नयाँ कुरा सिक्ने फरक फरक तरिकाहरु
कुनै पनि नयाँ विषय पढ्दा हामी धेरै छिटो सिक्छौँ ।
तपाईँ रुसी भाषा सिक्नुस् वा अरेबिक अथवा कवान्टम फिजिक्सनै सिक्नुस् । कुनै पनि नयाँ कुरा निकै कठिन लाग्न सक्छ तर हाम्रो दिमाग जे सिक्न पनि तयार हुन्छ र छिटो सिक्छ । कमसेकम सिक्ने प्रक्रियाको सुरुवाती चरणमा । कुनै पनि नयाँ विषय वा सीपको सिकाइमा पहिलो २० घन्टा निकै उत्पादनशील र छिटो हुने विभिन्न अनुसन्धानले देखाएको छ ।
कुनै पनि सूचना नयाँ छ भने हाम्रो दिमागले छिटो त्यसलाई ग्रहण गर्छ ।
यतिबेला नयाँ कुरा सिक्ने उत्कट चाहना र नयाँ उत्तेजनाप्रति दिमागले प्रतिक्रिया दिन सक्ने क्षमताका कारण दिमागको गति सबैभन्दा उच्च रहने बताइन्छ । दिमागले नयाँ विषयवस्तु र जानकारीहरू कसरी बटुल्छ भन्नेबारे अध्ययन गर्ने १९औँ शताब्दीका जर्मन दार्श्निक तथा मनोविद् हर्मन एबिन्गस पहिलो व्यक्ति हुन् ।उनले नयाँ सीप र त्यसको सिकाइमा लाग्ने समयको सम्बन्धबारे सिकाइको अवस्थाको अवधारणा ल्याएका थिए ।
हर्मन एबिन्गसको सिकाइसम्बन्धी ग्राफ रेखामा यदि “वाइ” लाई ज्ञान र “एक्स” लाई समय मान्ने हो भने सिकाइका पहिला घण्टाहरूमा मानिसले कति सिक्छ भन्ने देखिन्छ ।
उनले सो कुरा स्पष्ट पार्न एउटा ग्राफमा ज्ञानलाई ठाडो “वाइ” एक्सिस र समयलाई तेर्सो “एक्स” एक्सिसमा राखे । एबिन्गसले पहिलो केही घन्टामा नयाँ कुरा सिक्नमा जति बढी समय बितायो त्यति नै बढी ज्ञान हासिल भएको अनुभव गरे । ग्राफमा रहेको रेखा सीधै माथि पुगेको उनले बताएका थिए । तर केही समयपछि दिमागको सिक्ने क्षमतामा क्रमश कमी आउने र नयाँ कुरा सिक्ने र दिमागमा सुरक्षित राख्ने सन्दर्भमा उल्लेख्य कमी आउने देखे ।
जब तपाईँ केही सिक्न पहिला सुरु गर्नुहुन्छ, तपाईँ सबैभन्दा उत्पादनशील हुनुहुन्छ ।
आजभोलि एबिन्गसको ग्राफ नयाँ सीप सिक्न लाग्ने समयको अनुमान लगाउन र व्यापारिक क्षेत्रमा उत्पादनशीलताको विश्लेषण गर्न उपयोग गरिँदै आएको छ । जब हामी नयाँ कुरा सिक्न थाल्छौँ सुरुवाती २० घन्टाको समय निकै प्रभावकारी र उत्पादनमुलक बन्छ किनभने जब हामी नयाँ विषयवस्तुसँग सम्पर्कमा आउछौँ हाम्रो दिमागले त्यसबारे प्रतिक्रिया दिन सुरु गर्छ र त्यसबारे पर्याप्त जानकारीहरू संग्रहित गर्छ । समय लम्बिदै जाँदा ती विषयवस्तु दोहोरिन थाल्छन् र दिमागको प्रतिक्रिया दिने क्षमतामा कमी आउँछ । चाँडो सिक्ने प्रक्रिया रोकिन्छ र यो अवस्थालाई बानी परेको अवस्था भनिन्छ जहाँ हामी ढिलो गतिमा सिक्न थाल्छौँ । त्यसै कारण कुनै नयाँ कुराहरूको अध्ययन गर्दा जति नै जटिल लागे पनि त्यसबारे सुरुमै धेरै र चाँडो सिक्छौँ ।
सिक्ने फरक फरक तरिका
अमेरिकी लेखक जोश कोफमान जो उत्पादनशीलता सुधारका उपायहरू सिकाउँछन् उनी सिकाइका यी सुरुवाती समयको शक्तिबारे दृढ विश्वास राख्छन् । यही विश्वासको आधारमा उनको पुस्तक “द फर्स्ट ट्वान्टी आवर्स : “मास्टरिङ द टफेस्ट पार्ट अफ लर्निङ एनिथिङ” सबैभन्दा धेरै विक्री भएको पुस्तक बन्न सफल भयो ।
अध्ययनका लागि समय जुटाउनुस त्यसले तपाईँलाई ज्ञानको एउटा नयाँ तहमा पुर्याउँछ ।
सो किताबमा सिकाइका २० घन्टालाई दैनिक ४५ मिनेटको हिसाबले एक महिनामा बाँडे । उनी भन्छन, “तिमी विज्ञ नै त बन्दैनौ । तर २० घन्टाको पक्का कामपछि नयाँ कुरा सिक्न तिमीले भोगिरहेको चुनौती र त्यसले तिमीमा जगाउने निराशाबाट मुक्ति पाउनेछौ । र, एकपटक तिमी सक्षम भएपछि त्यसलाई निखार्दै अघि बढ्न सक्छौ ।”
नयाँ कुरा सिक्ने अर्को नयाँ तरिका भनेको “फाइभ आवर रुल” हो । जसअन्तर्गत हप्तामा पाँच दिन दैनिक एक घन्टा नयाँ कुराहरूको अध्ययन गर्ने हो । संयुक्त राज्य अमेरिकाका संस्थापक बेन्जामिन फ्र्याङ्कलिन दैनिक निश्चित समय नयाँ ज्ञान हासिल गर्न र सोच्न छुट्याउने अभ्यासमा वकालत गर्ने प्रखर व्यक्ति हुन् ।
बेन्जामिन फ्र्याङ्कलिनले विद्यालयमा जम्मा तीन वर्ष बिताए, तर उनी जीवनभर पढिरहे र उनी आफ्नो जिज्ञासु दिमागलाई ज्ञान दिइरहे । उनी सोमवारदेखि शुक्रवार दैनिक एक घन्टा केही नयाँ ज्ञान हासिल गर्न बिताउनु पर्ने बताउँथे । विज्ञहरूका अनुसार यदि हामी पाँच घन्टे नियममा अडिग रहन सक्यौँ भने हरेक चार घन्टामा नयाँ सीप सिक्न सक्छौँ । सिकाइका लागि समय तोक्ने अवधारणाका विश्वभरी हजारौँ समर्थकहरू छन् र यसका अनेक उपायहरू पनि छन् ।
तपाईँ यदि आश्वस्त हुनुभएन भने कोशिश गरी हेर्नुस, तपाईँ ४ घण्टामा के के सिक्न सक्नुहुन्छ ?
विश्वका अति सफल व्यापारीहरू ओपरा विनफ्रे, बिल गेट्स, इलोन मस्क, वारेन बफेट वा मार्क जुकरबर्गलाई सफलताको कारणबारे सोध्दा उनीहरूले सिकाइका लागि दैनिक निश्चित समय दिने गरेको बताएका छन् । सिक्ने चाहना र त्यसको लागि अनुशासन कायम गरे निरन्तर ज्ञान आर्जन गर्न सकिन्छ । साभार : बिबिसी