जेठ १५ अगाडि विद्यालय खुल्दैनन्, रिजल्ट लकडाउन खुलेको एक साताभित्र
काठमाडौं । कोरोना भाइरस “कोभिड–१९” का कारण अरु जस्तै शैक्षिक क्षेत्र पनि प्रभावित भएको छ । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा हुन सकेको छैन भने एक कक्षा १ देखि ९ सम्म वार्षिक परीक्षा भएपनि नतिजा रिजल्ट सार्वजनिक गर्न सकिएको छैन । यससँगै नयाँ शैक्षिक सत्र पनि ढिलो मात्र सुरु हुने पक्का भएको छ । साथै, कारोनाको त्रास कहिलेसम्म रहन्छ भन्ने यकिन नभएकाले वैकल्पिक उपायबारे अध्ययन थालिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, कोरोनाको त्रास कहिलेसम्म रहन्छ, कसैलाई पनि थाहा छैन । भारतमा कोरोना अन्त्य नभएसम्म हामी सधैँ त्रसित हुनुपर्ने भएकाले शिक्षामा वैकल्पिक व्यवस्था गर्न लागेका छौँ ।’
लकडाउन खुलेको एक सातामा रिजल्ट
मन्त्रालयकाअनुसार कक्षा १ देखि ९ सम्मको परीक्षाको नतिजा लकडाउन खुलेको एक हप्ताभित्र सार्वजनिक गर्ने तयारी छ । यसबारे शिक्षामन्त्री गिरिजामणि पोखरेलले बिहीबार सातवटै प्रदेशका सामाजिक विकास मन्त्रीसँग भिडियो संवाद गरेका थिए । प्रदेश मन्त्रीहरूले पनि एक हप्ताभित्र नतिजा सार्वजनिक गर्न सकिने बताएका थिए । अधिकांश विद्यालयहरूले कक्षा १ देखि ९ सम्मको परीक्षा ५ चैतसम्ममा सम्पन्न गरेका थिए । अधिकांश विद्यालयले उत्तरपुस्तिका जाँचेर नतिजा तयार पारिसकेको जानकारी आफूहरूले पाएको मन्त्रालयका एक अधिकारी बताउँछन् । नतिजाका लागि लकडाउन खुल्नु पर्दैन–शिक्षाविद्
तर, एक महिनासम्म परीक्षाको नतिजा रोकिँदा विद्यार्थीमा बेचैनी बढेको शिक्षाविद्हरू बताउँछन् ।
शिक्षाविद् डा. मनप्रसाद वाग्ले सामाजिक दुरी कायम राखेरै परीक्षाको नतिजा सार्वजनिक गर्न सकिने बताउँछन् । आफ्नो परीक्षाको नतिजा के भयो होला भनेर बसिरहेका विद्यार्थी नतिजा आएपछि खुसी हुन्छन्’ वाग्ले भन्छन्, भइसकेको परीक्षाको नतिजा रोकेर विद्यार्थीलाई थप अन्योलमा राख्नुहुँदैन । कोभिड–१९ को महामारीका कारण लकडाउन गर्नुपर्ने अवस्था आएपछि शिक्षा मन्त्रालयले कक्षा १ देखि ९ सम्मको परीक्षा ५ चैत भित्रै सम्पन्न गर्न निर्देशन दियो । मन्त्रालयको निर्देशनअनुसार लकडाउनअघि नै विद्यालयहरू परीक्षा सञ्चालन गरे ।
जेठ १५ अगाडि विद्यालयहरु खुल्दैनन्
यसरी नतिजा सार्वजनिक गरेको डेढ हप्ताभित्र भर्ना प्रक्रिया सम्पन्न गर्नुपर्ने मन्त्रालयका अधिकारीहरू बताउँछन् । कोभिड–१९ महामारीका कारण सामाजिक दुरी कायम राख्नुपर्ने अवस्थामा अनलाइन, टेलिफोन वा मोबाइलबाटै विद्यार्थी भर्ना गर्नुपर्ने उनीहरूको भनाइ छ । तर, विद्यालय खुलेर पढाइ सुरु हुन भने थप समय लाग्ने देखिएको छ । निजी विद्यालयहरुको छाता संगठन प्याब्सनका अध्यक्ष टिकाराम पुरी भन्छन्, वैशाख १५ मै लकडाउन खुलेपछि तत्काल विद्यालय खोल्न सक्ने अवस्था छैन ।’लकडाउन खोलेको एक सातामा रिजल्ट प्रकाशित गर्ने र त्यसपछि भर्ना लिने मन्त्रालयको प्रस्तावमा आफूहरुको सहमति रहेको भन्दै उनले भने, लकडाउन खुलेपछि रिजल्ट प्रकाशन, भर्ना र पाठ्यपुस्तकको व्यवस्था गर्न स्कुलहरुलाई २० देखि ३० दिन चाहिन्छ । यसरी हेर्दा वैशाख १५ मा लकडाउन खुलेपछि जेठ १५ अगाडि विद्यालय सञ्चालन गर्न नसकिने देखिएको छ ।’
यसका साथै लकडाउन कसरी खुला गर्छ र विद्यालय सञ्चालनबारे सरकारले गर्ने निर्णयमा पनि भर पर्ने उनले बताए । विद्यालय खोल्न अझ समय लाग्ने अवस्था आए अनलाइन कक्षा सञ्चालन लगायतका विकल्पमा मन्त्रालय र आफूहरुबीच छलफल भइरहेको प्याब्सनका अध्यक्ष पुरीले जानकारी दिएका छन् । अनलाइनखबरबाट साभार