थप २१३ सङ्क्रमित थपिए, २९६ निको
काठमाडौं, माघ १५ गते । नेपालमा कोरोना भाइरसका २१३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार ५८८ जना पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा तीन हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका २१३ जना सङ्क्रमित थपिएका हुन् । अहिलेसम्म २० लाख ६० हजार ८६० पीसीआर परीक्षण भइसकेको छ ।
देशका विभिन्न अस्पतालबाट २९६ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा २९६ जना कोभिडमुक्त भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६५ हजार ३६५ जना पुगेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८ भन्दा माथि उक्लेको थियो ।
पछिल्लो चौबीस घण्टामा कोही पनि सङ्क्रमितको मृत्युको नभएको मन्त्रालयले उल्लेख गरेको छ । हिजोसम्म नेपालमा कोभिडबाट मृत्यु हुने दुई हजार बीस जना पुगेका छन् । नेपालमा केही महिना यता बिहीबार पहिलो पटक कोही पनि सङ्क्रमित मृत्यु नभएको जनाइएको छ।
हाल तीन हजार २०३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने तीन हजार २०३ जना आइसोलेशनमा र ११३ जना क्वारेन्टिनमा छन् ।