भारतमा सुरु भयो कोरोना खोप अभियान
नयाँदिल्ली, माघ ४ गते । भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियानको शनिबारदेखि सुरु भएको छ । विश्वव्यापी महामारीको रूप लिएको कोरोनाविरुद्धको खोप अभियानको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका हुन् । नयाँदिल्लीको अल इन्डिया इन्स्टिच्युटको अफ मेडिकल साइन्सेज एम्स् का सफाइ कर्मचारी मनीष कुमार पहिलो खोप लगाउने व्यक्ति बने । उनले एम्स्मै रहेको केन्द्रमा खोप लगाए ।
भारतमा हालसम्म १ करोड ५ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने १ लाख ५२ हजारभन्दा बढीको संक्रमणका कारण मृत्यु भइसकेको छ ।भारतले आगामी जुलाईभित्रमा ३० करोड नागरिकलाई खोप दिने लक्ष्य बनाएको छ । पहिलो चरणमा भने करिब ३ करोडलाई निःशुल्क खोप दिने घोषणा यसअघि गरिएको छ । त्यही पहिलो चरणअन्तर्गत शनिबारदेखि खोप लगाउन थालिएको हो । जसअन्तर्गत महामारी नियन्त्रणमा खटिएका स्वस्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीलाई खोप लगाउने योजना छ । त्यसपछि ५० वर्ष नाघेका र त्यो उमेरका भए पनि जटिल स्वास्थ समस्या भएकाहरूलाई खोप दिने योजना छ । शनिबारबाट सुरु हुने खोप कार्यक्रमलाई विश्कै हालसम्मकै ठूलो खोप अभियान दाबी गरिएको छ । अभियानको पहिलो दिन १ लाख ९१ हजार जनाले खोप लगाएका छन् । भारत सरकारले पहिलो दिन करिब ३ लाखलाई खोप लगाउने लक्ष्य राखेको थियो । त्यसका लागि भारतभर करिब ३ हजार खोप केन्द्र स्थापना गरिएको छ ।