हडर्सफिल्डमाथि म्यानचेस्टर सिटीको सहज जित
एजेन्सी । आइतबार राति म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा हडर्सफिल्ड टाउनमाथी उसैको घरेलु मैदानमा ३–० गोलअन्तरले पराजित गरेको छ । सिटीको जितमा डानिलो, रहिम स्ट्रलिङ र लोरी सानेले समान एक एक गोल गरे । सिटीले डानिलोको गोलद्वारा खेलको १८औं मिनेटमा अग्रता लियो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप दुई गोल गर्दा हडर्सफिल्डले भने कुनै गोल गर्न सकेन ।
५४ औं मिनेटमा स्ट्रलिङले गोल गर्दै सिटीलाई दोब्बर अग्रता दिलाएका थिए । सिटीले दोब्बर अग्रता बनाएको दुई मिनेट पनि नवित्दै सानेले एक गोल थपे । ५६ औं मिनेटमा उनको गोलमा सिटीले हडर्सफिल्डमाथि ३–० गोलको अग्रता बनाएको थियो । बाँकी समयमा दुवै टिमबाट गोल हुन नसकेपछि सिटीले हडर्सफिल्डमाथि सहज जित निकालेको हो । जितपछि लिगको दोस्रो स्थानमा रहेको सिटीको २३ खेलबाट ५६ अंक भएको छ । लिग लिडर लिभरपुलभन्दा अझै सिटी चार अंकले पछि छ । पराजित हडर्सफिल्डको भने ११ अंक मात्रै छ ।