कसैलाई आशा नै थिएन, इंग्ल्याण्डलाई पछि सारी अघि बढ्यो क्रोएसिया
विश्वकप सुरु हुनुअघि क्रोएसियालाई कसैले धेरै पर सोचेका थिए भने त्यो क्वार्टरफाइनलसम्म थियो । सेमिफाइनलमा इंग्ल्याण्डलाई २–१ ले हराएर क्रोएसियाले आफूलाई कमजोर सोच्नेलाई गतिलो जवाफ दिएको छ । इंग्ल्याण्डविरुद्धको खेलमा ६८ औं मिनेटमा बराबरी गोल गरेका पेरेसिकले पनि कसैले नसोचेको ठूलो उपलब्धी आफूहरुले पाएको बताएका छन् । ‘यो व्याख्या गर्नै सकिदैन । सानो क्रोएसिया विश्वकपको फाइनलसम्म, यो सबै खेलाडी र समर्थकका लागि ठूलो खुसीको अवसर हो’ उनले भने । रसिया विश्वकपका हरेक खेलमा क्रोएसियाले आफ्नो प्रभाव देखाउँदै आयो । उत्कृष्ट मिडफिल्डसँगै राम्रो फिनिसिङ देखिएको क्रोएसियन टिमले विश्व फुटबलकै आयाममा विशेष प्रभाव पारेको छ । जर्मनी, अर्जे्न्टिना, स्पेन, ब्राजिल जस्ता आशा गरिएका टिमहरु निराश भएका बेला क्रोएसिया एकपछि अर्को जितको खुसी मनाउँदै छ । क्रोएसियाले समूह चरणमा नाइजेरियालाई २–०, अर्जे्न्टिनालाई ३–० र आइसल्याण्डलाई २–१ ले हराएको थियो । अन्तिम १६ मा डेनमार्कसँग १–१ को बराबरीपछि टाइब्रेकरमा ३–२ ले विजयी भएको क्रोएसिया क्वाटरफाइनलमा पनि टाइब्रेकरमै विजयी भएको हो । क्वाटरफाइनलमा रसियासँग २–२ को बराबरीपछि टाइब्रेकरमा क्रोएसिया ४–३ ले विजयी भएको थियो । झण्डै ४२ लाख जनसंख्या रहेको क्रोएसिया युगोस्लाभियाबाट स्वतन्त्र भएको सन् १९९१ मा हो । त्यसपछि पहिलोपटक १९९८ को विश्वकपमा सहभागी हुँदा नै तेस्रो भएको क्रोएसिया यसपटक नयाँ उचाइमा छ । २००२, २००६ र २०१४ मा पनि विश्वकप खेलेको भए पनि त्यो बेला क्रोएसिया समूह चरणबाट माथि जान सकेको थिएन । मध्य तथा दक्षिण पूर्वी युरोपको बीचभागमा एड्रियाटिक सागरको नजिक रहेको क्रोएसियालाई विश्वकप फाइनलसम्म ल्याउन लुका मोडरिक, मारियो मान्जुकिज, इभान पेरिसिकसहितका खेलाडीको भूमिका ठूलो छ ।
राजनीतिक अस्थिरता र हिंसात्मक संघर्ष लामो समय भोगेको क्रोएसियाले फुटबलमा ठूलो सफलता पाइरहेको छ । ‘यो विश्वकपमा हामी संयमित भएर खेलिरहेका छौं । तीन खेलमा त हामी १–० ले पछि परेको अवस्थाबाट बाहिरिएर जित निकाल्न सफल भयौं । हामी फाइनलमा पनि उसैगरी प्रस्तुत हुने छौं’ क्रोएसियाका प्रशिक्षक जाल्ट्को डेलिकले भने । कठिन समूहमा परेर पनि क्रोएसियाले जस्तो खेल देखायो त्यसको तारिफ अहिले धेरैले गरिरहेका छन् । प्रशिक्षक जाल्ट्को डेलिकले जस्तो काम गरिरहेका छन् त्यसले क्रोएसियन फुटबलमा नयाँपन देखिएको छ । यसमा पनि प्रमुख जितको आधार त मिडफिल्डबाट नै बनेको छ । अहिले विश्व फुटबलमै उत्कृष्ट रहेका इभार्न याकिटिक र लुका मोडरिकले मिडफिल्डबाट क्रोएसियन टिमको अग्रता बनाएका छन् । डफिल्डसँगै अट्याकिङ लाइन पनि रचनात्मक, संगठित र संरचित देखिएको छ । फाइनलसम्म पुग्दा मोडरिक र्र याकिटिक मात्रै होइन हरेक खेलाडी उम्दा देखिएका छन् । सबैले राम्रो तालमेल मिलाइरहेका छन् । ‘हामीले खेलमा मानसिक रुपमा पनि इंग्ल्याण्डमाथि दबाब बनाएका थियौं । खेलअघि उनीहरुले हामीलाई कमजोर सोचेका थिए, खेलपछि को कस्तो भन्ने प्रस्ट भएको छ’ इंग्ल्याण्डसँगको जितपछि मोडरिकले भनेका छन् । ‘हामीले खेलमा अतिरिक्त समय अघि नै जित्न सक्छौं भन्ने थियो । जे होस अतिरिक्त समयमा गए पनि हामी सम्हालिएर खेलिरहृयौं र जित्यौं । अहिले क्रोएसियन फुटबलमा नयाँ इतिहास बनेको छ । यसमा हामीलाई गर्व लागेको छ’ उनले भने ।