नेपाली कामदारलाई जापानमा रोजगारीको बाटो खुल्यो

आर्थिक मुख्य समाचार

विदेशी कामदारहरूलाई आफ्नो देशमा भित्र्याउने नीति जापानको मन्त्रिपरिषद्ले मङ्लवार पारित गरेको छ । सो नीतिसँगै नेपाली नागरिकहरूलाई पनि जापान जाने बाटो खुलेको हो । आगामी पाँच वर्षमा जापानले नयाँ नीतिमार्फत् झन्डै तीन ३ लाख ४५ हजार विदेशी कामदार भित्र्याउने योजना बनाएको छ । सन् २०१९ को एप्रिल महिनाबाट कार्यावन्वयनमा आउने भनिएको सो नीतिअनुसार विदेशी कामदारहरूले १४ वटा औद्योगिक क्षेत्रमा काम गर्न पाउनेछन् । जापानले लामो समयदेखि विदेशबाट दक्ष श्रमिक लिने तयारी गरिरहेको थियो ।
विदेशी श्रमिक प्राप्त गर्ने देशहरूको सूचीमा नेपाललाई समावेश गर्न यसअघि नै परराष्ट्र मन्त्रालयमार्फत् बारम्बार छलफल भएको थियो । जापानले नेपालसँगै चीन, थाईल्याण्ड, भियतनाम, फिलिपिन्स, इण्डोनेशिया, म्यानमार, कम्बोडिया र मंगोलियाबाट कामदार लैजाने भनेको छ । श्रमसचिव दाहालका अनुसार अब जापान सरकारको एउटा प्राविधिक टोली नेपाल आउनेछ । सो टोलीले नेपाली कामदारलाई जापानमा रोजगारीका लागि लैजान एउटा द्विपक्षीय सहमति गर्ने अपेक्षा गरिएको छ ।
नेपालको श्रम मन्त्रालयका अधिकारीहरूका अनुसार एक महिनाभित्र नेपाल आउने बताइएको जापानी प्राविधिक टोलीसँग वार्ता भएपछि यसको विस्तृत प्रारूप तयार पारिनेछ । रोजगारदातालाई सहजीकरण गर्न जापानभरि अब झन्डै एक सय परामर्श केन्द्रहरू स्थापना हुनेछन् । परामर्श केन्द्रहरूले जापानी र अङ्ग्रेजीसहित कामदार लैजाने देशमा बोलिने मुख्य भाषाहरूमा सहायता उपलब्ध गराउनेछन् । ती कामदारहरूलाई मुख्य रूपमा नर्सिङ, सरसफाइ, उत्पादनमूलक क्षेत्र, होटल, कृषि, माछा मार्ने तथा खाद्यप्रशोधन आदि क्षेत्रमा रोजगारी दिइने जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *