पारस खड्काको शतकमा नेपालको ऐतिहासिक विजय
कप्तान पारस खड्काले ऐतिहासिक प्रदर्शन गर्दै नेपालका लागि पहिलो एकदिवसीय शतक प्रहार गरेपछि नेपालले तेस्रो तथा अन्तिम खेलमा युएईलाई ४ विकेटले पराजित गरेको छ । युएईले बनाएको २५४ रन पछ्याउने क्रममा नेपालले ४४.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।
यो जितसँगै नेपालले युएईविरुद्धको तीन खेलको एकदिवसीय शृङ्खला २–१ ले आफ्नो पक्षमा पारेको छ । यो नेपालले आफ्नो पोल्टामा पारेको पहिलो एकदिवसीय शृङ्खलाको उपाधि हो । त्यसैगरी कप्तान खड्का एकदिवसीय क्रिकेटमा एक सय रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । एक सय रन पूरा गर्ने क्रममा उनले ९२ बल खेले। कूल ११५ रन बनाएका खड्काले १०९ बलको सामना गर्दै १५ चौका र एक छक्का हाने । प्रारम्भिक ब्याट्सम्यान विनोद भण्डारी पाँचौ ओभरमा नै आउट भएपछि मैदान छिरेका उनले उपकप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर दोस्रो विकेटका लागि ६२ रनको साझेदारी गरे । मल्लले ३१ रन बनाए भने नेपालको विजयका लागि योगदान गर्ने क्रममा सन्दीप जोराले १९, रोहित पौडेलले १६, आरिफ शेखले २१ र सोमपाल कामीले २६ रन बनाए । युएईको तर्फबाट इमरान हैदर र असफक अहमदले दुई–दुई विकेट लिएका थिए । टस हारेर पहिलो ब्याटिङ गरेको युएईले खराब शुरूवात गरे पनि मध्यक्रमका खेलाडीहरूको राम्रो खेलका कारण राम्रो स्कोर बनाउन सफल भएको थियो । युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २५४ रन बनाएको थियो ।
दुई रनमा दुवै ओपनर खेलाडी गुमाएको युएईले पहिलो आठ ओभरसम्म प्रत्येक रनका लागि सङ्घर्ष गरेको थियो । नेपालका तेज गतिका बलर सोमपाल कामी र करण केसीले उत्कृष्ट बलिङ गरेका थिए । तर साइमन अनवरले ७० बलमा ८७ रन बनाउँदै युएईको इनिङलाई सम्हालेका थिए । मोहम्मद बूटा खेलको अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै ३१ रनमा ५९ रन बनाएर अविजित रहे । युएईका लागि रन बनाउने अन्य खेलाडीहरूमा सीपी रिजवान (४५), मोहम्मद उसमान (२६) र गुलाम शाब्बर (१८) रहे । नेपाली बलरहरूमध्ये केसी र खड्काले दुई–दुई विकेट लिए भने सन्दीप लामिछाने र कामीले एक–एक विकेट लिए ।