युभेन्टस बन्यो ‘सिरी ए’ च्याम्पियन
एजेन्सी । इटालियन सिरी ए को उपाधि युभेन्टसले जितेको छ । योसहित युभेन्टसले लगातार नवौं पटक सिरी ए को उपाधि जितेको छ । घरेल मैदान एलिएन्ज एरिनामा साम्पडोरियालाई २–० गोलले हराउँदै युभेन्टसले दुई खेल अगाडि नै लिगको उपाधि जित्न सफल भएको हो । गएराति भएको खेलमा युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र फेर्डिको बेरनरडेस्चीले एक एक गोल गरे । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको सातौ मिनेटमा मिरालेम पजानिकको पासमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई १–० को अग्रता दिलाए । जारी सिजनमा सिरी एमा उनको यो ३१ औं गोल थियो ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको युभेन्टसका लागि फेर्डिकोले ६७ औं मिनेटमा दोस्रो गोल गरेका हुन । खेलको अन्तिम समयमा युभेन्टसले पाएको पेनाल्टीलाई रोनाल्डोले सदुपयोग गर्न सकेनन । उनको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । त्यसपछि साम्पडोरीया खेलमा फर्कन सकेन र पराजित भयो । सिरी ए मा लगातार नौ सिजनसम्म उपाधि जित्ने युभेन्टस पहिलो टिम बनेको छ ।
च्याम्पियन बनेको युभेन्टसको ३६ खेलबाट ८३ अंक पुगेको छ । दोस्रो स्थानम रहेको इन्टर मिलानको ७६ अंक रहेको छ । पराजित साम्पडोरिया ४१ अंक जोडेर १५औं स्थानमा रहेको छ ।
युरोपियन लिगहरुमा युभेन्टस लगातार नौ सिजनसम्म उपाधि जित्ने तीन क्लबमा एउटा बनेको छ ।