अब यो गाउँपालिकामा बसाइँ सरी आउनेले पाँच लाखसम्म अनुदान !

आर्थिक नेपाल मुख्य समाचार समाचार

तेह्रथुम– तेह्रथुमको छथर गाउँपालिकाले आफ्नो जनसंख्या बढाउन बसाइँ सरी आउनेलाई अनुदान दिने नीति लिएको छ । गाउँपालिका क्षेत्रमा बसाइँ सरी आएर व्यवसाय गर्नेलाई उनीहरुको व्यावसायिक योजनाका आधारमा रु पाँच लाखसम्म अनुदान उपलब्ध गराउने भएको हो । ग्रामीण क्षेत्रमा सेवा सुविधाको अभाव भन्दै सर्वसाधारणको बसाइँ सरेर जाने क्रमलाई रोक्न गाउँपालिकाले विभिन्न कार्यक्रम बनाएको छ । पूर्वाधार निर्माण, आवश्यक स्रोत साधन परिचालन, खानेपानी व्यवस्थापनलगायत योजनाले बसाइँसराइ रोक्ने गाउँपालिकाले नीति लिएको अध्यक्ष सन्तवीर लिम्बूले बताए । गाउँपालिकाबाट बसाइँसराइ लिएर गइसकेकालाई पुनः फर्काउने र शहरी क्षेत्रमा निस्किएर व्यवसाय गर्नेलाई लक्षित गरी बसाइँ सरेर आउनेलाई व्यावसायिक अनुदान उपलब्ध गराउने निर्णय भएको अध्यक्ष लिम्बूको भनाइ छ । गाउँपालिकाले आर्थिक वर्ष २०७५–०७६ को बजेटबाट तत्कालका लागि रु १० लाख बजेट व्यवस्था गरेको छ । कार्यक्रमको प्रभावकारिता हेरेर गाउँपालिकाले बजेट थपघट गर्ने तयारी गरेको छ । तत्कालीन आङ्दिम, हमरजुङ, पञ्चकन्या, फाक्चामारा, ओख्रे र सुदाप गाउँ विकास समिति मिलेर बनेको छथर गाउँपालिकाको जनसंख्या हाल १६ हजार ७५० मात्रै रहेको छ ।
गाउँपालिकाले कृषि र पर्यटनलाई लक्षित गरी व्यावसायिक वातावरण बनाउन प्रयत्न गरिएको जनाएको छ । यो क्षेत्रमा अहिले पनि तरकारी र दूध आम्दानीको राम्रो स्रोत बनिरहेको छ । यसबाहेक शैक्षिक र अन्य साना व्यावसायिक क्षेत्रमा समेत लगानीको पर्याप्त सम्भावना रहेको गाउँपालिकाले जनाएको छ ।
रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *