भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले अभिनेता इरफान खानको मृत्युले भारतिय चलचित्रमा ठूलो क्षति पुगेको बताए
प्रसिद्ध बलीवुड अभिनेता इरफान खानको निधन भएको छ। स्वास्थ्य बिग्रिएपछि मङ्गलवार उनलाई मुम्बईस्थित कोकिलाबेन अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो। उनी क्यान्सरबाट पीडित थिए। खानले पानसिंह तोमर, मकबूल, सलाम बाम्बे, द लन्च बक्स, लाइफ अफ पाई, जुर्यासिक वर्ल्ड, स्लमडग मिलीअनेअरजस्ता बलीवुड र हलीवुडमा बनेका चर्चित चलचित्रमा अभिनय गरेका छन्। उनको अभिनयको धेरैले प्रशंसा गरेका छन्। उनको जन्म सन् १९५७ मा भएको बताइएको छ। यसअघि उनका प्रवक्ताले विज्ञप्तिमार्फत् खानलाई पेटको सङ्क्रमण भएको र चिकित्सकको निगरानीमा रहेको जानकारी दिएका थिए।
इरफान खान न्यूरोएन्ड्रोक्राइन ट्यूमर बाट पीडित थिए। यो रोगले हर्मोन उत्पान गर्ने ग्रन्थिहरूमा असर गर्छ। गत वर्ष उनी लन्डनमा उपचार गराएर फर्किएका थिए। त्यसयता उनको कोकिलाबेन अस्पतालमा चिकित्सकहरूको निगरानीमा उपचार चल्दै आएको थियो।खानको निधनमा भारत तथा अन्य देशबाट धेरैले शोक व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा धेरैले उनको मृत्युमा दुःख व्यक्त गरेका छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले खानको निधनका कारण चलचित्र क्षेत्रमा ठूलो क्षति भएको जनाएका छन्। त्यसैगरी चर्चित अभिनेता अमिताभ बच्चनले खानको निधनले ठूलो रिक्तता सिर्जना गरेको भन्दै खान प्रतिभाशाली र शालीन व्यक्ति भएको उल्लेख गरेका छन्। उनको मृत्यु ५४ वर्षको उमेरमा भएको छ ।