ब्राजिल : राष्ट्रपतिमा बोल्सोनारु निर्वाचित

अन्तराष्ट्रीय खबर मुख्य समाचार

बिबिसी । ब्राजिलको राष्ट्रपतीय चुनावमा उग्र–दक्षिणपन्थी उम्मेदवार जइर बोल्सोनारु विजयी भएका छन् । लगभग सबै मतगणना भइसक्दा बोल्सोनारुले ५५ प्रतिशत मत हासिल गरेका छन् । उनका प्रतिद्वन्द्वी वामपन्थी वर्कर्स पार्टीका फर्नान्डु अडाडको पोल्टामा चाहिँ ४५ प्रतिशत मत परेको छ । चुनावी अभियानका क्रममा बोल्सोनारुले देशमा व्याप्त भ्रष्टाचार निर्मूल पार्ने र अपराधको दर घटाउने वाचा गरेका थिए ।
चुनावी अभियान एकदमै विभाजनकारी देखिएको थियो । दुवै पक्षले अर्को पक्ष विजयी भए ब्राजिल ध्वस्त हुने तर्क गरेका थिए । पूर्वसैनिक अधिकारी बोल्सोनारुले विगतमा सैनिक शासनताका ब्राजिल राम्रो भएको चर्चा गर्ने गरेका छन । बोल्सोनारुका विपक्षीहरूले चाहिँ उनी ब्राजिलको लोकतन्त्रका निम्ति खतरा भएको तर्क गरेका छन । यद्यपि जितपछि बोल्दै बोल्सोनारुले “संविधान, लोकतन्त्र र स्वतन्त्रता” को आफूले रक्षा गर्ने बताए । उनले भने, “यो कुनै पार्टीको अथवा व्यक्तिको वाचा होइन । यो ईश्वरका सामु लिइएको शपथ हो” ।
बोल्सोनारुका केही समर्थकहरूले रियो दि जेनेरोस्थित उनको निवास अगाडि ब्राजिलको झण्डा फहराउँदै र पटाका पड्काउँदै जितको खुसियाली मनाएका छन् । वर्तमान राष्ट्रपति मिशेल टेमेरलाई प्रतिस्थापित गर्दै बोल्सोनारुले सन् २०१९ को जनवरीमा पद तथा गोपनीयताको शपथ लिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *