आइपिएल २०२०ः सनसनीपुर्ण जित निकाल्दै हैदराबाद प्लेअफमा, प्लेअफ समिकरण पूरा

अन्तराष्ट्रीय खबर खेलकुद मुख्य समाचार

एजेन्सी – मंगलबार राती लिग चरणको अन्तिम खेलमा सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई १० विकेटले हराएसँगै प्ले अफ समिकरण पूरा भएको छ । हैदराबादले मुम्बईलाई १० विकेटले पराजित गर्दै प्ले अफमा स्थान बनाउँदा कोलकाता नाइट राइडर्स भने लिग चरणबाटै बाहिरिएको छ । जितसँगै हैदराबाद तेस्रो स्थानमा उक्लिएको छ भने रोयल च्यालेन्जर्स चौथो स्थानमा झरेको छ । जितका लागि १ सय ५० रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले १७.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । हैदराबादको सानदार जितमा कप्तान डेभिड वार्नर ५८ बलमा १० चौका र छक्का १ सहित ८५ रनमा अविजित रहे । अर्का ओपनर ऋद्धिमान शाह ४५ बलमा ७ चौका र १ छक्का सहित ५८ रनमा अविजित रहे ।
आइपिएल २०२० मा मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स, सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेंगलोरले प्ले अफमा स्थान बनाएका छन् । कोलकाता नाइट राइडर्स, किंग्स इलेभेन पन्जाब, चेन्नई सुपर कंग्स र राजस्थान रोयल्स लिग चरणबाट बाहिरिने चार टोली बनेका छन् ।
आइपिएलको शीर्ष स्थानमा मुम्बई १४ खेलमा १८ अंकका साथ रह्यो । दिल्ली १४ खेलमा १६ अंकका साथ दोस्रो स्थानमा रह्यो । फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा बिहिबार मुम्बई र दिल्लीबीच प्रतिस्पर्धा हुने छ । दिल्ली र मुम्बईबीचको पहिलो क्वालिफायर बिहिबार दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा हुने छ । विजेता टोली सोझै फाइनलमा पुग्ने छ । पराजित हुने टोलीले पुन फाइनल प्रवेश गर्न प्रतिस्पर्धा गर्न अवसर रहने छ ।

एलिमिनेटर खेलमा तेस्रो स्थानको हैदराबाद र चौथो स्थानको बेंगलोरबीच शुक्रबार शेख जायद स्टेडियम आबूधाबीमा प्रतिस्पर्धा हुने छ । जसको विजेताले पहिलो क्वालिफायरको पराजित हुने टोली मुम्बई वा दिल्ली मध्य एक सँग फाइनल प्रवेशको लागि आबूधाबीमा आइतबार दोस्रो क्वालिफायर खेल्ने छ । फाइनल मंगलबार दुबईमा हुने छ ।
मुम्बई लगातार दोस्रो तथा समग्र पाँचौं पटक उपाधि जित्ने सोचमा हुने छ । दिल्ली पहिलो पटक फाइनलमा पुग्दै उपाधि जित्न चाहन्छ । बेंगलोर पनि पहिलो उपाधि जित्न चाहन्छ । हैदराबादलाई दोस्रो उपाधिको अवसर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *