साउन ८ देखि गाडी चल्ने, गाडीको सर्भिसिङ थालियो
पोखरा, साउन ४ । राष्ट्र बैङ्कले सार्वजनिक गरेको मौद्रिक नीतिमा व्यवसायीका कुरा समेटिएको भन्दै यातायात व्यवसायीहरूले साउन ८ गतेदेखि पुर्णरुपमा यातायात सञ्चालनको तयारीमा लागेका छन । मौद्रिक नीतिमा राष्ट्र बैङ्कले पुनः कर्जा लगायतका विषयमा सुविधा दिएकाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशभरि नै साउनवाट सार्वजनिक यातायात सञ्चालनको तयारी थालेको हो ।
लामो समयदेखि ग्यारेजमा रहेका बसहरूलाई सर्भिसिङका लागि मर्मत केन्द्रहरूमा लिएर जान थालेको र गाउँगाउँमा रहेका यातायात मजदुरहरूलाई शहरमा लिएर आउन थालेको व्यवसायीहरूले बताएका छन । ‘हाम्रो माग राष्ट्र बैङ्कले सार्वजनिक गरेको मौद्रिक नीतिमा समावेश भएसँगै हामीले साउन ८ गतेबाट सार्वजनिक यातायातहरू चलाउने तयारी गरेका छौँ’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघका बागमती प्रदेशका महासचिव राजेश श्रेष्ठले भन्नुभयो । तर यसको अन्तिम निर्णय भने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघले गरेपछि मात्रै हुने श्रेष्ठले बताउनुभयो ।
महासङ्घले सरकारसँग ४० सिटको गाडीमा २५ जना र ३० सिटको गाडीमा २० जना यात्रु बोक्न पाउनुपर्ने, एक जिल्लामा मात्रै नभएर ६० किलोमिटरको केन्द्र बनाएर सार्वजनिक यातायात सञ्चालन गर्न पाउनुपर्ने माग राखेर प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्रसमेत बुझाएका थिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले आइतबार र सोमबार व्यवसायीहरूसँग छलफल गरेर महासङ्घले मङ्गलबार मात्रै आधिकारिक घोषणा गरिने बताउनुभयो ।
महासङ्घले नेपालभर तीन लाख ५० हजार सार्वजनिक यातायात हुने भएकाले यातायातमा काम गर्ने मजदुरको अनिवार्य कोरोना बीमा, मेडिकल सामाग्रीहरूको व्यवस्थापन, सवारी साधनहरूको सेनिटाइजर र मास्क पन्जाको व्यवस्थानको तयारीसमेत गरेको छ ।
चैत्र ११ देखि रोकिएका सार्वजनिक यातायातहरू मौद्रिक नीतिले सम्बोधन गरेपछि आवश्यक सुरक्षाको मापदण्ड अपनाएर मात्रै चलाउने भएकाले साउन ८ बाट सञ्चालनको तयारीमा रहेको श्रेष्ठले स्पष्ट पार्नुभयो । मौद्रिक तीतिको कार्यविधि कस्तो आउने हो भनेर मात्रै व्यवसायीहरू कुरेर बसेका छन ।