पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ६ महिनामा निर्माण सम्पन्न हुने, रिट्ठेपानी डाँडा काटिँदै
पोखरा, पौष २४ गते । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अबको ६ महिनाभित्र निर्माण सकिने भएको छ । हाल ६८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको पोखरा विमानस्थलको निर्माण कार्य छ महिनाभित्र सकिने विमानस्थल आयोजनाले जनाएको छ । हालको निर्माण प्रगतिलाई हेर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कोभिड महामारी भए पनि तोकिएकै समयमा सम्पन्न हुने देखिन्छ । यो विमानस्थल भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा पहिले नै सञ्चालनमा आउने आँकलन गरिएको छ ।
भैरहवा विमानस्थलको ९३ प्रतिशत भौतिक प्रगति छ । यो विमानस्थलमा पनि प्राविधिक जनशक्ति अभावमा उपकरण जडानको कार्य ढिला भइरहेको छ । अहिलेसम्मको कामको समग्र प्रगति हेर्दा भैरहवाभन्दा पोखरा नै चाँडै सञ्चालनमा आउने देखिएको हो । पोखरा विमानस्थलको ६८ प्रतिशत भौतिक प्रगति र करीब ५१ प्रतिशत वित्तीय प्रगति भएको छ । तोकिएको काम सम्पन्न भएपछि मात्रै ठेकेदारलाई पूरा भुक्तानी दिइने भएकाले वित्तीय प्रगति कम देखिए पनि त्यो भुक्तानी गर्दा स्वतःवित्तीय प्रगति माथि पुग्ने विमानस्थल आयोजनाले जनाएको छ ।
विमानस्थल निर्माण हालको प्रगति र उपकरण जडानसहित अबको ६ महिनाभित्र विमानस्थल निर्माण सम्पन्न हुने विमानस्थल आयोजना प्रमुख इञ्जिनियर विनेश मुनकर्मीले जानकारी दिएका छन् । ‘अहिलेसम्म निर्माण व्यवसायीले म्याद थप्नुपर्ने भनेका छैनन् । उपकरण जडानको काम ४ देखि ६ महिना लाग्छ । ५० प्रतिशतभन्दा बढी उपकरण बाँकी पनि केही समयभित्रै आउने भएकाले छ महिनाभित्रै जडानको काम सकिनेछ ।’ उनले भने । कोभिड–१९ को समस्या नभएको भए यो आयोजना समयावधिभन्दा ६ महिनाअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्य थियो ।
सन् २०२१ जुनमा सम्पन्न गर्ने लक्ष्य रहेको यो आयोजनाको काम बन्दाबन्दीको अवधिमासमेत निरन्तर सञ्चालन भएको थियो । अहिले १ सय ६० चिनियाँ र ६० नेपाली गरी २ सय २० कामदार खटिएका छन् । विमानस्थलको हाल २ हजार ५ सय मिटरको धावनमार्ग, एटिसी टावर, सात वटा भवन, एउटा ह्यांगरलगायत निर्माण कार्य सम्पन्न भएका छन् । यी पूर्वाधार सम्पन्न हुँदै छ । विमानस्थलमा लाइटिङलगायत उपकरण जडानको काम मात्र बाँकी छ । प्रविधि जडानका लागि आवश्यक विदेशी कामदार ल्याउन प्रक्रिया पूरा भएको र उनीहरु आउनासाथ उपकरण जडानको काम सुरु हुनेछ । प्रविधि जडानका लागि चीनसहित युरोप, अस्ट्रेलिया र अमेरिकाबाट पनि प्राविधिक ल्याउनुपर्ने आयोजनाले जनाएको छ । पूर्वनिर्धारित समयअघि नै विमानस्थलको निर्माण कार्य सकिने आयोजना प्रमुख मुनकर्मीले बताएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले पोखरा विमानस्थलको निर्माण तीव्रताका साथ भइरहेकाले निर्धारित समयअघि नै काम सम्पन्न हुने जनाए । करीब ३ हजार ९ सय रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थलको लगानी करीब २२ अर्ब हुने प्राधिकरणले जनाइएको छ । चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सिएएमसिइले विसं २०७३ साउन १८ देखि विमानस्थल निर्माण गरिरहेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ९आइकाओ० को मापदण्डअनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भए पनि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाजको उडान अवतरण हुने जनाइएको छ ।
विमानस्थलले वार्षिक ८ लाख यात्रुलाई सेवा दिने क्षमताको हुनेछ । विमानस्थलमा ३ न्यारोबडी, ४ एटिआर जहाज र ४ ट्वीनअटर जहाज गरी ११ वटा जहाज पार्किङ गर्न सकिने क्षमता छ ।
रिट्ठेपानी डाँडा काटिँदै
ठूला जहाजको उडान एवं अवतरणमा अवरोध गर्ने भनिएको विमानस्थल नजिकै रिट्ठेपानी डाँडा काट्ने तयारी भएको आयोजनाले जनाएको छ । धावनमार्गको “अप्रोच” पर्ने भएकाले करीब ४० मिटर डाँडा काटेर समतल बनाइनेछ ।
१ महिनाभित्रै ठेक्का प्रक्रिया अगाडि बढाएर करीब ६ महिनामा डाँडा काटेर सम्याइनेछ । आयोजना प्रमुख मुनकर्मीका अनुसार आइकाओ मापदण्डअनुरुप जहाज उडान एवं अवतरण गर्ने मार्गमा अवरोध हुन हुँदैन ।
रिट्ठे डाँडा धावनमार्गको “अप्रोच” मा परेको छ । त्यसले उडान तथा अवतरणमा अवरोध पु¥याउने भएकाले काट्नुपर्छ । हाम्रो मार्गमा ‘४० मिटर ‘अप्स्ट्रयाकल’ परेकाले रिट्ठेपानी डाँडा काटेर समतल बनाइने उनको भनाई छ । अन्तर्राष्ट्रिय उडान “सिंगल अप्रोच” बाट र आन्तरिकतर्फ धावनमार्गको दुवै एप्रोचबाट उडान तथा अवतरण हुनेछ । डाँडो काट्दा दुवै खाले उडानलाई सहज हुनेछ । रासस