै थाह पाइथ्यो । सामान्य खालका सबै औषधी हामीले जोहो गरेर गएका थियौँ । रञ्जु मिसलाई मैले मुभ स्प्रे दिएँ । खुट्टामा स्प्रे छर्केपछि एक हातमा लट्ठी र एक हातमा स्प्रे लिएर विस्तारै पाइला बढाउनुहुन्थ्यो उहाँ । अग्ला अग्ला खुड्किला बनाए भन्दै बाटो बनाउने मान्छेलाई उहाँ गाली गर्दैहुनुहुन्थ्यो किनकी अग्ला खुड्किला चढ्न उहाँलाई हम्मे–हम्मे पथ्र्यो । कन्या, रञ्जु र मधुको धेरै खुइय, खुइयको आवाज सुन्दै हामी अर्को रमाइलो ठाउँको नजिक पुुग्नै आँटेका थियौँ । समुन्द्री सतहबाट करिब २३०० मि.उचाइमा अवस्थित उक्त ठाउँलाई झिनु भनिँदो रहेछ । करिब ६/७ वटा व्यवस्थित र सुन्दर होटलहरु त्यहाँ थिए यद्यपि हामी भने शुरुकै होटलमा विश्रामको लागि बस्यौँ । खाना खाएको करिब २ घण्टामा हामी झिनु पुगेका थियौँ । त्यतिबेला करिब चार बजेको थियो । त्यहाँ कपिल सर, उषा दिदी, कल्पना मिस, इश्वर सर, मेहता सर लगायत अरु साथीहरु अगाडि नै पुुगेर लसुनको सुुप अर्डर दिनुुभएको रहेछ । उक्त लसुुनको सुुपले हिँड्न सहज बनाउँदो रहेछ, यो कुुरा मैले पनि त्यहीँ पुुगेपछि थाहा पाएँ । आ–आफ्नो इच्छा अनुसार कसैले चिया, कसैले कोक फेन्टा, कसैले त्यही सुुप लिइयो । झिनुुबाट करिब १५ मिनेट तल झरेपछि तातोपानी (Hot spring)मा डुब्ने ठाउँ रहेछ । “यहाँसम्म आइसकेपछि त्यहाँ पुग्नैपर्छ, जानुस” भनेर होटलको भाइले हामीलाई भन्दै थिए । तर हामी विवश थियौँ, छोम्रोङ पुग्ने बाटो अब पुरै उकालो मात्रै थियो । हिड्न सक्ने सरहरु मात्रै गएर पनि भएन । मिसहरुलाई जाउँ भन्ने हो भने झिनुमै बास बस्ने स्थिति आइपथ्र्यो, त्यसैले Hot Spring नजाने निर्णय हामीले गर्यौँ । उता नजाने निर्णय हुनसाथ मिसहरुलाई हिड्न सजिलो होस भनेर तपाईहरु अगाडि जानुहोस् भन्यौँ । देख्दै आकर्षक लाग्ने त्यहाँका होटलमा बसिरहन मन लाग्दालाग्दै पनि हाम्रो गन्तव्यमा पुग्नैपथ्र्यो, त्यसैले त्यहाँबाटपनि हाम्रा पाइला अगाडि बढायौँ । झिनुबाट छोम्रोङ पुग्दा साह्रै उकालो छ भन्ने कुुरा खाना खाने ठाउँमा र बाटोमा भेटिएका अरु मानिसहरुबाट पनि थाहा पाइसकिएको थियो । घरहरुकै बिचबाट थोरै माथि हिँडेपछि सीधै तल निला छानाहरु आकाशझैँ समतल्ल सुतिरहेका थिए । माथिबाट हेर्दा होटलका छानामा लेखिएका होटलका नाम (विज्ञापन)ले कताकता कुरिनटारतिरको झझल्को दिलाउँथ्यो । केबुलकारबाट मनकामना जाँदा यस्तै दृश्य बीचबीचमा देखिन्छ । तुवाँलो लागेकोले चाँडै नै घाम डुबेजस्तो आभास भइरहेको थियो, त्यसैले पनि विदेशी यात्रीहरु त्यहिँ आफ्नो यात्रालाई १ दिनको लागि बिट मार्ने तरखरमा लाग्दै थिए भने कति चाहिँ घरको छतमाथी (ढलानमा) तास खेल्दै थिए अनि स्वदेशी तथा विदेशीहरु भलाकुसारी गदैँ थिए । गुराँस फुल्ने समय भएपनि झिनुको यात्रासम्म हामीले कतै पनि गुराँस फुुलेको देखेनौँ । हुन त केहि समय अगाडि हामी अष्ट्रेलियन क्याम्प हुँदै धम्पुस जाँदा राताम्मै फुलेका गुराँसका बोटहरुबाट सन्तुष्टिको अनुभूति लिएका थियौँ तर रातै फुलेका गुराँसका गुच्छा दखेर कहिले मन अघाउँथ्यो र शायद मन नअघाएरै होला आज फरि झिनुमाथिको वनभरी राताम्यै लालीगुराँसले सबै थकान बिर्साइदिएको थियो । बेलुका ५ बजेतिर हामीले उकालोमा पाइला टेकेका थियौँ तर मिसहरुलाई अगाडि जान भनेकाले थोरै माथि पुगिसक्नुभएको थियो । ५ः३० बज्दा नबज्दै जंगलतिरबाट आएको स्यालको आवाजले वातावरणनै उराठिलो बनाइदिएको थियो । म बिहानबाट अहिलेसम्म सबैभन्दा पछाडि नै थिएँ । मलाई धेरै समयसम्म होमसरले साथ दिनुभएको थियो । थोरै बस्ती धेरै जंगलको बाटो थियो ! हिँड्दा सबै सरहरुसँगै हिँडियो भने सुरक्षाको दृष्टिले पनि त्यति राम्रो नहोला र पछाडि हिँडेको म मिसहरुलाई छोडेर अगाडि जाँदा उहाँहरु पनि हतोत्साहित बन्नुहुन्छ कि भन्ने विचारले पनि पछाडिकै बाटो रोजेको थिएँ मैले ।

जतिजति माथि पुगिन्थ्यो त्यति त्यति टाढा टाढाका दृश्यहरु हाम्रो आँखाले कैद गर्दै थियो । तुवाँलो लागेकाले धेरै टाढा राम्रोसँग त देख्न सकिएन जति देखियो त्यो दृश्य अविस्मरणीय नै थियो । पारिपट्टि मौनरुपमा लम्पसार परेका नागबेली पहाडहरुले हाम्रो यात्रालाई सफलताको कामना गर्दैछन जस्तो लाग्थ्यो । उकालो पनि साह्रै थियो । डा.तारानाथ शर्माले लेखेजस्तो लाग्छ म कक्षा १० मा पढ्दा उनको यात्रा संस्मरणलाई समेटेर “घनघस्याको उकालो काट्दा” भन्ने निबन्ध पढेको थिएँ । हो, आज मलाई ठ्याक्कै त्यही पाठको याद आएको थियो । यो कुरा मैले सोचेको मात्रै थिएँ तर कन्या मिसले त मुखै फोरेर भनिदिनुभयो । ठाडो उकालो, माथि हेर्दा टोपी खस्ला जस्तो लाग्थ्यो, कहाँ पुग्ने हो भन्ने निशानै थिएन । तै पनि “ऊ आउनै लाग्यो, १५ मिनट हिँडे पुगिन्छ” भन्दै मिसहरुलाई आधाबाटो पार गरायौँ । कन्या मिसले झिनुबाट टिमुुरको धुलोसँग नुन खुर्सानी मिसाएर ल्याउनुभएको रहेछ, नुनिलो मुख बनाउँदै एकछिन आराम गरेर हामी फेरी यात्रा छोट्याउनतर्फ लाग्यौँ । अझ माथि सानो चौतारीमा सबैजना भेट भइयो । कपिलसरलाई हामीले बासको व्यवस्थाको लागि अगाडि पठाएको भएपनि उहाँ पनि हामीलाई नै कुरेर त्यहि बस्नुभएको रहेछ । एकैछिनको भलाकुसारी पछि हामी फेरि उकालो चढ्न सुरु गर्यौँ र केही छिनपछि हाम्रो बासस्थानको नजिक नजिक पुग्यौँ । मोदी नदीलाई हेर्दा आकाशबाट हेरेजस्तो लाग्ने दृश्य, प्रायः सबैतिर हरिया अग्ला पहाड, कुँदिएका जस्ता देखिने चट्ट परेका चिप्ला ढुुङ्गा, साह्रै सफा र चाक्लो बाटो सबै घरका टिनभरी नीलो रङ पोतिएको, जमिन भिरालो भएकोले प्रायः तलबाट उठाइएका र माथिपट्टि सिसाले घेरेर बस्ने ठाउँ बनाइएका आकर्षक घर, देख्दैमा मनभरी आनन्दको भाव सञ्चार गराउने त्यो ठाउँ, अति उचाइमा हाम्रो भर्खरसम्म कल्पनामा मात्र सीमित ठाउँ अब वास्तविकतामा परिणत भइसकेको थियो । हो त्यही ठाउँमा हाम्रो आजको लागि बासको व्यवस्था गरिएको थियो र हाम्रो आजको यात्रा हामीले त्यहीँ बिट मार्दे थियौँ, त्यो ठाउँ थियो छोम्रोङ । साँझ करिब ७ बजे हामी छोम्रोङ पुगेका थियौँ जतिबेला झमक्क साँझ परिसकेको थियो । फिस्टेल लजमा हाम्रो बासको व्यवस्था पहिल्यै न्यूब्रिज (खाना खाएको ठाउँ)बाटै गरिएको थियो । होटलमा पुुगेपछि आ–आफ्नो कोठाको चापी लियौँ र आ–आफ्ना कोठामा गएर झोला राखी हातमुख धोयौँ अनि साँझमा वरिपरिको सुन्दरतामा रमाउँदै आँगनमा बस्यौँ । छोम्रोङ पुगेपछि मनका चिन्ता, दु:ख, थकान, पीडा, हराएको अनुभव नगर्ने मान्छे शायदै होलान् । हामी पनि यो यथार्थबाट अछुतो रहन कहाँ सकियो र ! केही समय अगाडिसम्म पानीबाट निकालेको माछासरी पीडामा छट्पटाउन थाल्नुभएका मिसहरु अब त हजारौँ दर्शकका अगाडि बोल्ने राजनेताझैँ बोल्दै र हाँस्दै छोम्रोङ नै हल्लाइरहनुभएको थियो । त्यहाँ धेरै पथप्रदर्शक तथा उनीहरुले ल्याएका पर्यटकसँग हाम्रो भेट भयो । स्वीटजरल्याण्डका एकजोडीसँग कपिलसर कुरा गर्दै हुनुहुन्थ्यो । उनीहरु बीचबीचमा एकआधा शब्द नेपाली मिसाएर बोलेको सुन्दा नेपाल आएको बढी नै भएछ कि जस्तो लाग्थ्यो तर पनि उनीहरु विहे भएको २० वर्षपछि विहेकै शुरुवाती क्षण सम्झेर घुम्न आएको भन्थे । रात परिसकेको थियो टाढा–टाढाका बत्तीहरुले हामीलाई नौलो मान्छे भन्दै गिज्याएको अनुभूति हुन्थ्यो । प्रत्यक्ष रुपमा टाढा–टाढा देख्न नसके पनि हामी त्यहीँ रमायौँ ।चैत्रको महिना भएपनि छोम्रोङमा हामीले जाडोको राम्रै अनुभव गरियो । तातो पानी नै पिउन हामी बाध्य भयौँ । त्यहाँ त १ थर्मस तातोपानीको ३०० रुपियाँ पर्दोरहेछ । धेरै महङ्गो रहेछ भनेर मैले भनेको कुरा साहुजिले सुनेछन क्यार, खच्चडले एक भारीको १ हजार लिन्छ भन्दै आफ्ना कुरा प्रष्ट्याईँ गर्न थाले । एकजना पथप्रदर्शक ABC बाट फर्केका रहेछन माथिको तुलनामा यो त धेरै सस्तो हो भनेर उनीले पनि पसलेको कुुरालाई बढावा दिए । ABC तिर त मोबाइल चार्ज गरेको पनि रु १०० लिन्छन भन्थे उनी । यस्तै यस्तै गन्थन हुँदाहुँदै ८ः३० बज्यो र हामीलाई खाना खान आउनु भन्ने सुनियो । गोलो र चाक्लो टेबुलमा बसेर हामी सबैले एकैचोटी खाना खायौँ, शायद हाम्रा नेताहरु पनि गोलमेच सम्मेलन हुँदा यस्तैमा बस्छन कि भन्ने अड्कल मैले गरेँ । खानाखाएपछि आ–आफ्नो कोठातिर हामी लाग्यौँ । थाकेको हुनाले भोलिको लागि अनेक सपना बुन्दै निन्द्रामा परियो ।
चैत्र २७ को कुरा हो, विहानै ४ बजे नै निन्द्रा खुल्यो तै पनि हामीहरु गफ गरेर करिब पाँच बजायौँ । ४ बजेतिरै बाहिर निस्किँदा पारि डाँडाको फेदैतिर चम्किला बत्ती बलेको प्रष्ट देखिएको थियो । अन्नपुर्ण आधार शिविर ( ABC) जानको लागि विहानैबाट भरियाले बाटो छोट्याएका रे भन्ने कुरा मैले थाहा पाएँ । विहानको चिसो सिरेठोसँगै विस्तारै उज्यालोले घुम्टो उघार्दै थियो । घरमा भर्खर ल्याएकी नयाँ दुलही हेर्न सबैजना आतुर भएझैँ हामी पनि दुलहीरुपी माछापुच्छ्रे हेर्न निकै आतुर थियौँ । तर विडम्बना हामी जुन उद्धेश्य मुटुभरी बोकेर गएका थियौँ त्यो उद्धेश्यमा पुग्न सकेनौँ । माछापुच्छ्रेलाई नजिकैबाट हाम्रो मायाको चिनो दिने मन थियो त्यो मन विवशताले खुम्च्याउन वाध्य भइयो । त्यसो त हामी कुुनै मरुभुमिबाट गएका थिएनौँ न त हिमालको दृश्य कहिल्यै नदेखेका नै थियौँ । हामीले त हरेक दिन हरेक क्षण माछापुच्छ्रेको पुर्ण कद देखेका थियौँ अनि माछापुच्छ्रेले पुच्छर हल्लाउँदै फेवातालमा पौडी खेलेको पनि देखेका थियौँ र पनि हिमालसँगको हाम्रो मित्रता अझ प्रगाढ पार्न चाहन्थ्यौँ हामी । त्यो सपना पापी बादलले घुम्टो नखोलिदिनाले अधुरो रह्यो तैपनि जति हिमालको दृश्य देखियो त्यत्तिमै हामी खुसी थियौँ । छोम्रोङबाट प्रष्ट माछापुच्छ्रेको पुच्छर नजिकै देखिँदो रहेछ र माछापुच्छ्रे त्यहाँबाट पूर्वपट्टि देखिँदोरहेछ । केही समयपछि हामी छोम्रोङको अर्को ठुलो गाउँ हेर्न केही पर गयौँ, जुन हामी बसेको ठाउँबाट देखिँदैनथ्यो । त्यहाँपुग्दा अझै रमाइलो अनुभव हामीले गर्यौ । त्यहाँ होटलसहितको ठूलो बस्ती रहेछ । पुुछारमा सानो खोला बगेको माथी हेर्दा खर सुुकेको भिर, प्रायः खच्चडको घण्टीको टिङटिङ आवाज यस्तै–यस्तै रमाइला वातावरण दृश्यले हामीहरुलाई लोभ्याइरहेको थियो । त्यहाँ पुगेपछि हाम्रै १ जना विद्यार्थी प्रकाश गौतमलाई पनि भेट्यौँ । स्कुल छुट्टि भएको बेलामा पर्यटक लिएर हिँडिरहने कुुरा उनले मलाई पहिल्यै स्कुलमा भनेका थिए । २ जना विदेशी हिँड्न नसकेकोले आफु त्यहिँ बसेको र अरु ३ जना लिएर दाई अन्नपूर्ण आधार शिविर(ABC) गएको कुरा प्रकाशले हामीलाई बताए । फोटो खिच्न साह्रै मोह राख्ने हाम्रा मिसहरु धुपीको बोटमा लड्दै भिड्दै फोटो खिच्न थाल्नुभयो । केहि क्षणको रमाइलोपछि हामी पुन: होटलतर्फ नै फर्कियौँ । पहिल्यै खाजाको अर्डर दिएर गएकोले आउँदा तयार रहेछ । बेलुका खाना खाएकै ठाउँमा बसेर खाजा खायौँ र होटलको पैसा भुक्तान गरी पुनः आजको यात्राको क्रममा जुट्यौँ । करिब आठ बजेको थियो । केही मिसहरु अगाडि नै हिँडनुभएको थियो । हामी पनि पुनः कुुनै बेला फेरी ABC आउने र छोम्रोङमै बास बस्ने वाचा गर्दै छोम्रोङलाई विदाइ गरी अगाडि हिँड्यौँ । २,४ पाइला के तल झरेका थियौँ । “हिमालले घुम्टो उघार्यो” भन्दै माथिबाट कसैले चिच्याएको आवाज सुनियो । जति त्यहाँ थियौँ हामीहरु पुनः माथि फर्कियौँ । नभन्दै पहिलाको भन्दा राम्रो दृश्य देखियो । माछापुच्छ्रेको वारिपट्टि अर्को राम्रो हिमाल थियो । त्यसलाई धौलागिरी तेस्रो भनिदोँरहेछ । केहीबेरको रमाइलो पछि दोस्रो पटक छोम्रोङलाई पुनः विदाइका हात हल्लाएर आजको बाटो छोट्याउनतर्फ लाग्यौँ ।

आजको हाम्रो लक्ष्य घान्द्रुक पुगेर खाना खाने र त्यहाँ केही क्षण घुुमेर पोखरा झर्ने थियो । हिजो आएको उकालो बाटोको शिरानबाटै सीधा दायाँतर्फ आजको बाटो अर्थात घान्द्रुक पुग्ने बाटो रहेछ । हिजैको उकालो चढ्दा घान्द्रुक जाने बाटो त्यही होला भन्ने अनुमान मैले गरिसकेको थिएँ । बाटो सीधा थियो तर जमिन भने भिरालो थियो । बारीको बीचमा बनेका र ढुुङगाले छाएका १ एक दुुई घर बीच बीचमा देखिन्थ्यो । माथीबाट देख्दा ढुङ्गा साह्रै पूराना जस्ता लाग्थे । लामा लामा बारीका सुर्काभरि देखिने हरियै आलुले त्यहाँको दृश्यमा अझ रौनक थपिदिएको थियो । भर्खर आलु गोड्ने बेला भएको रहेछ । विहानको शितल भएर नै होला कोही आलु गोड्दै थिए भने पारिपट्टि पाखोमा भर्खर जेलबाट निस्किएका कैदीझैँ उन्मत्त ढङगले गाइबाख्राहरु यताउता दौडिएको दृश्यले नहिँडिकन त्यहिँ बसिरहुँजस्तो मलाई बनाएको थियो । करिब १ घण्टा सीधा हिँडेपछि एकजना बुढी आमासँग पारिपारि देखिने गाउँ र बाटोको बारेमा मैले र अमोल भाइले बुझ्ने उत्सुकता देखायौँ । उहाँले सबैकुरा बताइदिनुभयो र आफुपनि बिदा मनाउन पोखराबाट नातिनातिनासँग गाउँ आएको बताउनुभयो । अझ अगाडि ज्यादै ठूलो पहिरो रहेछ । हिजो झिनु नपुग्दै किम्रुङ्खोलाको पुछारबाट पनि त्यहि पहिरोको अदभूत दृश्य देखिएको थियो । त्यही पहिरो गएपछि पहिरोको डिलैडिल उकालो बाटो बनाइएको रहेछ । पहिरोको सीधा पर जंगलमा भएका भग्नावशेष घरले बाटो पहिला सीधा थियो भन्ने अनुुमान गर्न सकिन्थ्यो । जंगलको बाटो केही अगाडि बढेपछि दोबाटो भेटियो । कता जाने होला भनेर हामी दोधारमा पर्यौ। एकछिनपछि एकजना नेपाली गाइडसँग सोध्दा सीधाबाटो घोरेपानी जाने र तल झरेर घान्द्रुक जाने भनी बताइदिए । बाटोमा हिजोझैँ आज पनि थुप्रै विदेशीहरु ओहोरदोहोर गरेको दृश्य देखिरहन्थ्यो । खच्चरको बाटो पनि त्यही भएर होला साह्रै धुलाम्य थियो । त्यसमा पनि साह्रै ओरालो र अनि साँघुरो बाटो हुँदै जंगलबीचबाट हामी तल खोलातिर झर्यौँ । १४ जनाको समुह भएपनि कोही एक्लै र कोही समुह बनाएर हामी अगाडि बढ्यौँ । कतै–कतै विश्राम लिने ठाउँमा भेट भइन्थ्यो नत्र विहान हिँडेबाटै हामी आ–आफ्ना तालमा थियौँ । वन झरिसकेपछि एउटा घरमा पानी खाईयो । त्यहाँभन्दा पनि तल ठूलै खोला थियो जुुन क्रिमु्रङ खोला थियो र खोलाको नजिक–नजिकै ८/१० वटा घर भएको बस्ती थियो । बस्तीको नजिकै खेतबारीमा रोपीएका हरियै भएका आलु अनि टाढैबाट मनमोहक देखिने लहलह झुलेका गहुँका जस्ता बाला, सिरसिर चलेको बतासले हल्लाएका नयाँ पालुवा, वसन्त रितुको प्रष्टै छनक त्यहाँ देखिन्थ्यो । त्यसमा पनि कुनै बेला कोइलीले कुहुकुहु गर्दा हामीलाई नचिनेर नै सोधेको हो कि जस्तो लाग्थ्यो । अघि देखिएका गहुँकाजस्ता बाला गहुँ नभएर उवाका रहेछन । मुस्ताङमा बस्ने एक जना मित्रले मसँग उवाको खुब गफ गर्नुहुन्थ्यो । किम्रुङ खोलाकै तीरमा पुगेपछि एउटा सानो पसलमा हामी चिया खान पस्यौँ खोला नजिक भएकोले “वर्षायाममा डर लाग्दैन” भनेर मैले सोध्दा “हामी सरेर माथी जान्छौँ” भन्ने जवाफ त्यहाँको दिदीले दिनुभयो । हामी केही त त्यहाँ भेट भइयो तर धेरै बेरसम्म कुर्दा पनि रञ्जु मिस, मधु मिस, कन्या मिस, गौमाया मिस र नविन मिसको अत्तोपत्तो लागेन । किम्रुङ खोलामा मोवाइल फोनको टावर पनि आउँदोरहेनछ । फेरि रञ्जु मिस हिजोदेखि नै मुभ स्प्रेको सहारामा हिँड्नुभएको थियो । मुभ मसँग भएकोले उहाँहरुलाई नै कुर्न भनेर म र होम सर धेरैबेरसम्म खोलाकै तिरमा बस्यौँ । करिब १ घण्टासम्म कुर्दा पनि उहाँहरु आउनुभएन । दिक्दार लागेर खोलापारीको बाटोमा गएर फेरि बस्यौँ । राजा महाराजाहरुको दर्शनको लागि निरिह जनताहरु कुरेर बसेझैँ हामी त्यहिँ बस्न वाध्य भयौँ । केही बेरपछि बल्ल पारी खेतको डिलमा आफुभन्दा ठूलो वजन बोकेर हिँडेकोजस्तो गतिमा उहाँहरुलाई देख्यौँ । अलि ढुक्क हुँदै बस्यौँ । खोलामा झरेपछि मिसहरु फेरि फोटो खिच्न तम्सिहाल्नुभयो । हातको इसाराले बोलाएर हामी त्यहाँबाट पनि हिड्यौँ र माथिको ठाडो खोलामा गएर कुर्यौँ । सबै जना अगाडि गइसक्नुभएको थियो । म र होम सर त्यहाँ थियौँ भने मिसहरु (५ जना) पछाडि हुनुहुन्थ्यो । मुभ त दिनु नै पर्दथ्यो, त्यसैले हामी फेरि त्यहीँ बसेरै कुरयौँ । केही बेरपछि उहाँहरु बल्ल त्यहाँ आइपुग्नुभयो । रञ्जु मिसलाई मुभ दिएपछि एकछिन त हामी सँगै थियौँ तर फेरि पनि मिसहरु पछाडि नै पर्नुभयो । अब फेरि अघि झरेभन्दा पनि बढी उकालो थियो । करिब ११ः३० बजेतिर हामी किम्रुङ उकालो हिड्न सुरु गर्यौँ । उकालो पनि गजबकै थियो । सुनसान जंगल, कतै–कतै चराचुरुङगीको आवाज र घरीघरी पर्यटकको नमस्ते शब्दबाहेक अरु केही आवाज हाम्रो कानमा पर्दैनथ्यो । होम सर र म बिस्तारै हिँड्यौँ भने पनि मिसहरुबाट धेरै टाढाको दुरीमा हामी पुगीसकेछौँ । घडीमा १ बज्नै आँटेको थियो । पेटमा पनि आहारा रित्तिदैँ थियो । वनको बिचभाग भन्दा अझै माथि पुगिएको रहेछ सानो चौतारीमा बसेर (होम सर र म) चाउचाउ खाइयो । मिसहरुलाई फोन गर्दा तलै छौँ भन्नुहुन्थ्यो । “हामी पनि तपाईको नजिकै छौँ आउनुहोस” भनेर भनेर मैले भने र हौसला दिँदै हामी अगाडि बढ्यौँ । अगाडि जाने साथीहरुलाई फोन गर्दा कोही घान्द्रुक नजिकै पुग्यौँ भन्नुहुन्थ्यो त कोही हामी माथिकै किम्रुङ डाँडामा । करिब आधा घण्टापछि १ः३० बजेतिर हामी किम्रुङ डाँडामा निस्क्यौँ । त्यहाँबाट पनि सबै साथीहरुलाई मैले फोन सम्पर्क गरेँ । अनन्तः सबैजना घान्द्रुक खाना खाने ठाउँमा भेट हुुने संकल्पकासाथ अगाडि बढ्यौँ । हुुन त किम्रुुङको उकालो सिद्धिएपछि माथि डाँडाबाट पारी प्रष्ट बाक्ला र चिटिक्क परेका घर देखिएका थिए । घान्द्रुक त्यहि हो भन्ने हामीलाई लागेको थियो । हाम्रो अड्कल सही रहेछ । पछि नजिकै पसलमा सोधेपछि थाहा भयो ।
अगाडि बढ्दै जाँदा अलि सुगम ठाउँमा पुगियो कि जस्तो अनुभुति हुन्थ्यो । सबैतिर बाक्लै घरहरु देखिन्थे । कतै डोकाभरि दाउरा बोकेका मानिसहरु देखिन्थे भने कतै आलु गोडिरहेको दृश्य पनि कम मनमोहक थिएन । खानीबाट ढुङ्गा निकाल्नु र घर छाउनु त घान्द्रुकतिरको विशेषतानै हो, त्यसैले होला धेरै ठाउँमा खानीबाट ढुङगा निकालेको दृश्य पनि देखिन्थ्यो । यस्तै यस्तै रमाइला दृश्यहरु पर्दापछाडि पार्दै हामी बिच बाटोमा पुग्दा कपिल सर, इश्वर सर र रोजीना मिस भेटिनुभयो । त्यहाँबाट फेरि फोन गर्दा कल्पना मिस, उषा दिदी, मेहता सर र अमोल भाइ घान्द्रुक पुगिसक्नुभएको रहेछ भने पछाडि रहनुभएको गौमाया मिस, कन्या मिस, रञ्जु मिस, नोविन मिस र मधु मिस किम्रुङ डाँडाको नजिकै आइपुग्नुभएको रहेछ । जे भएपनि अब हामी घान्द्रुक प्रवेश गरिसकेका थियौँ । हुन त हिजैदेखि हामी घान्द्रुक गा.बि.स भित्रै थियौँ तैपनि प्रतिक्षित, परिचित तथा वास्तविक गाउँ घान्द्रुक भने हाम्रो प्रत्यक्ष देखाइमा पहिलो नै थियो । चिटिक्क परेका बाक्ला घरहरु, पुुरै ढुङ्गाले छाएका छाना, कलात्मक पाराले कुँदिएका काठका बुट्टा सबैतिर तन्नाझैँ ओच्छ्याइएका चाक्ला ढुङ्गा हुँदै घरका साँघुरा गल्लीबाट हामी खाना खाने होटलमा पुग्यौँ । अगाडि आउने सबैजना आइसक्नुभएको थियो । हामी पनि आइपुगेपछि पछाडि रहने पाँचजना मिसहरु मात्रै आउन बाँकी हुनुहुन्थ्यो । खाना खाँउ वा मिसहरुलाई कुरौँ भन्ने सल्लाह हुँदाहुँदै “तपाईहरु खानुहोस, उहाँहरुलाई हामी तयार पार्दिन्छौँ” भन्ने होटलका दाईको सुझावपछि हामीले ४ बजे बल्ल विहानको खाना खान थाल्यौँ । “हिजैबाट खाएको खानामध्ये सबैभन्दा राम्रो र मीठो खाना यहि रहेछ” भन्दै उषा दिदी र कल्पना मिसले खाना थप्दै हुनुहुन्थ्यो भने ईश्वर सरले सबैलाई उछिन्ने सुर कस्दै हुनुहुन्थ्यो । हामीले खाना खाने बेलासम्म पनि पछाडि आउने मिसहरु आइपुग्नुभएको थिएन यद्यपि फोन सम्पर्क भने भइनैरहेको थियो । हामीहरु त्यही दिन पोखरा फर्कने सुरमा थियौँ भने पछाडि आउने मिसहरु “हामी पोखरा झर्न सक्दैनौँ” भन्दैहुनुहुन्थ्यो । उहाँहरु आएपछि सल्लाह गरौँला भन्दै हामी घान्द्रुकका केही ठाउँ घुम्न निस्कियौँ । पारिपट्टि देखिने रमाइलो लान्द्रुक गाउँ हेर्दै हामी अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) को कार्यालयमा पुग्यौँ । त्यहाँकै एकजना कर्मचारीले हामीले ACAP को कार्यक्षेत्र, उद्धेश्य, परिचय सबै प्रष्ट पारिदिनुभयो । नेपालभरिका र बाहिरका पनि घुम्न आउने मानिसहरु प्रायः त्यहाँ पुग्दारहेछन् । ५ वटा जिल्लाका ५२ वटा गा.वि.समा ACAP को कार्यक्षेत्र तथा आयोजना फैलिएको रहेछ । अघिल्लो दिनबाटै हामीले ठाउँठाउँमा लामा पाइपहरु विच्छाएर स–साना विद्युुत गृहबाट विद्युुत निकालेको देखेका थियौँ । यी सबै लघुजलविद्युुत आयोजना ACAP को महत्वपुर्ण योगदान रहेछ । यस्ता आयोजना सञ्चालन भएको ठाउँमा लोडसेडिङको समस्या पनि नहुने रहेछ । नेपालका अन्य थुप्रै खोलाहरुबाट यसरी नै लघुजलविद्युुत निकाल्नसके नेपाली जनताले धेरै फाइदा पाउँथे कि भन्ने अनुमान गर्दै हामी ACAP बाट बाहिरियौँ र डुल्दै पुन होटलमा फर्कियौँ । हामीहरु त्यहाँ पुग्नासाथ मिसहरु आइपुग्नुभयो । ताली बजाएर हामीहरुले उहाँहरुको स्वागत गर्दै खाना खान भन्यौँ । लामो छलफल पछि अनन्ततः उहाँहरु कुुनै हालतमा पनि पोखरा फर्कन नसकिने निर्णयमा पुग्नुभयो । हुन त सँगै जानुभएका साथीहरुलाई बीचबाटौमै छोडेर आउन हाम्रो धर्म वा नैतिकताले नदिने हो तैपनि उहाँहरुको पूर्ण समर्थन र सल्लाह बमोजिम नै हामीहरु (म, कपिल सर, मेहता सर, ईश्वर सर, होम सर, कल्पना मिस र उषा दिदी) विस्तारै ५ः१५ बजेतिर घान्द्रुकलाई पनि बिदाइका हात हल्लाउँदै र घान्द्रुुकमै बस्नुुभएका साथीहरुलाई पनि विदाइका हात हल्लाउँदै साँझपख पोखराको लागि प्रस्थान गर्यौँ । पोखरा आइपुुग्न त्यत्ति सहज त थिएन तर पनि कन्या मिसले हिजोकै जिपको दाइलाई फोन गरेर बसपार्क बोलाइदिनुुभएको थियो । त्यसैले हामीले ढुक्कसाथ पाइला चाल्यौँ । अग्ला–अग्ला डरलाग्दा पहरा मुनिको बाटो हिड्दै ६ बजेतिर हामी घान्द्रुक बसपार्क आइपुग्यौँ । ड्राइभर दाइ त्यहीँ पसलमा तास खेल्दै हुँनुहुँदो रहेछ । उहाँको एकैछिन भुल्ने मनासय बुझेपछि हामीले पनि चिया खायौँ र ६ः१५ बजेतिर घान्द्रुकबाट खुरखुरे ओरालो झर्यौँ । ड्राइभरदाइसँग मिठामिठा कुरा गर्दै हिजो गएकै बाटो मोदीको तिरैतिर नयाँपुल आइपुगियो । विभिन्न अनुभव सँगाल्दै, मनभित्रका धेरै कौतुहलताहरु मेट्दै अनि थकाइ र पिडाभन्दा हर्ष र खुसीहरुसँगाल्दै ९ बजेतिर हामी पोखरा आइपुग्यौँ । जे भएपनि यो यात्रा नितान्त नौलो र अविस्मरणीय रह्यो । यो यात्रा संस्मरणमा मैले पनि सम्झेका धरै कुराहरु समेट्ने प्रयास गरेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *