एड्रिन देवानसँग मनका कुरा

मनका कुरा मुख्य समाचार सुसमाचार

एड्रिन देवान नेपाली ख्रीष्टियान जगतका प्रख्यात गायक तथा एउटा आराधना अगुवा हुनुहुन्छ । क्रसवे कम्युनिटी चर्चमा सेवकाई गर्ने देवानको जन्म दार्जिलिङमा भएको हो । अति नै नम्र, परमेश्वरको इच्छालाई खोज्ने, वचनहरुद्वारा आफ्ना गीतहरु सुसज्जित पार्ने देवान काठमाडौँमा आफ्नी श्रीमति सोफिया लामा देवानको साथमा रहेर सेवकाई गर्नुहुन्छ । उहाँसँग लाईट न्युजले आराधना, गीत संगित, प्रेम र विवाह लगायत अन्य विषयमा गरेको कुराकानी विस्तृत रुपमा यहाँले पढ्न सक्नुहुनेछ ।


यहाँलाई जयमसिही तथा मनका कुरामा स्वागत छ ।
धन्यवाद
यहाँ एउटा आराधना अगुवा हुनुहुन्छ, आफुलाई आराधना अगुवा भनेर चिनाउन यहाँले निकै रुचि राख्नुहुन्छ, यहाँकै शब्दमा आराधनाको अर्थ के हो बताइदिनुहोस न ?
एकदम छोटकरीमा भन्नुपर्दा हाम्रो हृदयले जुन कुरालाई सबैभन्दा धेरै महत्व दिन्छ, जुन कुरालाई सबैभन्दा धेरै चाहन्छ, जुन कुरालाई सबैभन्दा धेरै माया गर्छ त्यहि कुरालाई नै हाम्रो हृदयले आराधना गरिरहेको हुन्छ । यसको अर्थ मानिसले परमेश्वरलाई मात्र आराधना होइन तर मानिसले जुनै कुरालाई पनि आराधना गर्न सक्छ, अनि गरिरहेको हुन्छ त्यसैले समग्रमा भन्नुपर्दा जुन कुराअघि हाम्रो हृदय निहुरिन्छ त्यो नै आराधना हो ।
आज संसारका धेरै ठाउँहरुमा आराधना सेवा हुने गरेको छ कति ठाउँमा आराधनाले मानिसको जीवनमा परिवर्तन ल्याएको छ, उनीहरुले नयाँ आशा प्राप्त गरेका छन भने कति ठाउँमा मानिसको जीवनमा कुनै परिवर्तन छैन, कहाँ अनि कुन कुरामा कमि छ जस्तो लाग्छ यहाँलाई ?
मेरो विचारमा परमेश्वरको ज्ञानको कमि जस्तो लाग्छ । यो समयमा प्रभु येशू ख्रीष्टको विषयमा ज्ञानको खडेरी छ । किनकि यो समयका पुस्ताहरु परमेश्वरको वचनदेखि चुटिदैँ गएको अवस्था छ । एकहजार वर्ष अघि परमेश्वरको वचनप्रति जुन चाहिँ सन्तहरुको माया थियो त्यो माया अनि लगाव घटेर गएको छ । जसरी येशू ख्रीष्टले आफैलाई वचनद्वारा प्रकट गर्नुभयो त्यो हुन सकेको छैन । परमेश्वर र प्रभु येशू ख्रीष्टको ज्ञानको कमि छ । जुन कुरालाई राम्रोसँग चिनेको छैन त्यो कुरालाई कसरी प्रेम गर्न सकिन्छ, जुन कुरालाई प्रेम गरेको छैन त्यो कुराको अघि मान्छेले कसरी जीवन समर्पण गर्न सक्छ मानिसले । आराधना भन्ने बित्तिकै गीत संगित मात्रै होइन यो त थुप्रै कुरामध्ये एउटा अभिव्यक्ति हो । त्यसैले प्रभु येशू ख्रीष्टलाई नचिनेको कारणले प्रेम फितलो छ प्रेम फितलो भएको कारणले समर्पण छैन त्यसैले आराधनाले परिवर्तन ल्याउन सकेको छैन, र यो कुरा गीत संगितले मात्र सम्भव छैन ।
यसको अर्थ अहिले मण्डलीमा गीत संगितप्रति बढी ध्यान दिने तर परमेश्वरप्रतिको हृदय कमि भएको कारण आराधनाले मण्डलीमा परिवर्तन ल्याउन सकेको छैन ?
हजुर त्यस्तै हो ।
एउटा आराधना अगुवामा कस्ता खालका गुणहरु हुनुुपर्छ, हुनैपर्ने केहि गुणहरु बताइदिनुहोस न ?
सबैभन्दा महत्वपूर्ण प्रश्न चाहिँ कुन कुरालाई आराधना अगुवाले सबैभन्दा बढी माया गर्छ भन्ने कुराले स्पष्ट पार्छ । एड्रिन देवानले कुन कुरालाई सबैभन्दा धेरै माया गरेको छ, त्यो कुरा लुक्न सक्दैन धेरै सारा संसारलाई थाह हुन्छ । जे कुरालाई हामी बेसी माया गर्छौँ त्यो कुरा सबैलाई थाह हुन्छ । आराधना अगुवामा हुनै पर्ने पहिलो कुराचाहिँ ख्रीष्टलाई सर्वोत्तम प्रेम गरेको हुनुपर्दछ, उसले मण्डलीलाई ख्रीष्टलाई प्रेम गर्नको निम्ति डोर्याउनुपर्ने हुन्छ । त्यस्तै अर्को चाहिँ येशू ख्रीष्टको मण्डली प्रति जुन हृदय थियो त्यस्तै एउटा आराधना अगुवाको हृदय हुनुपर्दछ । येशू ख्रीष्टले मण्डलीप्रति गर्ने वास्ता फिर्की उसमा पनि हुनुपर्दछ ।
यहाँ संसारभरिका लाखौँ युवाहरुको प्रेरणाको स्रोत हुनुहुन्छ, धेरै युवाहरु यहाँको गीतहरु सुन्दछन र यहाँको गीतहरुले थुप्रै मानिसहरुको जीवनमा परिवर्तन ल्याउँदैछ, यहाँको प्रेरणाको स्रोत को हुनुहुन्छ, कुन कुराले यहाँलाई यहाँसम्म ल्यायो ?
सुरुका दिनहरुमा मैले विभिन्न आराधना अगुवाहरुको गीतहरु सुन्ने गर्दथे, सबैभन्दा धेरै सुनेको डन मोइन हुनुहुन्छ र उहाँको गीतहरु सुन्दा एकदमै आशिषित भएको महसुस भएको थिएँ । मलाई प्रेरणा दिने थुप्रै व्यक्तिहरु छन जस्तै जोन.डि खवास, पा.रोन कार्गे साथै अरु आराधना अगुवाहरु हुनुहुन्छ जसको गीतहरुबाट म धेरै उत्साहित भएको छुु । गीत संगित बाहेक मलाई आराधना अगुवा हुनको लागि एकदमै प्रेरित व्यक्ति चाहिँ पावल प्रेरित हुनुहुन्छ । पावल प्रेरितले जस्तो येशू ख्रीष्टलाई माया गर्न सक्यौँ भने हाम्रो जीवन परिवर्तन हुन सक्छ । पावल प्रेरितको जीवनमा फिलिप्पी ३ को ७ देखि पढ्दै गयौँ भने उनी ख्रीष्टलाई चिन्न, प्रेम गर्न अति नै समर्पित थिए । उनका हरेक शब्दमा येशू ख्रीष्टप्रति माया झल्किन्छ । पावलले येशूलाई विश्वास, आशा अनि माया मात्र गरेनन तर उनले येशूलाई प्रेम गरे । त्यहि प्रेम म नक्कल गर्न चाहन्छु ।
यहाँ केहि समय अगाडी मात्र वैवाहिक जीवनमा बाँधिनुभएको छ, यहाँको वैवाहिक जीवन राम्रोसँग अगाडी बढीरहेको हामी देख्दछौँ, कसरी भेट भयो यहाँको सोफिया लामासँग अलिकति बताइदिनुहोस न ?
जब म २०१२मा काठमाडौँ आएँ अनि म यहाँ क्रसवे कम्युनिटि चर्चमा सेवकाई गर्न थाले त्यहि क्रममा मेरी श्रीमति सोफिया पनि एउटै आराधना झुण्डमा थियौँ हामी, वरदानहरु एउटै भएको कारणले त्यहि क्रममा एक अर्कालाई हामीले चिन्यौँ, मित्रता बढ्यो अनि हामी वैवाहिक सम्बन्धमा बाँधियौँ ।
विवाह र प्रेमको कुरा गर्नुपर्दा आजकलका जवानहरु निकै नै फितलो हुने गरेका छन यि दुई विषयमा, उनीहरु विवाहको कुरामा छोटो बाटो अप्नाउँछन, प्रेममा पवित्रता छैन, विवाह अनि प्रेमको विषयमा यहाँको के राय छ ? जवानहरुलाई के सल्लाह दिनुहुन्छ ?
यो प्रेम भन्ने विषयबाट कोहि पनि तर्किन सक्दैन, हाम्रो हृदय नै प्रेम पाउनको निम्ति बनेको हुन्छ, मानिसको हृदय प्रेमको लागि भोकाएको छ । मान्छेमा संसार नै जित्ने पहुँच होस, उसँग धेरै धन नै किन नहोस, केहि समय उ शक्तिसँग खेलोस तर पनि अन्त्यमा मानिसको जीवन ओरालो लाग्ने चाहिँ जहाँ उसले माया पाउँछ त्यहि नै हो । जवान विशेष गरी टिनएजर्सको जीवनमा यहि एउटा संघर्ष हो कि उनीहरु प्रेम गरिएको स्विकारिएको चाहन्छन । र यो होडमा उनीहरु कहिलेकाहिँ परमेश्वरको समयलाई उछिनेर आफै छान्ने आफै निर्णय गर्ने र यो व्यक्ति पाएपछि मेरो जीवन समाधान हुन्छ भन्ने प्रकारको धारण हुन्छ । जवानहरुमा आफैले छान्ने, निर्णय गर्ने एक किसिमको प्रवृत्ति हुन्छ तर विवाह चाहिँ धेरै फरक छ । अहिलेको अवस्थामा हाम्रा मिडियाहरु, सुनिने गीतहरु, फिल्महरुले चाहिँ जवान भाइबहिनिहरुमा प्रभाव पारेको छ । म आफै पनि जब सानो थिएँ मलाई कस्तो प्रभाव हालिदियो भने रोमान्टिक लभले चाहिँ जीवनका हरेक कुराहरु समाधान गर्दछ, यो मेरो उद्धारक नै हो भन्ने धारणा हालिदिन्छ । यस्ता कुराहरुले अहिले प्रभाव पारेको छ साथै अझै विकृतिको रुपमा अश्लिलता तर्फ धकेलिरहेको छ । तापनि जवान भाइबहिनीहरुलाई त्यहि कुरा नक्कल गर्ने एक किसिमको परिक्ष हुँदछ कि यो कुरा मैले पाएँ भने सबै कुरा समाधान हुन्छ र त्यो होइन, हामीले येशू ख्रीष्टलाई नै पाउनुपर्छ र उहाँलाई पाएपछि जीवन संतुलन भएपछि छानिएको प्रेम नै दिर्घकालिन हुन्छ ।
विवाहको सम्बन्धमा यहाँको के राय छ, पवित्र विवाह नै किन हुनुपर्छ ?
विवाह परमेश्वरको योजना हो, परमेश्वर पिता परमेश्वर पुत्र अनि परमेश्वर पवित्र आत्माको त्रिएकता भित्र भएको अनन्त सिद्ध मायालाई बुझाउनको लागि एउटा झिनो प्रकाश दिनको लागि उहाँले संसारमा विवाह बनाउनुभएको जस्तो लाग्छ । एफिसीको पुस्तकमा हामीले हर्ने हो भने लोगने स्वास्नीको सम्बन्धलाई ख्रीष्ट र मण्डलीको सम्बन्धसँग तुलना गरिएको छ । त्यो प्रेमलाई दर्शाउन विवाह बनेको जस्तो लाग्छ । अनि संसारमा विवाह प्रेमको चरम हो, प्रेमको उत्कृष्ट प्रकट नै विवाह हो । अनि विवाह पवित्र हुनु आवश्यक छ किनकि वचनमा नै भनिएको छ कि विवाह पवित्र होस, आदरणीय होस । अनि विवाह अघिका सम्बन्धहरु पाप हुन । अनि विवाहपछि दम्पत्ति आफैमा मात्रै रमाउन होइन तर समाज अनि मण्डलीलाई सेवा गर्न एक अर्कामा जोडिएको सत्यता भएकोले सबै समाजको अगाडी विवाह आदरणीय हुन जरुरी छ ।
अलिकति बताईदिनुहोस न त्यो क्षण कस्तो थियो, यहाँलाई कस्तो महसुस जब यहाँलाई पहिलो पटक थाह भयो कि संसारका धेरै मानिसहरुले यहाँको गीतहरु सुन्दैछन, रुचाएका छन, यहाँको गीतहरु प्रख्यात भएका छन ?
इमान्दारिताका साथ भन्नुपर्दा हामीहरु मानिसहरुले आफ्नो काम मन पराउँदा खुसी हुन्छौँ । मलाई पनि मानिसहरुले मेरो गीतहरु सुनेर आशिष पाएको सुन्दा एकदमै खुसी लाग्यो । यो कुराको लागि प्रभुलाई विशेष धन्यवाद दिन्छु किनभने यो कुरा मेरो आफ्नै क्षमताले भएको होइन तर परमेश्वरले यी कुराहरु मभित्र हालिदिनुभयो अनि यसको सम्पुर्ण श्रेय प्रभुलाई जान्छ । अनि मेरो उद्धेश्य पनि यहि हो कि जव मानिसहरुले मेरा गीतहरु सुन्छन उनीहरु प्रभु येशू ख्रीष्टको ज्ञानमा धनि बनुन । र अर्को कुरा होशियार पनि हुनुपर्छ किनभने आफ्नै वरदान आफ्नै मुर्ति हुन बेर लाग्दैन, आफ्नै आराधना तिर लाग्न पनि समय लाग्दैन मान्छेलाई । त्यसैले मान्छेले मेरो गीतहरु मन परायो भनेर लाग्दा पनि प्रभु येशू ख्रीष्टको मिशन पुरा गर्न म तत्पर छु ।
आज धरै जवानहरु नाम, दाम र ख्यातिको दौडमा छन, त्यसको निम्ति उनीहरु कुदिरहेका छन, उनीहरु प्रख्यात हुन चाहन्छन, तपाईले उनीहरुलाई के सल्लाह दिन चाहनुहुन्छ ?
हामी मानिस पाप स्वभावमा जन्मन्छौँ र हाम्रो आराधना आफू केन्द्रित हुन्छ । र अघि नै मैले भने कि विशेष गरी टिनयजर्सहरु, जवानहरु आफुलाई सबैले मन पराएको, तारिफ गरेको चाहन्छन त्यो गलत पनि होइन तर अर्को कुरा यो पहिचान संकटको पनि हो । उनीहरु आफुँ को हुँ के हुँ भनेर आफैलाई चिनिसकेको हुँदैनन र आज एकजना सेलेब्रिटिको नक्कल गर्छन भोलि अर्काको गर्छन र पर्सी गएर उनीहरुजस्तै बन्न चाहन्छन, धनि हुन चाहन्छन, प्रख्यात हुन चाहन्छन त्यो प्राकृतिक इच्छा हो । म सबैलाई के सल्लाह दिन चाहन्छु भने, समयलाई पर्खिनुहोस, जे तपाईमा छ त्यसमा लागिरहनुहोस । मैले मेरो गवाही त भनिसकेको छु कि कसरी मेरो पहिलो एल्बम नचल्दा म निरास भएर गीत लेख्न छोडेको थिएँ । किनकि म मुखले प्रभुको आराधना गरेपनि मेरो हृदयले आफ्नै आराधना गरिरहेका रहेछु । परमेश्वरले उक्त कुरामा मलाई सिकाउनुभयो, हप्काउनुभयो । त्यसैले म के भन्छु भने धेर्य गर्नुहोस तपाईको पहिचान तपाईले नाम कमाएपछि वा धन कमाएपछि आउने होइन तर तपाईको नडग्मगाउने पहिचान पहिल्यै येशू ख्रीष्टमा गाभिएको छ । तपाईले केहि काम नगरेपनि अनन्तलाई तपाई मुल्यवान हुनुहुन्छ । तपाईले केहि महत्वपुर्ण काम नगरेपनि तपाई अनन्तको लागि प्रेम गरिनुभएको छ, स्विकारिनुभएको छ । यहि पहिचानमा प्रभुको समयमा धैर्यसाथ अगाडी बढ्नुहोस ।
अब गीत संगितको कुरा गरौँ, ख्रीष्टियान गीतसंगित र अन्य गीत संगितहरुमा यहाँ के फरक पाउनुहुन्छ ?
बाहिरी गीत संगितहरु पनि एकदमै मिठा रचना, संगित तथा असल हुँदछन त्यो सबै क्षमता कहाँबाट आयो, परमेश्वरबाट आयो । बाहिरी गीत संगितले हाम्रो भावनसम्मलाई छुने क्षमता हुन्छ । नारायण गोपालको गीत सुनेर मानिसहरु रुन्छन, मनमा छुन्छ तर ति गीतहरुले मानिसलाई दिर्घकालिन रुपमा सकारात्मक परिवर्तन गर्न सक्दैनन । मानिसहरु कार्यक्रममा जान्छन एकछिन हाँस्छन, नाच्छन, रमाउँछन र ढोकाबाट निस्केपछि आफ्नो बोझ छँदैछ । एकछिनलाई खुसी मिल्छ । यी सबै भावनालाई परिवर्तन गर्ने क्षमता ती गीतहरुमा भएतापनि जीवन परिवर्तन गर्ने, निको पार्ने शक्ति परमेश्वरको वचनमा मात्रै छ जुन चाहिँ परमेश्वरको वचनलाई हामी आराधनाको गीतहरुमा पस्कन्छौँ । त्यसमा जीवन छ, हामीलाई स्थायी परिवर्तन गर्न सक्ने शक्ति छ ।
आज धेरै युवाहरु निकै नै पोख्त संगितकारहरु छन, राम्रो गाउँछन बजाउँछन, गाउनुहुन्छ तर धेरै युवाहरुले राम्रो स्थान नपाएकोले साथै ख्रीष्टियान गीत संगित राम्रोसँग व्यवसायिक रुपमा अगाडी नबढेकाले उनीहरु विभिन्न रेष्टुरेन्ट, बारहरुमा बजाउन गाउन बाध्य छन, उनीहरुका भनाई अनुसार यो उनीहरुको सिप अनुसारको काम हो, कमाउने स्रोत हो भन्ने तर्क छ । तपाईले यी कुराहरुलाई कसरी विचार गर्नुहुन्छ, यसमा तपाईको के भनाई छ ?
यो जटिल विषय हो, मैले बाहिर गएर बजाउनु, कमाइ गर्नु गलत हो भनेर भन्न खोजेको होइन, त्यसमा चाहि म के भन्न चाहन्छु भने कस्तो प्रकारको गीत संगितमा बजाउनु उचित हुन्छ भन्ने कुरामा उहाँहरुले एउटा रेखा कोरेको होस, उहाँहरु होसियार हुनुभएको होस किनभने कतिपय गीत संगितहरु एकदमै परमेश्वरको विरुद्धमा हुन्छन । उनीहरुले छान्नुपर्ने हुन्छ । र जीवनमा कहिलेकाहिँ चुनाव गर्नुपर्ने पनि हुन सक्छ । वचनले भन्दछ कि मलाई पछ्याउनेले आफैलाई इन्कार गरोस र आफ्नो क्रुस बोकोस, यसको अर्थ आफैमा मर्नु हो प्रभुको निम्ति आफैलाई इन्कार गर्नु हो र यो आँट पवित्र आत्माले दिनुहुन्छ, उ भोकै बस्नुपरे पनि आफ्नो संगितलाई सम्पुर्ण रुपमा प्रभुको निम्ति अर्पण गर्छ भने त्यो उत्तम हो । परमेश्वरले जुटाउनुहुन्छ तर बाहिर बजायो भन्दैमा तर बाहिर बजायो भन्दैमा त्यो चाहि पाप भयो भन्ने कुरा कति हदसम्म उचित लाग्दैन । किनभने बाहिर संसारमा पनि कति असल गीतहरु छन भने चर्चभित्र पनि कति खराब गीतहरु छन । सेकुलर सबै शैतानको अनि चर्चमा भएको सबै प्रभुको भन्नु उचित छैन । सबै असल कुराहरु परमेश्वरबाट हुन । तर कुनै पनि व्यक्तिले आफैले गर्दै गरेको कुरामा येशू ख्रीष्टलाईनै पहिलो स्थान दिन्छ र आफ्नो सीप क्षमतालाई प्रभुको निम्ति समर्पण गर्छ भने त्यो नै उत्तम हुन्छ । त्यहि कुरा मैले गरेँ । जब म जवान थिएँ म सेकुलर ब्यान्डहरुमा गीतहरु गाउने गर्थे, एकदिन मैले कोरन्थीको पत्र पढ्दै गर्दा प्रभुले भन्नुभएको कुरा अशुद्ध कुरा नछोओ अनि म तिमीलाई ग्रहण गर्छु अनि तिनीहरुको वीचबाट निस्केर आओ भन्ने वचनहरु जब मैले पाएँ मैले आजदेखि आफ्नो सम्पुर्ण कलालाई प्रभुको निम्ति अपर्ण गर्छु भन्ने निर्णय गरेँ । यो कुराले कतिजनालाई निरास बनायो तर मैले त्यो दिन गरेको निर्णय आजसम्म पनि त्यहि छ । प्रभुको निम्ति समर्पित हुनु राम्रो हो ।
यहाँका धेरै गीतहरु चर्चित छन, यहाँ आफुले बनाएको गीतहरुमध्ये आफैलाई सबैभन्दा मनपर्ने गीत चाहिँ कुन हो ?
अ.. मलाई सबैभन्दा मनपर्ने गीत “सबै वैभव टलेर जाँदा भन्ने गीत हो” । त्यो गीतले मलाई अहिलेका समस्याहरु भन्दा पारी अनन्ततामा विजयको अनुभुति गराउँदछ साथै “फर्केर आउँदैन समय” जसमा परमेश्वरले आफ्नो छोरालाई पर्खिएको कुरा छ । परमप्रभुले जुटाउनुहुन्छ, येशूको छातीमा भन्ने गीत जसमा ख्रीष्टले मण्डलीलाई गरेको प्रेम झल्किएको छ ।
यहाँलाई धेरै धन्यवाद छ हाम्रो निम्तोलाई स्विकार गरेर हामीसँग जोडिनुभयो, अन्त्यमा गीत संगितमा अझै अगाडी बढ्न चाहने, आराधनामा अझै माथी बढ्न चाहने युवाहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?
एउटा आराधना अगुवा भएको कारणले म के सुझाव दिन चाहन्छुु भने त्यो हृदयको लागि प्रार्थना गर्नुहोस जसले वचनलाई माया गर्छ, किनकि जब तपाईले परमेश्वरको वचनलाई माया गर्नुहुन्छ तपाईले वचनलाई पढ्नुहुन्छ जब तपाईले वचन पढ्नुहुन्छ तपाईले येशू ख्रीष्टको प्रकाशलाई देख्न थाल्नुहुन्छ जब तपाईले येशू ख्रीष्टको प्रकाशलाई देख्नुहुन्छ तपाईले येशू ख्रीष्टलाई चिन्नुहुन्छ, उहाँलाई विश्वास गर्नुहुन्छ उहाँलाई माया गर्न थाल्नुहुन्छ उहाँजस्तै हुन चाहनुहुन्छ । त्यो चाहना तपाईमा आएपछि तपाईको सीपले ठीक बाटो पक्रन्छ । यहि कुरा म अहिलेका पुस्तालाई उत्साह दिन चाहन्छु । वचनलाई प्रेम गर्नुहोस यसको निम्ति भोकाउनुहोस तिर्खाउनुहोस र हृदयमा सुरक्षित राख्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *