बार्सिलोना र रियल मड्रिड बराबरीमा
एजेन्सी । कोपा डेल रे फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा घरेलु टोली बार्सिलोनाले रियल मड्रिडसँग बराबरी खेल्दै अंक बाँडेको छ । नाउ क्याम्पमा बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र रियल मड्रिडले १–१ गोलको बराबरी खेलेका हुन् । बार्सिलोनाका लागि मेलकोमले गोल गरे भने रियलका लागि लुकास भेजक्वएजले गोल गरे ।
खेलको छैटौं मिनेटमा नै लुकासले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । उनकै गोलमा रियलले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । तर यो अग्रता दोस्रो हाफमा भने कायम रहन सकेन । खेलको ५७ औं मिनेटमा बार्सिलोनाका मेलकोमले गोल गर्दै खेल १–१ गोलको स्थितिमा ल्याए ।
कप्तान लियोनल मेस्सी भने अनफिटकै कारण दोस्रो हाफको मध्यतिर मात्रै मैदानमा प्रवेश गरे । खेलको ६३ औं मिनेटमा फिलिपे कौटिन्होको स्थानमा उनी मैदान प्रवेश गरेका थिए । तर उनले गोल गर्न भने सकेनन् ।यससँगै रियलले पहिलो लेगमा अवे गोलको अग्रता लिएको छ । घरेलु मैदानमा २७ फेब्रुअरीमा हुने खेलमा रियलले बार्सिलोनालाई रोक्न सके अवे गोलमा अघि बढ्नेछ । बार्सिलोनालाई अघिल्लो चरणमा प्रवेश गर्न निश्चित जित आवश्यक छ । कोपा डेल रे अन्तरगतको दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राति रियल बेटिस र भ्यालेन्सियाबीच खेल हुनेछ ।