बार्सिलोना र आयाक्स सेमिफाइनलमा
एजेन्सी । कप्तान लियोनेल मेस्सीको दुई गोल सहयोगमा स्पेनिस क्लब बार्सिलोना युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाले इंग्लिस क्लबलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको हो । बार्सिलोना समग्रमा ४–० को जितले अन्तिमा चारमा पुग्न सफल भयो । घरेलु मैदान नोउ क्याम्पमा मंगलबार राति भएको खेलमा बार्सिलोनालाई जिताउन लियोनेल मेस्सीले दुई तथा फिलिपे कौटिन्होले एक गोल थपे ।
घरेलु मैदानमा बार्सिलोनाले सुरुदेखि नै आक्रमक खेल खेल्दा १६औं मिनेटमा मेस्सीले गोलले अग्रता बनाएको थियो । २०औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना पहिलो हाफमा २–० ले अघि बढेको थियो ।
६१औं मिनेटमा फिलिपे कौटिन्होले जोर्डी अल्वाको पासमा गोल गरेपछि बार्सिलोना ३–० ले विजयी हुन सफल भयो ।
युभेन्टसलाई हराउँदै आयाक्स सेमिफाइनलमा
युरोपेली च्याम्पियन्स लिग अन्तर्गत मंगलबारको खेलमा आयाक्ससँग युभेन्टस २–१ ले पराजित भएको छ । समग्रमा ३–२ को हार बेहोर्दै युभेन्टस प्रतियोगिताबाट बाहिरिँदा आयाक्स भने सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलको २८ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । तर त्यसको ६ मिनेट नबित्दै आयाक्सका लागि भान डेर बिकले अफसाइड ट्र्याप बिट गर्दै बराबरी गोल फर्काए । पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । दोस्रो हाफको ६७औं मिनेटमा आयाक्सका कप्तान माथिस डे लिटले गोल गर्दै अग्रता दिलाए । उनले लास स्कोनेको कर्नरमा हेडर गोल गरेका थिए ।