च्याम्पियन्स लिगः पोर्टोलाई हराउँदै लिभरपुल सेमिफाइनलमा
एजेन्सी । पोर्चुगिज क्लब एफसी पोर्टोमाथि सहज जित निकाल्दै इंग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोर्टोको मैदानमा बुधबार राति भएको खेलमा लिभरपुल ४–१ ले विजयी भएको हो । समग्रमा लिभरपुल ६–१ ले विजयी भयो । पहिलो लेगमा लिभरपुलले २–० को जित निकालेको थियो ।
एकपक्षीय बनेको खेलमा लिभरपुलले खेलको २६औं मिनेटमा साडियो मानेको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा १–० को अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा थप तीन गोल गर्दा एक गोल खान पुगेको थियो । ६५औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै अग्रता दोब्बर बनायो । ६९औं मिनेटमा इडेर मिलिटाओले गोल गर्दै गोल अन्तर २–१ मा झारे ।
७७औं मिनेटमा रोबर्टो फिर्मिनो र ८४औं मिनेटमा भर्जिल भान डिजिकले गोल गरेपछि लिभरपुल ४–१ ले विजयी हुन सफल भयो ।