लिभरपुललाई पछि पार्दै सिटी प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो
एजेन्सी – म्यानचेस्टर सिटी लिभरपुललाई पछि पार्दै इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले एभर्टनलाई २–० ले पछि पराजित गरेपछि शीर्ष स्थानमा फर्किएको हो । सिटीले लिभरपुललाई गोल अन्तरमा पछि पारेको छ । सिटी र लिभरपुलको समान ६२ अंक छ । यद्दपि लिभरपुलले एक खेल कम खेलेको छ । एभर्टनको मैदान गुडिसन पार्कमा भएको खेलमा सिटीलाई जिताउन एमेरिक लापोर्टे र गाब्रियल जेससले गोल गरे ।
प्रतिस्पर्धात्मक बनेको खेलमा सिटीले पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा लापोर्टेको गोलबाट अग्रता बनाएको थियो । लापोर्टेले डेभिड सिल्भाको पासमा गोल गरेका थिए । दोस्रो हाफमा पनि सिटीले इन्ज्युरी समयको थप गरिएको सातौ मिनेटमा गाब्रियल जेससले गोल गर्दै २–० को जित दिलाए । सिटीसँग पराजित एभर्टनको २६ खेलबाट ३३ अंक रहेको छ । दोस्रो स्थानमा झरेको लिभरपुलले शनिबार राति बर्नमाउथसँग खेल्नेछ । जितले पुनः ३ अंकको अग्रता तथा बराबरीले लिभरपुलले सिटीसँग एक अंकको अग्रता बनाउने छ । हारले भने लिभरपुल सिटीसँग गोलअन्तरमा पछि पर्नेछ ।