नेपाल हिरो महिला गोल्डकपको फाइनलमा पुग्यो

खेलकुद मुख्य समाचार

एजेन्सी । नेपाली महिला राष्ट्रिय फुटबल टोली भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।  समूह चरणको अन्तिम खेलमा इरानमाथि ३–० को जित हात पारेको नेपाल हिरो महिला गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।फाइनलमा नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणमा म्यानमारसँग नेपालले ३–० को हार व्यहोरेको थियो । फाइनलमा समूह चरणको हारको बदला लिँदै नेपाल उपाधि उचाल्ने दाउमा रहेको छ । लिग चरणको अन्तिम खेलमा म्यानमारले भारतलाई २–० ले हराएसँगै प्रतियोगिताको फाइनलमा म्यानमार र नेपाल पुगेका हुन् ।
अन्तिम खेलमा म्यानमारसँग घरेलु टोली भारत पराजित भएपछि नेपाल समूह चरणमा दोस्रो हुँदै फाइनल प्रवेश गरेको हो । म्यानमारका लागि दोस्रो मिनेटमा ज्योली किवाले गोल गर्दै अग्रता दिलएकी थिइन । ८१औँ मिनेटमा भारतले बराबरी गोल गरे पनि रेफ्रीले अफ साइड करार गरेका थिए । ९४औँ मिनेटमा म्यानमारले पेनाल्टीमार्फत गोल गर्दै २–० को जित हात पार्न सफल भयो । चार टिम सहभागी प्रतियोगितामा इरानले तीनवटै खेल हारेर प्रतियोगिताबाट बाहिरियो भने म्यानमार तीनवटै खेल जित्दै ९ अंकसहित फाइनलमा स्थान बनायो । नेपालले तीन खेलमा दुई खेल जित्दै फाइनलमा पुग्न सफल भयो । आयोजक भारत भने म्यानमारसँगको फराकिलो जित हात पारेको भए मात्रै फाइनलमा पुग्ने थियो ।
हिरो महिला गोल्डकप ः इरानविरुद्ध नेपालको ३–० को शानदार जित
आजै भएको समूह चरणको अन्तिम खेलमा फिफा वरीयतामा आफूभन्दा ४६औँ स्थानमाथि रहेको इरानमाथि नेपालले ३–० को शानदार जित हात पार्यो । फिफा वरीयतामा इरान ६०औँ स्थानमा छ भने नेपाल १०६औँ स्थानमा रहेको छ । निकै शक्तिशाली मानिएको इरानी टोलीमाथि नेपाली महिला टोली हाबी भयो । खेलको ४१औँ मिनेटमा नेपालका लागि अनिता बस्नेतले नेपालका लागि पहिलो गोल गरेकी हुन् । त्यसपछि दोस्रो हाफमा खेलको ५९औँ मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि दोस्रो गोल गरेकी छिन् । भारतविरुद्ध पनि दुई गोल गरेकी सावित्राले इरानसँग पनि खेलको ८९औँ मिनेटमा नेपालका लागि तेस्रो गोल गरिन् । प्रतियोगिताको फाइनल खेल आउँदो शुक्रबार उडिसाको कांलिगा रंगशालमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *