अस्पतालमा निको हुन जाने कि बिरामी हुन?
के स्वास्थ्य हुन बिरामी हुँदा औषधी खाएर सुई लगाएर वा अस्पताल धाएर मात्र हुन्छ? दैनिक जीवनमा सामान्य सरसफाईका नियम पालन गर्नुपदैन र? हुन त यहाँ सयौं बेथिति, लापरवाही र ग्रैहजिम्मेवारीपना छ । साथै सुधार, इमान्दारिता र समाजमा स्वास्थ्यको क्षेत्रमा दशकौ देखि यसले खेल्दै आएको भुमिकालाई कहिल्यै नजरअन्दाज गर्न मिल्दैन । आजको यो लेख प्रशासन तथा जिम्मेवारी निकायलाई खबरदारी गर्न त अवश्य नै लेखिएको हो साथै ग्रैहजिम्मेवार नागरिकहरुलाई पनि विशेष गरि लक्षित छ । मात्र केहि दिनयता मेरो एकजना दाईको श्रीमतिको बच्चा डेलिभरीको लागि भनेर गण्डकी अस्पताल पुर्याइयो । अहिले कोरोनाको जोखिम कम भईसकेको अवस्था छैन । त्यसैले लगभग चैत यता उक्त अस्पतालमा गएको थिइनँ, जाने आवश्यकता पनि थिएन । पश्चिमांचल क्षेत्रिय अस्पताल यो प्रदेशकै अग्र साथै कोरोना भाईरस नियन्त्रणमा मुख्य भुमिका खेल्ने अस्पताल हो । यो लेखमा अस्पतालको सम्पुर्ण सकरात्मक र नकरात्मक पाटोलाई छुने उद्देश्य होइन तर म आफु जहाँ गए, जे देखे, महसुस गरे त्यहि लेख्दै छु ।
माथि नै उल्लेख गरे अनुसार हामी प्रसुति वार्डमा पुगियो । वार्ड भित्र पुग्दा सम्म न त तापक्रम, न स्यनिटाइजर केही पनि जाँच चेक थिएन । जो पनि खुल्ला रुपमा प्रवेश पाउने उक्त ठाउँमा साएद अस्पतालको आफ्नो स्वास्थ्यको ख्याल गर्नु भनेको होला वा सरकारी निकाय नै यो कोरोना सोरोना केही पनि होइन भन्ने कुरा घोषणा गरिरहेको छ कि भन्ने भान हुन आयो । केहि दिन अगाडिमात्र कोरोनाको बिरामी भेटिएको उक्त ठाउँमा त्यहांका कोहि पनि एकदमै सर्तक भएको भेटिएन ।
सुत्केरी महिला, भर्खरै जन्मेको नवजात शिशुलाई कुनै रोगले छिट्टै संक्रमण गर्ने सम्भावना एकदमै प्रवल हुन्छ, तर यस वार्डको भिडभाड देख्दा हामी नागरिकमा चेतनाको धेरै नै अभावको महसुस हुन आउँछ । उक्त ठाउँमा बसाईको क्रममा देखिएका माकुरा का जालो लागेका सुत्केरी बस्ने कोठा ,रंगरोगन उत्रेका, जथाभावी फोहोर फालिएका कोठा देख्दा हामी नागरिक सामान्य कुरामा पनि कस्तो चेतनाको अभाव लाग्यो । अझ ट्वाइलेट को कुरा त सबैभन्दा व्याख्या गरि नसक्नु छ । दुर्घन्ध, भाडा धोएर फालेका खानाका फोहोरहरु, बाहिर जथाभावि फालिएका रगत लागेका प्याडहरु, ओहो साह्रै दयनिय अवस्था । सामन्य नागरिकमा सामान्य सरसफाईको पनि चेतनाको अभाव अनि हाकिम भन्दा ठुलो स्वरले कराउने सरसफाई कर्मचारीहरुले कति धानुन । हुन त अन्य ठाउँका सरकारी अस्पतालको तुलनामा सरसफाईमा राम्रो छ यहाँको अवस्था । यो समस्या यहाँको मात्रै नभएर धेरै ठाउँको हो । हामी नेपालीको बानी पब्लिक ट्वाईलेट जहाँ होस् पानी नहाल्ने, म पछि अरुलाई गाह्रो नहोस् भनेर नसोच्ने रहेको छ । आखिर सरकार मात्र होइन तर प्रत्येक जनताकै हात हरेक सरकारी निकाय कस्तो बनाउने भन्ने कुरामा छ ।
सँधै दोष अरुलाई थुपार्ने तर आफ्नो सामान्य भन्दा सामान्य जिम्मेवारी पुरा नगर्ने परिपाटी पनि समाजमा व्याप्त एउटा रोग हो । आफु बस्ने ठाउँ, आफुले प्रयोग गर्ने चिज, सरकारले दिएको सेवा, सुविधालाई सहि तरिकाले प्रयोग गर्नु हाम्रो कर्तव्य हो ।