मृत्युपछि के हुन्छ, अर्को जीवन छ कि छैन ?
यहाँलाई जयमसिही छ ?
जयमसिही
अनि यहाँ आजकल के गर्दै हुनुहुन्छ ? कुन दर्शनमा केन्द्रित हुनुहुन्छ ?
म आफुलाई अपोलाजिस्ट भनेर चिनाउन चाहन्छु, अपोलोजिस्ट भनेको ख्रीष्टियान विश्वासलाई बौद्धिक रुपमा वकालत गर्ने व्यक्तिलाई अपोलोजिस्ट भनेर भन्छौँ । यसलाई नेपालीमा मैलेचाहिँ रक्षाशास्त्री भनेर भन्दै आएको छु । मैले बाइबल स्कुलमा पढाउने काम, किताबहरु लेख्ने काम र बेलाबेलामा अनुवादहरु पनि गर्ने गर्दछु । मेरो मुख्य दर्शन भनेको नै नेपालभरी अपोलोजिस्ट सम्बन्धी शिक्षालाई फैलाउनु हो ।
भनेपछि यहाँ यहि दर्शनमा अगाडी बढिरहनुुभएको छ ?
हजुर म यसैमा कटिबद्ध भएर लागेको छु, पढेर, लेखेर र हरेक माध्यमबाट यसमा लागेको छु ।
म अब यहाँको व्यक्तिगत चिनारीतर्फ लागे, यहाँको जन्म कहाँ र कहिले भयो ?
मेरी आमाको भनाई अनुसार मेरो जन्म २०३६ साल फागुन ३० गते गोरखाको आँपपिपल हस्पिटलमा भएको रहेछ । साथै त्यो हस्पिटल ख्रीष्टियानहरुले नै सुरुवात गरेको रहेछ । यो कुरा जान्न पाउँदा पनि खुसी नै लाग्यो । त्यतिबेला मेरो बुवा र आमा दुवै बैँकमा काम गर्नुहुन्थ्यो । मेरी आमाले गर्भमा नै बच्चा मरेको सपना देखेपछि उहाँको डरको कारणले डेलिभरीको लागि पुुरानो जमाना भएपनि हस्पिटल नै पु¥याइएको रहेछ ।
बाल्यवस्था कस्तो रह्यो ?
मेरी आमा पहिला गोरखा सदरमुकाममा जागिरे हुनुहुन्थ्यो, पछि सरुवा भएर उहाँहरु आरुघाट भन्ने ठाउँमा आइपुग्नुभयो । त्यसपछि मेरो शिक्षा कक्षा एकदेखि नै त्यहि बाट सुरुभयो । मैले त्यहाँ भीमोदय माध्यमिक विद्यालयबाट पढ्न सुरु गरे । बाल्यअवस्थामा सुुरुमा मेरो पढाई त्यति राम्रो थिएन । पढाईको महत्व त्यतिबेला मलाई कसैले हालिदिएन वा राम्रो बुझिएन भनेर भन्छुु म ।
यहाँ कसरी इसाई हुनुभयो र यो सेवकाईमा लाग्नुभयो ? कुन कुराले यहाँ प्रेरित हुनुभयो ?
अब हाम्रो बजारको ख्रीष्टियान इतिहासलाई हेर्ने हो भने मलाई बताईए अनुसार धनसुर नाउँ गरेको एकजना प्रचारक पहिलोपटक त्यो ठाउँमा आउनुभयो र उहाँले सुसमाचार सुनाउन सुरु गर्नुभयो । त्यतिबेला भर्खरै बहुदलिय व्यवस्था आएको थियो, सुसमाचारबाट प्रेरित भएर रामबहादुर ढकाल नाउँ गरेका व्यक्ति (जो अहिले मेरा ससुरा हुनुुहुन्छ) ले ख्रीष्टमा विश्वास गर्नुभयो । त्यसैबाट प्रभावित भएर मेरी आमाले, बुवाले र भाईले पनि विश्वास गरे तर म चाहिँ विरोधी थिएँ । मचाहिँ ख्रीष्टियान धर्मलाई विरोध गर्दथेँ, अरुले भनेजस्तै मैले यसलाई गाईखाने धर्म, विदेशी तथा चेलीबेटी पनि नमान्ने धर्म भनेर सोच्दथेँ । मैले घरमा राखिने घरेलु संगतिहरुबाट उम्कने गर्दथे । तर मेरी आमाको निरन्तर प्रार्थना साथै मण्डलीका सदस्यहरुले गरेको प्रार्थनाले विजय हाँसिल गर्यो र पवित्र आत्माको शक्तिले म परिवर्तन भएँ र नयाँ जन्म पाएँ ।
कुन कुराले गर्दा यहाँले येशूलाई पछ्याउनुुभयो ?
मलाई सानोमा डर लाग्दथ्यो कि मृत्युपछि के हुन्छ, अर्को जीवन छ कि छैन ? इसाई जीवनले मृत्युपछिको जीवनको विषयमा बताउँदछ जसलाई हामी अनन्त जीवन भनेर भन्दछौँ र त्यो नै एउटा कडी थियो जसले मलाई आकर्षण गर्यो ।
यहाँ एउटा लेखक हुनुहुन्छ, बाइबल शिक्षक हुनुहुन्छ, ब्लगहरु लेख्नुहुन्छ, विभिन्न तालिमहरु पनि दिनुहुन्छ, रेडियोकर्मी पनि हुनुहुुन्छ यति थुप्रै कुराहरुलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
मलाई के लाग्छ भने हामीले समयलाई व्यवस्थापन गरेर चल्न सक्यो भने हामीले जीवनमा थुप्रै कुराहरु हासिँल गर्न सक्दछौँ । यो संसारमा सबै मानिसलाई दिनको चौबिस घण्टा दिईएको हुन्छ, हामीले निश्चित समय अध्ययनको लागि, निश्चित समय मनोरञ्जनको लागि, निश्चित समय विश्रामको लागि प्रयोग गर्न सक्यौँ र प्रतिबद्ध भएर लाग्यौँ भने मलाई लाग्छ हामीले धेरै कुराहरु हात पार्न सक्दछौँ । मेरो आफ्नो जीवनमा पनि हरेक कामको तालिका छ पढ्ने, लेख्ने, कहिँ जाने इत्यादी र म त्यहि अनुसार अघि बढ्दछु । त्यसैले संकल्प र तालिकाले यी कुराहरु हात पार्न मलाई धेरै मद्धत पुर्याएका छन ।
भनेपछि हामीले समयको उचित पालना गर्नुपर्दछु ?
एकदमै, म चाहिँ यसमा अत्यन्तै कटिबद्ध छु, म के पनि भन्दछु भने तपाई जस्तोसुुकै अवस्थामा भएतापनि, तपाईको शिक्षा जुनसुकै तहको भएतापनि, तपाई जुनसुुकै भुुगोल वा तपाईको शिक्षाको तह जुनसुकै भएतापनि तपाई यहि नै परिस्थितिलाई मुल्यवान ठानेर आजैबाट संकल्प र प्रतिबद्धता गर्ने हो भने जीवनमा अकल्पनिय सफलता हासिल गर्न सकिन्छ ।
यहाँले समयको महत्वको विषयमा कुरा गर्नुभयो, बाइबलमा धेरैपल्ट समयको महत्वको विषयमा बताईएको छ, नेपालमा नेपाली समय भनेर चलेको छ र यो कुरा विश्वासीहरुमाझ पनि यो कुरा चलिआएको छ, विश्वासीहरुले समयको कसरी प्रयोग गर्नुपर्छ फरक तरिकाले वा पुरानै तरिकाले ? यसमा यहाँको सुुझाव के छ ?
जीवनमा सबैभन्दा महत्वपुर्ण कुरामध्ये समय एक हो । समय नै छैन भने केहि कुरा पनि छैन, समय नै पाउँदैनौँ भने हामीले केहि पनि गर्न सक्दैनौँ । त्यसैले समयपाए पछि यसको उचित प्रयोग गर्नुपर्दछ । नेपाली समय भन्नाले के बुझिन्छ भने तोकिएको समयभन्दा ढिलो जाने बानी । मेरो विचारमा यसका धेरै बेफाईदाहरु छन, ति मध्ये पहिलो कुरा हामीले चाँडो जानेलाई कुनै न कुनै प्रकारले ठगिदिएका हुन्छौँ कार्यक्रमहरु होस वा कतै जाने कुरामा होस । मलाई लाग्छ हामी व्यक्तिगत रुपमा प्रतिबद्ध भयौँ भने यो कुनै सगरमाथा चढ्नुजस्तो ठूलो कुरा पनि होइन । हामीले हरक कुराको हिसाब लगाएर चल्नुपर्दछ ।
यहाँ नेपालका विभिन्न जिल्लाहरुमा पुुगेर अपोलोजेटिक्स युुवा सेमिनार गर्दै आइरहनुभएको छ ? के छ यसको उद्धेश्य, वास्तवमा अपोलोजेटिक्स भनेको के हो ?
अपोलोजेटिक्स एक प्रकारको विज्ञान हो र ख्रीष्टियान विश्वासको बौद्धिक प्रस्तुतिकरण नै अपोलोजेटिक्स हो यसलाई मैले नेपालीमा रक्षाशास्त्र भनेर भन्दै आईरहेको छु । अपोलोजेटिक्स शब्द अपोलोजिया भन्ने ग्रीक शब्दबाट आएको हो जुन शब्द नयाँ करारमा आठपल्ट प्रयोग भएको हामी पाउँदछौँ । र प्रयोग भएको सन्दर्भमा ती आठओटा शब्दलाई लगभग चारवटा नेपाली शब्दमा अर्थ लगाइएको छ, कुनै ठाउँमा सुरक्षा, कतै जवाफ, सबुत र कुनै ठाउँमा पक्ष पनि भनिएको छ र समग्रमा भन्नुपर्दा यसलाई ख्रीष्टियान विश्वासको बौद्धिक प्रस्तुतिकरण भनिएको छ र बाइबलले हामीलाई यसमा लाग्नु भनेर आदेश पनि दिएको छ । मलाई के लाग्यो भने जब हाम्रा नानीबाबुहरु बालसँगतिबाट हुर्केपछि स्कुल तथा कलेजहरुमा जान्छन तब उनीहरुको संगत फैलिन्छ, प्रविधिमा ज्ञान बढ्छ, मिडियाले प्रभाव पार्दछ, कलेजका प्राध्यापकले, शिक्षाले धेरै दिमाग भुट्दछ । सर्वेक्षणले के देखाएको छ भने यतिखेर धैरैजना आफ्नो विश्वासबाट पछि हट्दछन । मलाई प्रभुले दिनुुभएको दर्शन हाम्रा भाइ बहिनीहरुलाई यस्ता खतरा र चुनौतीबाट कसरी जोगाउन सकिन्छ भन्ने कुरामा लागिपर्नु हो ।यसरी म तालिमको सिलसिलामा विभिन्न जिल्लाहरुमा पुगेको छु ।
यहाँको विचारमा नेपालमा अपोलोजेटिक्स सेवकाईको किन खाँचो छ ?
हामी यस्तो खालको ख्रीष्टियान संस्कृतिमा हुक्र्यौँ जहाँ धेरै तार्किक, बौद्धिक र वैज्ञानिक कुराहरुभन्दा पनि आत्मिय कुरामामात्रै बढी जोड दिएको हामी पाउँदछौँ, आत्मिक कुरा धेरै महत्वपुर्ण छ तर पनि अहिले मानिसहरु निकै सजग छन, मानिसहरु चेतना र बौद्धिकतामा अघि बढिरहेको अवस्थामा हाम्रो रणनिति र प्रस्तुतिकरणलाई पनि हामीले बदल्नुपर्ने निकै आवश्यक रहेको छ । हामीले जे प्रचार गर्दछौँ त्यो बैज्ञानिक रुपमा, बौद्धिक रुपमा, एैतिहासिक रुपमा, पुरातात्विक हिसाबमा, गणितीय हिसाबमा ठीक हुनुपर्दछ, तार्किक रुपमा चित्तबुझ्दो हुनुपर्दछ भन्ने विषयमा नै अपोलोजेटिक्सले काम गर्दछ ।
यहाँले बाइबल विज्ञान र परमेश्वर नाम भएको पुस्तक लेख्नुभएको छ, यसलाई धेरैले रुचाउनु पनि भएको छ, यहाँले बाइबल र विज्ञानलाई कसरी तुलना गर्नुभएको छ ?
मैले के भन्छु भने बाइबल कुनै पनि हालतमा विज्ञानको पाठ्यपुस्तक होइन, कुनै पनि विद्यार्थीले यसलाई स्कुल वा कलेजमा पाठ्यपुस्तकको रुपमा प्रयोग गर्दैन र यति हुँदाहुँदै पनि बाइबलमा यस्ता धेरै वैज्ञानिक कुराहरु छन जो अचम्म तरिकाले पुष्टि भएको हामी पाउँदछौँ । बाइबल र विज्ञान एक अर्कामा विवादित भएको छैन, एक अर्काको प्रतिद्वन्दी पनि होइनं । तर सुक्ष्म तरिकाले केलाउने हो भने यी दुई एक अर्कामा मेल हुन्छन । जस्तै उदाहरणको लागि आजभन्दा हजारौँ वर्ष अघि अय्युबको पुस्तकमा पृथ्वि शुन्यतामा झुन्डिएको छ भनेर लेखिएको थियो, अनि जब ग्यालिलियोले टेलिस्कोप आविष्कार गरे साथै अन्य वैज्ञानिक खोजहरु भए, हामीलाई थाह भयो कि वास्तवमै पृथ्वि शुन्यतामै झुण्डिएको रहेछ । बाइबलमा हामी यस्ता कयौँ तथ्य पाउँदछौँ जसलाई वैज्ञानिकले पछि मात्र पत्ता लगाएको छ । यसकारण बाइबल र विज्ञान एक अर्काका शत्रुहरु नभई मित्र हुन, बाइबलले मानिसको आत्मिक कुरालाई जोड दिन्छ भने विज्ञानले भौतिक कुरालाई जोड दिन्छ ।
यहाँले थुप्रै किताबहरु पढ्नुभएको छ, निरन्तर अध्ययन पनि गर्नुहुन्छ, लेख्नुहुन्छ, वर्तमान अवस्थामा अध्ययनशिलताको कमि छ, कसरी पढ्ने बानीको बिकास गराउन सकिन्छ ?
पढ्ने बानीको बिकासको लागि पढाईले अरुलाई परिवर्तन होइन तर आफुलाई नै परिवर्तन गर्दछ भन्ने मानसिकता ल्याउनुप्यो, दोस्रो कुरा चाहिँ एउटा किताबको लागि जति खर्च गर्दछौँ र समय लगानी गर्दछौँ त्यो भन्दापनि धेरै गुणा फाइदा हामीले पाउँदछौँ, त्यसले आफ्नो व्यक्तित्व र आत्मिक विकासमा फाइदा पुर्याउँदछ त्यसैले पढाई भनेको आफ्नै फाइदाको लागि हो यसको लागि संकल्प गर्दै प्रतिबद्ध भयौँ भने पढ्ने बानीको बिकास हुन सक्छ । मेरो आफ्नै हकमा भन्नुपर्दा मैले यो एक वर्षमा २४ वटा किताबहरु पढ्ने संकल्प गरेको छु, महिनामा २ वटा किताब पढियो भने २४ वटा किताब सकिँदो रहेछ । मैले दिनमा आधाघण्टा समयचाहिँ पढाइको लागि छुट्याएको छु । जोन पाइपरले लेखेका छन कि यदि हामीले दिनमा १५ मिनेट कुनै पनि विषय पढ्नको लागि समय छुट्यायौँ र एकवर्षसम्म त्यसलाई निरन्तरता दियौँ भने हामी कुनैपनि नजानेको विषयमा विशेषज्ञ बन्न सक्छौँ । त्यसैले हामीमा अध्ययनशिलता बानीको बिकास भयो भने त्यसले हामीलाई, हाम्रो परिवार, समाज र देशलाई सचेत, जागरुक र बिकसित बनाउँदछ ।
भनेपछि अध्ययनशिलता निकै महत्वपुर्ण छ ?
हजुर, यो निकै महत्वपुर्ण छ यसलाई हामीले दैनिकी बनाउनुपर्दछ, खाना खाएजस्तै यसलाई निरन्तरता दिनुपर्दछ जीवनको हिस्सा बनाउनुपर्दछ । हामीले अहिले सामाजिक सञ्जालमा घण्टौँ बिताउँछौँ होला तर त्यो समयलाई काटछाँट गरेर हामीले अध्ययनमा पनि समय बिताएमा हामी स्वयमलाई नै फाइदा पुुग्दछ ।
यहाँले अर्को “येशू को हुनुहुन्छ” नामक पुस्तक लेख्नुभएको छ, यहाँ स्वयंले भन्नुपर्दा मानिसहरुले येशू को हुनुहुन्छ भनेर चिन्नुपर्दछ ?
येशूको बारेमा संसारमा विभिन्न दृष्टिकोण रहेको छ, हामी बौद्धिक हिन्दुहरुको जमातमा जाने हो भने उनीहरुले येशू एक साँचो गुरु हुनुहुन्छ भनेर भन्दछन, मुस्लिमहरुले उहाँ एक महान अगम्बक्ता हुनुहुन्छ भनेर भन्दछन । संसारमा झण्डै पाँच अरबभन्दा बढी मानिसले येशूप्रति कुनै न कुनै रुपमा सकारात्मक दृष्टिकोण बनाएका छन । हामी ख्रीष्टियानहरुले येशूलाई त्रिएकताको दोस्रो रुप अर्थात परमेश्वरको पुत्र जो संसारमा मानव जातिको पापको लागि मर्न आउनुभयो, मरेर तेस्रो दिनमा पुनरुत्थान हुनुभयो, चालिस दिन पृथ्विमा बस्नुभयो र फेरि स्वर्गमा जानुभयो र फेरी आउनुहुनेछ भनेर विश्वास गर्दछौँ । र यसका लागि हामीसँग दह्रिलो प्रमाण र साक्षीहरु पनि छन । एक हरफमा भन्नुपर्दा येशू परमेश्वरका पुत्र हुनुहुन्छ र उहाँद्वारा मात्र मुक्ति सम्भव छ ।
आत्मिक संसार र विज्ञानलाई यहाँले कसरी हेर्नुहुन्छ ?
निश्चय नै विज्ञानले भौतिक संसारसँग सरोकार राख्दछ, एउटा यस्तो समय थियो जुन समयमा के मानियो भने भौतिक संसारभन्दा बाहिर वा पर केहि पनि अस्तित्वमा छैन, त्यो दावी गरियो । एउटा लेख छ, के आइन्सटाइनले परमेश्वरमाथी विश्वास गर्थे भन्ने र त्यो लेखमा एकजना निकै प्रख्यात नास्तिक रिचार्ड डाउकिन्सले तर्क गरेका छन भने आइन्सटाइनले परमेश्वरमाथी विश्वास गर्दैनथे । तर त्यहाँ थुप्रै स्रोतहरु आइरहेको थियो जसमा आइन्स्टाइनले व्यक्तिगत कुनै पनि परमेश्वरलाई विश्वास नगरेतापनि उनी यो भौतिक संसारभन्दा बाहिर पनि केहि न केहि आत्मा, चेतनशिल प्राणी अस्तित्वमा छ जसद्वारा यो सारा विश्व सृष्टि भएको भन्ने कुरामा विश्वास गर्दर्थे जुन कुरा धेरै वैज्ञानिकहरुले पनि विश्वास गर्दछन । किनभने हाम्रा यी पाँचवटा इन्द्रियले थाह पाउने कुराभन्दा पनि बढि बाहिर अन्य सत्यता पनि छ जुन कुरालाई हामी वैज्ञानिक रुपमा पुष्टि गर्न नसकौँला तर त्यसलाई थाह पाउने अरु माध्यमहरु पनि छन जसलाई हामी नकार्न सक्दैनौँ ।
बाइबलमा धेरै महत्वपुर्ण घटनाहरु छन ती मध्ये येशू ख्रीष्टको पुनरुत्थानलाई अपोलोजेटिक्सको दृष्टिकोणबाट बताईदिनुहोस न ?
अहिलेको संसारमा हामीले हेर्ने हो भने विज्ञानको कुनै पनि ज्ञान लगानी गर्दा पनि मरेको मानिसलाई ३ दिनमा ब्युँताउन सकिँदैन । त्यो अहिलेको ज्ञानद्वारा चाहिँ असम्भव छ । तर विज्ञानद्वारा पुष्टि हुन नसक्ने थुप्रै कुराहरु छन जसलाई हामीले साक्षीद्वारा मान्नुपर्ने हुन्छ । जस्तो अदालतमा वादी प्रतिवादीले प्रस्तुत गरेको साक्षीको आधारमा फैसला सुनाइन्छ । इतिहासको कुनै पनि घटनालाई हामीले फेरि पनि दोहोर्याएर प्रयोगशालामा लगेर वैज्ञानिक ढङ्गमा पुष्टि गर्न सक्दैनौँ । येशू ख्रीष्टको पुनरुत्थानको विषयमा पनि हामीले उपलब्ध डाटाहरु जम्मा गर्नुपर्यो पहिले, कसले कहिले ती कुराहरु देखेका छन त । अनि डाटाहरु जम्मा गरेर त्यसलाई विष्लेशण गर्नुपर्यो । येशू ख्रीष्टको पुनरुत्थानसम्बन्धी म तीनवटा तर्कहरु, कारणहरु पेश गर्दछु जसले ऐतिहासिक, र वास्तविक रुपमै पुुनरुत्थान भएको पुष्टि गर्दछन । पहिलो हो रित्तो चिहान, येशू ख्रीष्ट मरिसकेपछि शुक्रबार उहाँलाई गाडियो र आइतबार बिहान हेर्न जाँदा उहाँको चिहान रित्तो थियो । यो कुरालाई नयाँ करारका झण्डै ७५ प्रतिशत भन्दा बढि बाइबल विद्वानहरुले स्विकार गर्दछन । उनीहरुले बाइबललाई परमेश्वरको वचन मानुन वा नमानुन तर उनीहरुले त्यो प्रमाणहरु र तथ्यांकलाई विश्लेषण गर्द स्विकार गर्दछन कि पुनरुत्थान भएको हो । यदि चिहान रित्तो थियो भने एउटा कुरा पक्का हो कि येशूको शव त्यहाँ थिएन । हुन सक्छ चेलाहरुले गायब बनाए, हुन सक्छ कसैले चोरेर लगे तर ति सम्भावनाहरु आधारहिन र तथ्यहिन छन । त्यसैले म के निक्र्यौल गर्छु भने रित्तो चिहानले नै येशूको पुनरुत्थानको प्रमाण दिँदछ । अर्को कारण हो, पुनरुत्थानपछि येशूको प्रकटिकरणहरु । उहाँ पुनरुत्थान भएपछि सुटुक्कै स्वर्ग जानुुभएन तर उहाँ विभिन्न चेलाहरुकहाँ, विभिन्न मानिसहरुकहाँ देखा पर्नुभयो, विभिन्न ठाउँमा, समयमा, भिडमा देखापर्नुभयो । अब प्रश्न के हो भने येशू ख्रीष्टलाई जति जनाले देखेको दावी गरे कि उनीहरुले वास्तवमै येशूलाई देखे कि उनीहरु भ्रममा परे । मनोचिकित्सकले के भन्दछन भने कुनै पनि मानिस एउटै कुरामा घरिघरि भ्रममा पर्दैनन, अनि सामुहिक रुपमा पनि भ्रममा पर्दैनन । त्यसैले हामीले मानिसहरुले देखेको कुरालाई नियाल्ने हो भने येशूको पुनरुत्थान भएको हुनुपर्दछ र तेस्रो र महत्वपुर्ण कारण के हो भने चेलाहरुको जीवनमा आएको नाटकिय परिवर्तन । जुन रात येशू पक्राउ पर्नुभयो, सबै चेलाहरले येशूलाई छोडेर भागे भनेर लेखिएको छ तर त्यहि चेलाहरुलाई हामीले पाँचहप्ता पछि पेन्तिकोसको दिनको घटनालाई हेर्ने हो भने उनीहरु सिँहझै आँटिला छन । अब प्रश्न आउँछ उनीहरुको जीवनमा के कुराले नाटकिय परिवर्तन ल्यायो । याद गरौँ यदि चेलाहरुलाई हेर्ने हो भने एकजना यहुदा इस्करियोत जसले येशूलाई धोका दिएर गए, त्यसपछि प्रेरित युहन्न जो कालगतिले मरे तर दशै जना चेलाहरु शहिद भएर मरेका छन । कोहीलाई ढुङ्गाले हानेर, उधोमुन्टो झुन्डाएर, तरवारले आदि तरिकाले मारिएको छ, जो चेलाहरुले येशूसँगहुुँदा थुप्रै आश्चर्यकर्म देखे तर पक्राउपर्दा सबै भागे । अनि पुनरुत्थानपछि उनीहरु बिल्कुलै फरक र परिवर्तित छन र यो परिवर्तनको कारण हो, येशूको पुनरुत्थान ।
यहाँले बाइबलमा भएका पवित्र आत्माका कामहरु, चंगाई र आश्चर्यकर्मलाई कसरी हेर्नुहुन्छ ?
निश्चय नै आश्चर्यकर्म बाइबलमा थुप्रैपटक लेखिएका छन, पुरानो करारमा मोशाको समयमा, एलिया र एलिशाको समयमा अनि नयाँ करारमा येशू ख्रीष्टको समयमा, प्रेरितहरुको समयमा थुप्रै आश्चयकर्महरु भए । बाइबलमा हामीले हेर्ने हो भने परमेश्वरले समय समयमा आफ्नो सन्देशलाई पुष्टि गर्नको लागि, नयाँ सन्देशलाई स्थापित गर्न थुप्रै आश्चर्यकर्म गर्नुभएको छ । आश्चर्यकर्म भनेको प्रकृतिको नियमित प्रक्रियामाथी इश्वरीय हस्तक्षेप हो यसको विशेष उद्धेश्य हुन्छ, परमेश्वरले हिजो पनि गर्नुभयो आज पनि गर्नसक्नुहुन्छ र आवश्यक अनुसार भोली पनि गर्नुहुनेछ ।
एउटा असल ख्रीष्टियानले विज्ञानलाई कुन दृष्टिले हेर्नुपर्दछ ?
विज्ञानलाई हामीले सँधै आफ्नो मित्र ठान्नुपर्दछ, विज्ञान कसले उत्पादन गर्यो कसरी आयो भन्ने कुरालाई हेर्ने हो भने आधुनिक विज्ञानको थालनि आजभन्दा ४०० वर्ष अघि भयो जसले यी थालनी गर्दथे प्राय उनीहरु बाइबलमाथी र सृष्टिकर्तामाथी विश्वास गर्दर्थे । उनीहरुकै उत्पादनमा हामीले आजका भौतिक थोकहरु प्रयोग गरिरहेका छौँ । विज्ञान हाम्रो मित्र हो यसलाई हामीले सँधै सहि तरिकाले प्रयोग गर्न सकेको खण्डमा हामीलाई नै लाभ हुन सक्छ ।
यहाँको समय र विचारको लागि धेरै धन्यवाद, अन्त्यमा के सन्देश दिन चाहनुहुन्छ ?
मलाई पनि यो मौका र अवसर दिनुुभएको लागि धेरै धन्यवाद दिँदै सबैलाई यहि सन्देश दिन चाहन्छु कि जीवन निकै नै मुल्यवान छ, एकपटक मात्रै पाउने यो जीवनलाई सहि सदुपयोग गरौँ । तपाई जुनसुकै अवस्थामा भएतापनि तपाईमा अथाह सम्भावनाको खानी छ त्यसलाई प्रयोग गर्दै परमेश्वरको महिमामा अघि बढेमा केहि समयमा नै तपाई अद्भुत व्यक्ति भएर संसारमा यहाँले उल्लेखनिय योगदान पुर्याउन सक्नुहुनेछ ।