प्रिमियर लिग :चेल्सी र लिभरपुल विजयी
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुलले ब्राइटनमाथि कठिन जित निकालेको छ । प्रिमियर लिग अन्तरगत शनिबार राति भएको खेलमा लिभरपुलले घरेलु टोली ब्राइटनमाथि १–० को कठिन जित निकालेको हो ।
लिभरपुलको कठिन जितमा मोहम्मद सलाहले दोस्रो हाफमा पेनालटीमा गरेको गोल नै निर्णायक बन्यो । ब्राइटनले शीर्ष स्थानको लिभरपुललाई पहिलो हाफमा गोलरहित बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा रोक्न सकेन । ४९औं मिनेटमा ब्राइटनका पास्कल ग्रसले मोहम्मद सलाहलाई पेनाल्टी बक्समा फल गरेपछि लिभरपुलले पेनाल्टीको मौका पाएको थियो । जसमा सलाह चुकेनन् । सलाहको सिजनमा यो १७औ गोल हो । खेलभर नै घरेलु टोलीलाई दवावमा राखेपनि लिभरपुलले थप गोल गर्न नसक्दा सलाहको पेनाल्टी गोल नै लिभरपुलको जितमा पर्याप्त बन्यो ।
जितसँगै शीर्ष स्थानमा रहेको लिभरपुलले ७ अंकको अग्रता बनाएको छ । लिभरपुलको २२ खेलबाट ५७ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५० अंक छ । यद्दपि सिटीले एक खेल कम खेलेको छ । सिटीले मंगलबार वल्भ्ससँग खेल्दैछ ।
त्यसैगरी चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेडलाई पराजित गरेको छ । चेल्सीले न्युक्यासललाई २–१ ले पराजित गरेको हो । घरेलु मैदानमा चेल्सीलाई जिताउन पेड्रो रोड्रिग्वेज र विलियनले गोल गरे । पराजित टोलीका लागि कियरन क्लार्कले एक गोल फर्काए । स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलमा नवौं मिनेटमा नै चेल्सीले पेड्रोको गोलबाट खेलमा सुरुवाती अग्रता बनाएको थियो । पेड्रोले डेभिड लुइजसँगको वान टु वान पासमा गोल गर्न सफल भएका थिए । ४०औं मिनेटमा न्यु क्यास्टलका क्लार्कले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । म्याट रिचिले दिएको कर्नरमा क्लार्कले हेडमार्फत गोल गरेका थिए । ५७औं मिनेटमा इडेन हाजार्डको पासमा विलियनले गोल गर्दै चेल्सीलाई खेलमा २–१ को अग्रता दिलाए । त्यसपछि पनि चेल्सीले न्युक्यासललाई दवावमा राखेपनि थप गोल गर्न नसक्दा चेल्सी २–१ ले विजयी हुन सफल भयो । जितपछि चेल्सीले २२ खेलबाट ४७ अंक जोड्दै चौथो स्थानलाई थप मजवुत बनाएको छ । चेल्सी तेस्रो स्थानको टोटेनहमभन्दा १ अंकले पछि छ । ५७ अंक जोडेर लिभरपुल शीर्षस्थानमा रहेको छ ।
प्रिमियरलिगको अन्य खेलको नतिजा
बर्नली विरुद्ध फुलहम (२–१)
कार्डिफ विरुद्ध हडर्स्फिल्ड (०–०)
क्रिस्टल प्यालेस विरुद्ध वाट्फोर्ड (१–२)
लेस्टर सिटी विरुद्ध साउथह्याम्पटन (१–२)