बंगलादेशी राष्ट्रपति हमिद पोखरा भ्रमण गरी फर्के
पोखरा, २८ कात्तिक । नेपालको चार दिने भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार पोखरा आएर विभिन्न ठाउँको भ्रमण गरी फर्केका छन । पोखरमा करिब साढे ११ बजे आएका हमिद फेवातालमा नेपाल प्रहरीको डुंगा चढेर फेवातालको सयर गरे। उनका स्वागतका लागि दुवै देशको झण्डा, पुष्प गुच्छा र विभिन्न भेषभुषामा विभिन्न व्यक्तित्व पुगेका थिए ।
उनलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेश प्रमुख अमिक शेरचन, कार्यवहाक मुख्यमन्त्री किरण गुरुङ, सांसदहरु, व्यवसायीहरुले स्वागत गरेका थिए । राष्ट्रपति हमिदलाई पञ्चेबाजा सहित पन्चकन्याले पुष्पगुच्छा सहित स्वागत गरेका थिए । विमानस्थलको अतिविशिष्ट कक्षमा केही समय रहेका राष्ट्रपति हमिद सवारी साधनबाट मुस्ताङचोक, राष्ट्रबैंक चोक हुँदै पोखराको प्रमुख पर्यटकीय केन्द्र मानिएको फेवाताल पुगेका थिए । उक्त मार्गमा सहभागी टोल विकास संस्था, आमा समूह, नागरिक समाजलगायत संस्थाका प्रतिनिधिले उनको भव्य स्वागत गरेका थिए ।
फेवातालमा डुंगा सयरको कार्यक्रम सकिए भएपछि उनी फेवा किनारमै रहेको फिस्टेल लजमा प्रदेश सरकारले आयोजना गरेको दिवा भोजमा सरिक भएर रुपाकोट गए ।
कास्कीको रुपा गाउँपालिका पुगेर हिमाली दृश्यावलोकन गरेपछि । रुपाकोट रिसोटमा उनलाई आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले साथै रुपा गाउँपालिकाले सांस्कृतिक झाँकी सहित स्वागत गर्यो । रुपाकोटमा हमिदले एक घण्टा बिताएपछि उनी बिहीबारै हेलिकप्टरबाट काठमाडौं फर्केका छन । नेपाली सेनाको हेलिकोप्टबाट पोखरा आएको उनले पोखरामा करिब चार घण्टा बिताएका छन् ।