सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय
पोखरा, असार २५। सरकारले सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक यातायात सुचारु गर्न दिने निर्णय गरेको छ । छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाका अनुसार काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्र र उपत्यकाबाहिर बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सार्वजनिक यातायातका साधन चलाउन पाइनेछ । चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा अनिवार्य लगाउनुपर्नेछ । ढोका र यातायातका साधनभित्र स्यानिटाइजर राख्नुपर्नेछ भने यात्रुले पनि मास्क अनिवार्य लगाउनुपर्नेछ ।
साथै सामाजिक दूरी कायम गर्न सिटको एउटा पंक्तिमा एक जनामात्र राख्नुपर्नेछ । एक दिनमा एक पटक यातायातको साधन निसंक्रमण पनि गर्नुपर्नेछ ।
सरकारको यो निर्णयअनुसार लामो दुरीका सार्वजनिक यातायातका साधन अझै सञ्चालन गर्न पाइनेछैन ।
सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने अर्थमन्त्री खतिवडाले बताए । साथै सार्वजनिक यातायातको भाडा ५० प्रतिशत बढाउने निर्णय समेत गरेको छ । सिट क्षमता अनुसार सञ्चालन नहुने भएकाले सञ्चालन खर्चका लागि हाल कायम भाडाको सार्वजनिक सबारीले यात्रुबाट अतिरिक्त पचास प्रतिशत रुपियाँ लिन पाउने मन्त्री खतिवडाले बताउनुभयो ।