पालिकाको निर्णयमा विद्यालय खुल्दै
काठमाण्डौ, मंसिर १४ गते । सरकारले कोरोना महामारीको जोखिम मूल्याङ्कन गरी विद्यालय सञ्चालनका आधार तय गरेपछि विभिन्न पालिकामा शैक्षिक गतिविधि सुरु हुन थालेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको महिना “विद्यालय सञ्चालन कार्यढाँचा, २०७७” जारी गर्दै पालिकामा जिम्मेवारी हस्तान्त्ररण गरेपछि पालिकाले आवश्यक परामर्शमा वैकल्पिक सिकाइको निरन्तरताका साथै प्रत्यक्ष पढाइ सुरु गरेका हुन् । कक्षा १२ को परीक्षा स्वास्थ्य मापदण्ड र भौतिक दूरीसहित व्यवस्थित सञ्चालन भएकाले अब विद्यालय सञ्चालनको ढाँचा यस्तै प्रकारको हुने बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताउनुभयो । उहाँले अनलाइनबाट पढ्न चाहनेलाई पनि सुविधा दिँदै विद्यालय सञ्चालन गर्दा बालबालिकाको चाहना समेत सम्बोधन हुने बताउनुभयो ।
कोभिड–१९ पछि वैकल्पिक माध्यमबाट सिकाइ निरन्तरता दिनु चुनौतीपूर्ण भएका बेला जनस्वास्थ्यको मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न थालिएको लमजुङको मर्स्याङ्गी गाउँपालिकाकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिनुभयो । विद्यार्थी सङ्ख्या बढी भएमा समूह विभाजन गरेर व्यवस्थापन गर्न सकिने र त्यसै अनुसार व्यवस्थापन गरेको उहाँले बताउनुभयो । विद्यालय सञ्चालनका क्रममा अभिभावकसँग परामर्श लिइ केन्द्र, प्रदेश र पालिकाले योजना बनाउनुपर्नेमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष कृष्ण थापाको जोड छ । उहाँले विद्यालय खोल्नपूर्व अनिवार्यरुपमा निर्मलीकरण गर्न र विद्यालयमा क्वरेन्टीन वा अस्पताल नराख्न आग्रह गर्नुभएको छ ।