आर्सनलमाथि लिभरपुलको शानदार जित
(एजेन्सी) – ब्राजिलियन रोबर्टाे फिर्मिनोको ह्याट्रिक मद्दतमा लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलमाथि शानदार जित निकालेको छ । लिग अन्तरगत शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनलमाथि ५–१ को हानदार जित निकालेको हो । लिभरपुलले घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर फराकिलो जित निकालेको हो ।
घरेलु टोली लिभरपुल खेलको ११औं मिनेटमा एन्स्ले मेटल्यान्ड नाइल्सको गोलबाट पछि परेको थियो । एन्स्लेले एलेक्स इओवीको पासमा गोल गरेको थियो । तर, लिभरपुलले लगत्तै गोल फर्काउन सफल भयो । १४औं मिनटमा रोबर्टाे फिर्मिनोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । मोहम्मद सलाहले एक्लै बल अघि बढाएको अवस्थामा ग्रानिट झाकाले फल गरेपनि रेफ्रीले एडभान्टेज दिँदा स्टेफन लिक्सटाइनरले क्लियर गरेपनि मुस्ताफीलाई लागेर फर्किएको बलमा फिर्मिनोले बराबरी गोल फर्काएका थिए ।
१६औं मिनेटमा फिर्मिनाले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए । मैदानको मध्यभागबाटै बल अघि बढाउदै तीन डिफेन्डरलाई बिट गर्दै गोलरक्षक बर्न्ड लेनोलाई जिल्याउदै फिर्मिनोले दर्शनीय गोल गरेका थिए । ३१औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई ३–१ को अग्रता दिलाए । मानेले सलाहको पासलाई गोलमा परिणत गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा सोक्राटीले सलाहलाई फल गरेपछि लिभरपुलले पेनाल्टीको मौका पायो । जसलाई उनी आफैले सदुपयोग गर्दै लिभरपुलाई पहिलो हाफमै ४–१ को अवस्थामा ल्याए ।
६५औं मिनेटमा रोबर्टाे फिर्मिनोले पेनाल्टीमार्फत गोल गर्दै खेलमा ह्याट्रिक पुरा गरे । त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुलले आर्सनलमाथि ५–१ को शानदार जित निकाल्यो । जितपछि लिभरपुलले ९ अंकको अग्रता बनाएको छ । लिभरपुलको २० खेलबाट ५४ अंक पुगेको छ । दोस्रो स्थानको टोटेनहमको समान खेलबाट ४५ अंक रहेको छ । पराजित आर्सनल ३८ अंक जोडेर पाँचौ स्थानमा यथावत छ ।