काठमाडौं उपत्यकामा १२ वर्षपछि हिमपात

नेपाल मुख्य समाचार

रासस। भक्तपुर शहरमा १२ वर्षपछि हिमपात भएको छ । भक्तपुरलगायत काठमाडौं उपत्यकामा आज बिहानै हिमपात भएको हो । भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, नलिन्चोक, गुण्डु, रानीकोट, घ्याम्पेडाँडालगायतका क्षेत्रमा हिमपात हुँदा चिसो बढेर जनजीवन प्रभावित भएको छ । भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका शहरी क्षेत्रमा समेत हिमपात भएको छ । उपत्यकाका काठमाडौं र ललितपुरमा समेत हिमपात भएको छ ।

हिमपातका कारण नगरकोट, सुडाल, रानीकोटलगायतका जिल्लाका पर्यटकीय क्षेत्रमा बिहान यातायातसमेत सञ्चालन हुन सकेका थिएनन् । हिमपातले भक्तपुर हुँदै नगरकोटतर्फ आउने यातायात सेवा बिहानैदेखि अवरुद्ध भएको तेलकोटका सोम शर्मा बजगाईंले जानकारी दिए ।
हिमपातपछि पर्यटकीय क्षेत्र नगरकोटलगायतका क्षेत्रमा आन्तरिक पर्यटक हिउँ खेल्न आउने क्रम भने बढेको र दिनभर पर्यटकको ओइरो लाग्ने अपेक्षा गरिएको होटल व्यवसायी गोकुल लामिछानेले बताए । शहरी क्षेत्रमा लामो समयपछि हिउँ परेकाले स्थानीय भने बिहानै हिउँमा रमाएका छन् । बाह्र वर्षअघि दिउँसो हिमपात भएको थियो भने आज बिहानै हिमपात भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *