ट्रम्प र किमबीच बार्ता , बार्तामा भएको चार बुँदे सम्झौता
सिंगापुरमा उत्तर कोरियाका नेता किम जोन उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ऐतिहासिक सम्झौता सम्पन्न भएको छ ।
पछिल्लो समय उत्तर कोरिया र अमेरिकाबीच बढ्दै गएको तनाव यो सम्झौताबाट अन्त्य भएको दुवै देशका नेताहरुले बताएका छन् ।
सिंगापुरको सेन्तोसा आइल्याण्डमा भएको शिखर वार्तामा किम र ट्रम्पबीच चार बुँदे सम्झौता भएको छ ।
सम्झौतापत्रमा उल्लेखित चार बुँदा
– संयुक्त राज्य अमेरिका र उत्तर कोरियाद्धारा दुवै राष्ट्रका नागरिकहरुको शान्ति र समुद्धिको आकांक्षा अनुरुप दुवै देशबीच नयाँ सम्बन्ध स्थापना गर्ने प्रतिवद्धता व्यक्त
–संयुक्त राज्य अमेरिका र उत्तर कोरियाले कोरियाली प्रायद्धीपलाई दीर्घकालीन र स्थिर शान्ति क्षेत्र बनाउन हातेमालो गर्ने
– गएको अप्रिल २७ मा पान्मुनजोन घोषणपत्रलाई सार्वजनिक रुपमा दोहोर्याउँदै उत्तर कोरिया र कोरियाली प्रायद्धीपलाइ पूर्णरुपमा आणविक हतियारमुक्त बनाउने
–संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच कैदीबन्दी र युद्धका क्रममा बेपत्ताहरुको अवशेष पुन प्राप्त गर्ने र पहिले नै सनाखत भइसकेकालाई तत्काल सुपुर्दगी गर्नको लागि दुवै देशको प्रतिवद्धता
संयुक्त सम्झौतापत्रमा हस्तक्षर गर्दै ट्रम्पले दुई देशबीचको वार्ता फलदायी भएको बताएका छन् । उनले दुई देशको वार्ता सोचेभन्दा राम्रो भएको प्रतिक्रिया दिएका छन् । उत्तर कोरियाले आफ्नो देशको आणविक कार्य अन्त्य गर्ने बताएको छ भने अमेरिकाले उत्तर कोरियाका लागि विशेष सुरक्षा दिने प्रत्याभूति दिएको छ । ट्रम्पले आणविक कार्यको अन्त्य छिट्टै हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । उत्तर कोरियाका अधिकारी र अमेरिकी अधिकारीबीच आणविक कार्यको अन्त्य गर्ने विषयमा चाँडै नै भेटवार्ता हुने बताइएको छ । झण्डै पाँच घण्टाको अप्रत्यासित वार्तामा उत्तर कोरियाका नेता किम जोन उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरुबीच नयाँ मित्रता बढेको बताएका हुन् । ‘हामी दुवैजना मिलेर केही गर्न चाहन्छौं । हामीले केही गर्दैछौं । र हामीले विशेष खालको सम्बन्ध बनाएका छौं’, ट्रम्पले भनेका छन् ।