भारतका केही राज्यमा आजदेखि विद्यालयहरु खुल्दै, रेल पनि चल्ने
एजेन्सी । भारतका केही राज्यमा आजदेखि विद्यालय खुल्ने भएका छन् । पञ्जाब, उत्तर प्रदेश, हिमाञ्चल प्रदेश, सिक्किमलगायत प्रदेशमा आजदेखि विद्यालयहरु स्वास्थ्य मापदण्ड र सुरक्षा सावधानीका सर्तसहित खुल्दैछन् । उत्तर प्रदेश र पञ्जाबमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरु विद्यालय आएर अध्ययन गर्नेछन् ।
उत्तर प्रदेशमा ५० प्रतिशत विद्यार्थीलाई एक दिन र बाँकीलाई अर्को दिन बोलाएर अध्ययन गराइनेछ । तर विद्यार्थीहरुलाई विद्यालय आउन अनिवार्य गरिएको छैन । पञ्जाबमा विद्यालयहरु दैनिक ३ घण्टा मात्र खुल्नेछन् । एउटा सिटमा एक जना मात्र विद्यार्थीलाई बसाइने छ । हिमाञ्चल प्रदेशमा पनि कक्षा १० र कक्षा १२ का विद्यार्थीलाई विद्यालयमा आएर अध्ययन गर्न खुला गरिँदैछ ।
सिक्किममा पनि आजदेखि विद्यालयहरु खुल्दैछन् । त्यहाँको सरकारले जाडोको विदा र शनिबारको विदा समेत कटाएर नयाँ शैक्षिक क्यालेन्डर बनाएको छ । भारतको केन्द्र सरकारले अनलाइन कक्षा र दूरी सिकाइ “डिस्ट्यान्स लर्निङ”लाई अझै पनि प्राथमिकता दिइएको र प्रोत्साहन गरिएको जनाएको छ । यसैगरी मुम्बईमा आजदेखि रेल चल्नेछ ।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार रेल बिहान साढे ८ देखि बेलुका साढे ८ बजेसम्म चल्ने छ ।