हिमाञ्चलमा महिनावारी सम्बन्धी सचेतना कार्यक्रम

मुख्य समाचार समाचार स्थानिय समाचार

पोखरा। विभिन्न पेशा व्यवशाय, तथा सामाजिक पृष्ठभुमिका महिलाहरुद्वारा सञ्चालित सामाजिक जागरणका लागि नारी अभियान नामक संस्थाले पोखरा–७ एयरपोर्ट अवस्थित हिमाञ्चल बोर्डिङ स्कुलमा छात्राहरुमाझ सेनेटरी प्याड तथा महिनावारी सम्बन्धी सचेतना कार्यक्रम गरेको छ ।
कार्यक्रममा सहजकर्ताको रुपमा अभियानको योजनाकार पत्रकार तथा अधिवक्ता सुष्मा पौडेलले विद्यार्थीहरुलाई महिनावारी सम्बन्धी सिकाउँदै महिनावारी वा रजस्वला केबल एउटा प्राकृतिक नियम भएको तर आम मानिसहरुको बुझाई संकुचित भएकाले आज धेरै नानीहरु गम्भीर स्वास्थ्य समस्यामा परेको विचार व्यक्त गर्नुभयो । साथै उहाँले महिनावारी सम्बन्धी समस्याले धेरै छात्राहरुको पढाईमा असर परेको र यसलाई प्रत्येक विद्यालयले सहज तरिकाले समाधान गर्नुपर्ने कुरामा जोड दिँदै विद्यालयमा स्वच्छ शौचालय, सेनेटरी प्याडको व्यवस्थापन र स्वच्छ खानेपानी प्रत्येक विद्यालयमा हुनुपर्ने कुरा बताउनुभयो ।


कार्यक्रममा विद्यालयमा प्राचार्य दिलप्रसाद गुरुङले विद्यार्थीका साना तर धेरै नै संवेदनशील कुराले उनीहरुको भविष्य तथा पढाईमा असर पर्ने कुरा बताउनुभयो । उहाँले आफ्नो विद्यालयमा सेनेटरी प्याडको व्यवस्थापन हुुँदै आएको तर अबदेखि शौचालयमा उचित तथा प्रभावकारी तरिकाले व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनुभयो र यस्ता खालका सचेतनाका कार्यक्रम विद्यालयमा आयोजना भएको हुँदा आफु ज्यादै खुसी भएको बताउनुभयो । कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सन्चालन कक्षा ९ की छात्रा सृष्टि राउतले गरेकी थिइन ।


सचेतना कार्यक्रममा सामाजिक जागरणका लागि नारी अभियानकी सदस्य तथा विद्यालयकी कर्मचारी उषा गोशालीले २०७१ सालमा सुरु भएको संस्थाले महिला सम्बन्धी सचेतना कार्यक्रम, स्वास्थ्य शिविर, महिला कानुन सम्बन्धी सचेतना, रोगी दुःखी महिलालाई व्यवस्थापन, पिडितलाई न्याय दिलाउने कार्य, वैकल्पिक उर्जा सम्बन्धी तालिम, व्यापार अनुगमन, भुकम्पको समयमा राहत वितरण जस्ता कार्यगर्दै आइरहेको साथै अहिले कास्कीका विभिन्न स्कुलहरु सेनेटरी प्याड अनिवार्य हुनुपर्छ भन्ने अभियानलाई अगाडि बढाइरहेको कुराको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *