मेसीबिनाको बार्सिलोनाले इन्टरलाई हरायो, लिभरपुल ४ गोलसँगै शिर्षस्थानमा
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको खेलमा बार्सिलोनाले इन्टर मिलानलाई २ –० ले पराजित गरेको छ । कप्तान लिओनेल मेसीबिना उत्रिएको बार्सिलोनाले खेलमा जित दर्ता गर्यो । खेलको सुरुवातमा इन्टरले केहि राम्रो अवसर सिर्जना गरेपनि त्यसलाई गोलमा परिणत गर्न सकेन । सुरुवाती लयलाई निरन्तरता दिन नसक्दा इन्टरमाथि बार्सिलोना हावी हुँदै गएको थियो । बार्सिलोनाले ३२ औं मिनेटमा राफिन्हाको गोलमा अग्रता बनायो । लुइस सुआरेजको क्रसमा उनले भलीमार्फत गोल गरेका थिए त्यसैगरि ८३ औं मिनेटमा भने बार्सिलोनाले अग्रता दोब्बर पार्यो । जोर्डी अल्बाले इभान राकीटिचको पासको सदुपयोग गर्दै दोस्रो गोल गरे । लगातार तेस्रो जितसँगै बार्सिलोना समूहको शीर्ष स्थानमा उक्लिएको छ । ९ अंक जोडेको बार्सिलोनालाई ६ अंक जोडेको इन्टरले पछ्याईरहेको छ । टोटेनहम र पीएसभीको खेल २/२ को बराबरीमा सकिएपछि दुवै टोलीको १/१ अंक भएको छ ।
त्यसैगरि लिभरपुल र रेड स्टार बेलग्रडकाबीच भएको खलमा मोहमद सलाहले दुई गोल गरेपछि यूईएफए च्याम्पियन्स लिगमा बुधबार लिभरपुलले रेड स्टार बेलग्रेडलाई ४–० ले पराजित गरेको छ ।खेलको २० औं मिनेटमा रोबर्टो फिर्मिनोले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । उनले एन्ड्र्यु रोबर्टसनको पासमा गोल गरेका थिए । पहिलो हाफको अन्तिम मिनेटमा सलाहले लिभरपुलको अग्रता दोब्बर पारे । दोस्रो हाफमा पनि लिभरपुलले आक्रमण जारी राखेको थियो । रेड स्टारका फिलिपले साडियो मानेलाई लडाएपछि लिभरपुलले ५३ औं मिनेटमा पेनाल्टी पायो । सलाहले त्यसलाई गोलमा परिणत गर्दै ३–० को अग्रता दिलाए । ७६ औं मिनेटमा लिभरपुलले फेरि पेनाल्टी पाएपनि मानेले त्यसलाई गोलमा परिणत गर्न सकेनन् । यधपी उनले त्यसको ४ मिनेटमै ड्यानिएल स्टरिजको पासमा गोल गरे । यस जितसँगै लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
साथै गएराति नै भएको अर्को खेलमा डर्टमुन्डद्वारा एटलेटिको ४–० ले पराजित भएको छ । यस नतिजासँगै बोरुसिया लगातार तीन जितका साथ ९ अंक लिएर अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । एटलेटिको ६ अंकसहित समूहको दोस्रो स्थानमा छ ।
त्यसैगरी पीएसजी र नेपोलीबीच भएको खेलमा २/२ गोल हुुँदै नतिजा बराबरीमा टुंगियो । यस बराबरीसँगै पीएसजी तेस्रो स्थानमा कायम छ । शीर्ष स्थानमा २ जित दर्ता गरेको लिभरपुल तथा दोस्रोमा ५ अंक बोकेको नेपोली छ ।