पोखरामा कोरोना संक्रमणबाट थप ३ जना मृत्यु
पोखरा, मंसिर २१ गते । पोखरामा कोरोनाभाइरसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखराका २ जना र लमजुङका एक जना रहेका छन् । पोखरा–१७ छोरेपाटन निवासी ६६ वर्षीया महिलाको पोखराको मणिपाल शिक्षण अस्पतालमा आज बिहान उपचारको क्रममा मृत्यु भएको छ ।
उनलाई मंसिर १५ गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । स्वासप्रस्वासको समस्या रहेकी ती महिलाको आज बिहान ५ बजेर २० मिनेटमा अस्पतालमा मृत्यु भएको हो ।
त्यस्तै लमजुङ बेँसीशहर नगरपालिका–११ निवासी ४३ वर्षीया महिलाको पनि मणिपाल शिक्षण अस्पतालमै शनिवार राति उपचारको क्रममा मृत्यु भएको हो । उनलाई मंसिर ९ गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । उनलाई सुगरको समस्या रहेको थियो ।
त्यस्तै पोखरा–१७ निवासी ३४ वर्षीय पुरुषको पनि पोखराको चरक मोमोरियल अस्पतालमा शनिबार राति उपचारको क्रममा मृत्यु भएको हो । उनलाई मंसिर ७ गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ६९ पुगेको छ ।