नयाँ वर्षमा पोखरामा फेवा नव वर्ष महोत्सव हुँदै
पोखरा। होटल संघ पोखरा नेपालको आयोजनामा १७औं फेवा नववर्ष महोत्सव हुन लागेको छ । यहि चैत ३० गतेदेखि वैशाख १ गतेसम्म पोखराको लेकसाइडस्थित अम्मटदेखि हल्लनचोकसम्मको सडकमा महोत्सव हुनेछ ।
कोभिड–१९ का कारण २ बर्षसम्म स्थगित महोत्सवलाई यसपटक निरन्तरता दिन लागिएको संघले जनाएको छ । अन्नपूर्ण केवलकार प्रालि महोत्सवको प्रायोजक रहेको छ । महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
कोभिड–१९ का कारण थला परेको पर्यटनलाई पुनजागृत गर्न महोत्सव आयोजना गर्न लागिएको हो। पछिल्लो समयमा पोखरामा आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको, भारतीय पर्यटक आउनेक्रम सुरु भएको र कतिपय तेश्रो मुलुकका पर्यटक समेत देखिन थालेका छन ।
महोत्सवलाई आकर्षक र नयाँ ढंगले सम्पन्न गर्न तयारीहरु अगाडि बढिसकेको संघका महासचिव एवं महोत्सवको प्रचार समितिका संयोजक राजेन्द्र ढकालले जानकारी दिए ।
रेवान पोखरासँगको समन्वयमा संघले सडकमा देशविदेशका खानाहरुको स्वाद चाख्ने व्यवस्था मिलाएको छ । अम्मट र सेन्टर प्वाइन्ट लगायतका क्षेत्रमा आकर्षक स्टेज निर्माण गरी दोहोरी तथा गीत संंगीतका कार्यक्रम, पप कन्सर्ट, नाचगान र अन्य मनोरञ्जनात्मक प्रस्तुतिहरुलाई समेट्ने योजना संघले बनाएको छ ।
सोअवसरमा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति पनि रहने छन् । महोत्सवको उद्घाटन अघि ड्यामसाइड र खहरेबाट झाँकीहरुको र्याली निकालिने छ ।