क्यारेवियन लिगमा उत्कृष्ठ प्रदर्शन गर्दै सन्दीप
नेपाली युवा स्पिनर सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग (सीपीएल)मा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट शानदार डेब्यू गरेका छन् । तर, उनको टिम हारेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको प्याट्रियट्सले क्रिस गेलको ८६ रनको मदतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४६ रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको गुयाना अमेजन वारियर्सको पहिलो विकेट नै सन्दीपले लिए । दोस्रो ओभरमा बलिङ गर्न आएका सन्दीपले भेट्रान ओपनर चाडविक वाल्टनको विकेट लिँदै सीपीएलको डेब्यूलाई शानदार बनाए । उनले ज्यासन मोहम्मदको पनि विकेट लिए । समग्रमा ४ ओभर बलिङ गरेका उनले मात्र १२ रन दिएर २ विकेट लिएका थिए ।
तर, वेष्ट इण्डिजका यू–१९ टोलीका सदस्य सिम्रन हेटमेयरले शानदार पारी खेलेपछि क्रिस गेल र सन्दीप दुवै छायाँमा परे । उनले मात्र ४५ बलमा ७९ रनको अविजित पारी खेलेपछि गुयाना वारियर्सलाई २१ बल बाँकी छँदै ६ विकेटको जित निकाल्यो । म्यान अफ द म्याचसमेत बनेका उनले ४५ बलमा ९ चौका र ४ छक्का प्रहार गरेका थिए । एजेन्सी